७५ वर्षपछि पनि उत्तिकै सान्दर्भिक 'अणुव्रत'

तपाईं कुनै पनि डाक्टरकहाँ आफ्ना स्वास्थ्य समस्या लिएर जाँदा उनीहरू ठूला-ठूला 'ज्ञान' दिन्छन्, 'तिमी यसो गर, यो गर र यो गर्नुहुँदैन।' तर अणुव्रतले हामीलाई साना–साना कुराहरूमा ख्याल गर्न जोड दिन्छ।

'अणुव्रत आन्दोलन'को ७५ वर्ष पुग्यो। झन्डै एक महिनाअघि काठमाडौँमा अणुव्रतको ७५औँ वर्षको सन्दर्भलाई 'अमृत महोत्सव'का रूपमा नेपालमा समेत केही कार्यक्रम भए। अणुव्रत जैन परम्परा/धर्मसँग जोडिएको व्रत या शीलहरूको अभ्यास हो। यस व्रतका प्रवर्तक भारतको राजस्थानमा जन्मिएका आचार्य तुलसी हुन्। महामुनि र ज्ञानीहरूका लागि महाव्रत या महाअनुशासन आवश्यक भएजस्तै आम सर्वसाधारण र पेसाकर्मीहरूका हकमा सामान्य र पालनयोग्य व्रतका रूपमा अणुव्रतलाई लिइन्छ। 

म पेसाले डाक्टर हुँ। समाजमा कोही व्यापारी, कोही पत्रकार, कोही इन्जिनियर त कोही कृषक छन्। नयाँ युगमा धेरै नयाँ पेसा थपिएका छन्। पेसाअनुसार सबैका फरक जिम्मेवारी र कर्तव्य छन्। अलग-अलग कर्मका अलग दायित्व र आचारसंहिता हुन्छन्। डाक्टर भएका नाताले मेरो संस्था या मेरो 'गाइडिङ प्रोफेसनल एथिक्स'ले गरेको मार्गनिर्देशनभन्दा बाहिर गएर काम गर्नु मेरा लागि अनुचित हुन्छ। बिरामीको अहित हुने गरी कुनै गलत कर्म मैले गर्नुहुँदैन।

कतिपय संस्थाले आफ्नो कामको चरित्रअनुसार आचारसंहिता जारी गरेका हुन्छन्। कतिपय आचारसंहिता लिखित हुन्छन् त कतिपय संहिता मान्यताका रूपमा स्थापित हुन्छन्। चार्टर्ड एकाउन्टेन्टको आफ्नै संहिता छ। उसले कुनै खातावालको विवरण पेस गर्दा तलमाथि गर्नुहुन्न र विवरण तोडमोड गर्नुहुन्न भन्ने कुरा त्यस पेसाको आचारसंहिता हो।

अणुव्रत आदर्श मानवका लागि आवश्यक एक संहिता हो। फरक पेसाका लागि फरक-फरक संहिता भएझैँ सबै मानव मात्र नभएर प्रकृति र गैरमानव प्राणीका लागि समेत हित हुने मानवीय संहिता हो अणुव्रत। मान्छेको व्यक्तित्व कस्तो हुनुपर्छ भन्नेबारे अणुव्रतमा उल्लेख छ। ७५ वर्षअघि संसारका कतिपय धर्मगुरुहरूसहितको सम्मेलनमा जारी गरिएको अणुव्रत आचारसंहिता यस प्रकार छ: 

१. म संकल्पपूर्वक (जानीजानी) कुनै पनि निरपराध प्राणीको वध गर्नेछैन। म आत्महत्या र भ्रूणहत्या गर्दिनँ।
२. म आक्रमण गर्दिनँ। आक्रामक नीतिको समर्थन गर्दिनँ। विश्व-शान्ति तथा निःशस्त्रीकरणका लागि प्रयासरत रहनेछु।
३. हिंसात्मक तथा तोडफोडमूलक प्रवृत्तिहरूमा भाग लिनेछैन।
४. म मानवीय एकतामा विश्वास गर्छु। जाति, रंग आदिको आधारमा कसैलाई उँच-नीच मान्ने छैन। म छुवाछुतको व्यवहार गर्नेछैन।
५. म धार्मिक सहिष्णुता कायम राख्नेछु।साम्प्रदायिक उत्तेजना फैलाउने काम गर्ने छैन।
६. म व्यवसाय र लेनदेनमा इमानदार रहनेछु। आफ्नो लाभका लागि अरूलाई हानि गर्दिनँ। म छलकपटपूर्ण व्यवहार गर्नेछैन।
७. म ब्रह्मचर्यको साधना (विवाह या यौन जीवनको सीमा र मर्यादा) र संग्रहको सीमा निर्धारण गर्नेछु। 
८. म निर्वाचनको सन्दर्भमा कुनै अनैतिक आचरण गर्नेछैन।
९. म सामाजिक विकृतिलाई समर्थन गर्दिनँ।
१०. म व्यसनमुक्त जीवन जिउने छु। म मादक तथा नशालु पदार्थ; रक्सी, गाँजा, चरेस, हेरोइन, भाङ तथा सुर्ती आदि सेवन गर्नेछैन।
११. म पर्यावरणसम्बन्धी समस्याबारे सचेत रहनेछु। हरिया बोटबिरुवाहरू काट्दिनँ। पानी र बिजुली आदि खेर जाने कार्य गर्दिनँ। 

