युक्रेनको पूर्वी क्षेत्रमा रुसी आक्रमणमा परी ६ जनाको मृत्यु

बाख्मुतनजिकैको औद्योगिक शहर कोस्त्यान्तिनिभ्कालाई रुसी सेनाले घेराबन्दी गरेर आक्रमण जारी राखेको बताइएको छ।

युक्रेनको पूर्वी शहर कोस्त्यान्तिनिभ्कामा रुसी आक्रमणमा परी ६ जना युक्रेनीको मृत्यु भएको छ। युद्ध चलिरहेको बाख्मुतनजिकैको औद्योगिक शहर कोस्त्यान्तिनिभ्कालाई रुसी सेनाले घेराबन्दी गरेर आक्रमण जारी राखेको बताइएको छ। यो शहर बाख्मुतदेखि २७ किलोमिटर पश्चिममा पर्छ।

रुसी क्षेप्यास्त्र र रकेट आक्रमणका कारण शहरका १६ वटा अपार्टमेन्ट, नर्सरी स्कुल र अन्य भवनमा क्षति पुगेको रुसी राष्ट्रपतिको कार्यालयका कर्मचारी एन्ड्रिये येरमाकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

दोनेत्स्क क्षेत्रलाई पूर्ण रूपमा कब्जामा लिन रुसले क्रामातोस्र्क र स्लोभ्यान्स्क शहरलाई पनि नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। जसका लागि रुसले यी शहरनजिको कोस्त्यान्तिनिभ्का शहरलाई निशाना बनाइरहेको हो। गत वर्ष फेब्रुअरीमा रुसी आक्रमण शुरू हुनुपूर्व यस शहरमा ७० हजार मानिस बसोबास गर्ने गरेको बीबीसीले जनाएको छ।

यसैबीच, रुसी कब्जामा रहेको युक्रेनको दक्षिणीपूर्वी क्षेत्र मेलितोपोलमा पनि आइतबार रुसी आक्रमण भएको त्यस शहरका मेयर इभान फेडोरोभले बताए। विशेष गरी त्यहाँको रेल डिपोलाई लक्षित गरेर रुसी सेनाले आक्रमण गरिरहेको उनको भनाइ छ।

रुसी सेनाका लागि यातायात हब बनिरहेको मेलितोपोल शहरमा युक्रेनी क्षेप्यास्त्र आक्रमण भइरहेको बताइएको छ।