प्रतिनिधिसभाको बैठक बस्दै, नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित गर्ने कार्यसूची

आइतबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूचीसमेत छ।

काठमाडौँ– प्रतिनिधिसभाको बैठक आइतबार बस्दै छ।

दिउँसो १ बजे बस्ने बैठकले प्रतिनिधिसभा नियमावली मस्यौदा प्रतिवेदन दफावार छलफलपछि पारित गर्ने कार्यसूची छ।

संसद् सचिवालयका अनुसार नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले त्यसको प्रस्ताव गर्नेछन्। त्यसपछि प्रतिवेदनमाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने गरिने छ। पुनः सभापति केसीले प्रतिवेदन पारित गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूचीसमेत रहेको संघीय संसद्का महासचिव डा भरतराज गौतमले जनाएका छन्।