माथिका धेरै शील आजको मानव समाजलाई समेत मार्गदर्शन गर्ने खालका छन्। चाहे त्यो आत्महत्याको कुरा होस् अथवा मदमदिराको कुलतको कुरा होस्। धर्म र सम्प्रदायका नाममा भएका द्वन्द्व तथा निर्वाचनमा हुने अनैतिक कृत्य आजको समाजका समस्या हुन्। यस्ता विषयमामा शीलबद्ध हुने कामले व्यक्तिको मात्र नभएर त्यस व्यक्ति बस्ने समाजले पनि लाभ लिन पाउँछ। तर दुःखको कुरा, हामी मानव जाति कतिपय कुरा सुनेर पनि, त्यो कुरा अनुकरणीय हुँदाहुँदै पनि त्यसको हत्तपत्त अनुसरण गर्दैनौँ। 

डाक्टर भएकाले अणुव्रत स्वास्थ्यका दृष्टिले पनि महत्त्वपूर्ण लाग्छ मलाई। हामीलाई थाहा होला कि करिब चार महिनाअघि हामीले विश्व मधुमेह दिवस मनाएका थियौँ। मधुमेह रोग जीवनशैलीको परिवर्तनबाट नै ५० प्रतिशतभन्दा बढी नियन्त्रण गर्न सकिन्छ भन्ने कुरा उतिखेर बहसमा आएका थिए। अहिले २५ वर्षभन्दा बढीका वयस्कहरूमा १० प्रतिशतभन्दा बढीलाई मधुमेह रोग छ। २५ वर्षभन्दा माथिका २५ प्रतिशत मान्छेलाई उच्च रक्तचापको समस्या छ। क्यान्सरका कारण समयभन्दा पहिले नै ज्यान गुमाउनेहरू आजका दिनमा हजारौँ छन्। अन्य स्वास्थ्य समस्यादेखि लिएर आत्महत्याका घटना दिनानुदिन बढिरहेका छन्। 

यी रोगका कारण खानपिन र जीवनशैली पनि हो। अणुव्रतका केही शीलहरूलाई अपनाउने हो भने हामी यस्ता रोगको संक्रमणमा पर्ने कम सम्भावना हुन्छ। 

तपाईं कुनै पनि डाक्टरकहाँ आफ्ना स्वास्थ्य समस्या लिएर जाँदा उनीहरू ठूला-ठूला 'ज्ञान' दिन्छन्, 'तिमी यसो गर, यो गर र यो गर्नुहुँदैन।' तर अणुव्रतले हामीलाई साना–साना कुराहरूमा ख्याल गर्न जोड दिन्छ। अणु पनि पदार्थको सानो तर अति महत्त्वपूर्ण विषय हो। यहाँ उल्लेख सबै व्रत हामीले एकैचोटि अभ्यास गर्न नसकौँला, तर यसलाई हामी एउटा 'स्पेक्ट्रम'का रूपमा लिन सक्छौँ। थोरैबाट शुरू गरेर बिस्तारै धेरैमा पुग्न सक्छौँ। 

कुरा उठ्न सक्छ, हामीले किन एउटा खास समाज/परम्परा/धर्मको शील वा सिद्धान्त बोक्ने? स्वकल्याण र जगत् कल्याणका लागि खास कुनै परम्पराका कुरा मात्र नभएर अन्यत्र देश, समुदाय र धर्मका शील/चरित्र सिक्दा या अभ्यास गर्दा हुन्छ। राम्रो व्यवहार र अभ्यास जहाँसुकैबाट सिक्दा हुन्छ। अर्को कुरा, अणुव्रतमा उल्लेख गरिएका मान्यता खास जाति या सम्प्रदायका लागि मात्रै होइन। पढ्दा मात्रै पनि थाहा हुन्छ कि अणुव्रतको प्रारम्भ मानव तथा सिंगो प्रकृति कल्याणको सोच केन्द्रमा राखेर गरिएको थियो। 

कतिपय अध्यात्मवादी एकल धर्म वा सम्प्रदायको महिमा मण्डन गर्छन् भने कतिपय अध्यात्मवादी जाति र धर्मभन्दा माथि उठेर समग्र मानव र जगत् कल्याणका कुरा गर्छन्। त्यसो हुँदा अणुव्रतलाई पनि हामी एक खालको अध्यात्मका रूपमा लिन सक्छौँ। 

अध्यात्मका कुरा गर्ने कतिपय व्यक्ति एकदमै ठूला कुरा गर्छन्, 'ध्यानमा बस्नुपर्छ, बिहान उठेर लामो-लामो श्वास फेर्नुपर्छ, यो गर्नुपर्छ र त्यो गर्नुपर्छ' भन्छन्। उनीहरूले भने जसो गर्दा केही शारीरिक व्यायाम होला र केही मन शान्ति पनि होला तर त्यो मात्र अध्यात्म होइन। 

छोटो र सरल भाषामा आफ्नो पेसा इमानदारीपूर्वक, आदर्शपूर्वक र क्षमताअनुसार पालन गर्नु नै अध्यात्म हो। मानव हुनाका नाताले अहिंसा, कम दोहन र प्रकृति प्रेमलगायत विषय हाम्रा आदर्श हुन्। 

यस्तो शील पालन गर्‍यौँ भने हामी असल मान्छे हुन जान्छौँ। आफूप्रति अनुशासित हुँदै अरूप्रति इमानदार र जबाफदेही हुने कुरा सुन्दर विषय हो। अणुव्रत व्यक्तित्व विकासको कुरा पनि हो। तर यो व्यक्तित्व एकै दिनमा ठडिएर आउँदैन, यसलाई हामीले बिस्तारै विकास गर्नुपर्छ। 

अणुव्रतमा अनावश्यक रूपमा प्रकृतिको दोहन गर्न नहुने कुरा उल्लेख छ। बिरुवा काट्नु हुँदैन भनिएको छ। त्यसले प्रकृतिले हुर्काएर रूखबिरुवा अनावश्यक रूपमा नास नगर्नु भन्ने बुझिन्छ। अनावश्यक रूपमा दोहन गर्न नहुने कुरा हो त्यो। तर, दुःखको कुरा, हामी कुनै कुरा अनुदानमा प्राप्त छ या सरकारी छ भने 'यो त सरकारको त हो नि, विदेशबाट पाएको त हो नि!' भन्छौँ। हामी स्वास्थ्यसम्बन्धी कतिपय परियोजनामा 'डब्लूएचओले पैसा दियो भन्छौँ। जबकि, उसले पनि सबै देशबाट त्यो पैसा संकलन गरेको हुन्छ। हाम्रो देशले पनि त्यसमा लगानी गरेको हुन्छ। 

अनुदान होस् या सरकारी सहयोग, ती सबै आखिर यही धर्तीको हो, हामीबाटै तानिएको स्रोत हो। त्यसको मतलब कुनै पनि साधनस्रोत शून्यबाट आउने होइन। त्यसो हुँदा, कुनै पनि निःशुल्क सामग्री र सेवा प्रयोग गर्दा पनि 'मेरो के जान्छ र?' भन्दै मनपरी गर्नु अनुचित हुन्छ। पृथ्वी एउटा छ र यसभित्रका सबै चिजबिजको समान हिस्सेदार यहाँका मान्छे र पशुपक्षी हुन्। त्यसो हुँदा बिरुवा नकाट्न मात्रै होइन कि बिरुवा लगाउनेसमेत प्रेरणा हामीले दिनुपर्छ। आफैँ पनि बिरुवा लगाउन र पर्यावरण जोगाउन लाग्नुपर्छ। 

आज जलवायु परिवर्तनका कारण ठूला प्राकृतिक संकट आउने प्रक्षेपण गरिँदै छन्। जलवायु परिवर्तन रोक्न र पर्यावरण बचाउन बढिरहेको पृथ्वीको तापक्रम घटाउन आवश्यक छ। त्यस सन्दर्भमा बिरुवाको ठूलो भूमिका हुन्छ। बिरुवा बचाउनुपर्छ र बिरुवा रोप्नुपर्छ भन्ने कुरा जान्दा मात्रै पनि आफ्ना सहकर्मी, समाज, देश र सिंगो प्रकृतिप्रति ठूलो काम गरेको ठहर्छ। 

आजका दिनमा म गाडी चलाइरहेको छु र मेरो गाडीले धुवाँ उडाइरहेको छ भने म आफैँप्रति त बेइमान भएँ, समाज, देश र सिंगो जगतप्रति नै बेइमान ठहर्छु। यो धर्ती प्रदूषित बनाउने अधिकार मलाई छैन। 

उसो त, अणुव्रत संहितामा नअटाएका अन्य धेरै कुरा छन्। आजभन्दा ७५ वर्षअगाडि तुलसी मुनिजीले आजको जस्तो धुलो, धुवाँ र प्रदूषणयुक्त धर्ती देख्नुभएको थिएन। जबकि, आज नेपाल र भारतकै कतिपय शहर अति प्रदूषित छन्। काठमाडौँ संसारकै प्रदूषित शहरमध्ये एक हो। यो संहिताका थप बुँदाहरू पनि थप्नुपर्छ भन्ने लाग्छ मलाई।


अग्रवाल चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगन्ज (काठमाडौँ) का पूर्व डिन हुन्।