जापानी संगीतकार रियोइची साकामोतोको निधन

सोलो आर्टिस्ट र यल्लो म्युजिक अर्केस्ट्रा (वाईएमओ) का संस्थापक रियोइची अस्कर, ग्रामी, गोल्डेन ग्लोब र बाफ्टाजस्ता प्रतिष्ठित अवार्डबाट सम्मानित भएका थिए।

तस्वीर : न्युयोर्क टाइम्स

जापानका चर्चित संगीतकार रियोइची साकामोतोको ७१ वर्षको उमेरमा निधन भएको छ। साकामोतोको मार्च २८ मा निधन भए पनि यो खबर उनको कार्यालयले आइतबार मात्रै सार्वजनिक गरेको जापान टाइम्सले जनाएको छ।

गत वर्षको जुनमा साकामोतोले आफू क्यान्सरको चौथो चरणमा रहेको खुलासा गरेका थिए। उनमा यसअघि सन् २०१४ मा घाँटीको क्यान्सर भएको थियो भने २०२१ मा पुनः क्यान्सर देखा परेको थियो।

सोलो आर्टिस्ट र यल्लो म्युजिक अर्केस्ट्रा (वाईएमओ) का संस्थापकसमेत रहेका रियोइची अस्कर, ग्रामी, गोल्डेन ग्लोब र बाफ्टाजस्ता प्रतिष्ठित अवार्डबाट सम्मानित भएका थिए। उनले सन् १९८३ मा ‘मेरी क्रिसमस’ चलचित्रमा संगीत भरेर चलचित्रको संगीत यात्रा शुरू गरेका थिए।

यस्तै, सन् १९८७ मा ‘द लास्ट इम्पेरर’ चलचित्रमा उत्कृष्ट संगीत भरेका उनलाई यसै चलचित्रले अस्कर, ग्रामी र गोल्डेन ग्लोबजस्ता प्रतिष्ठित अवार्डहरू दिलाएको थियो। साथै, उनले ‘द एपिक अबाउट द लाइफ अफ पुयाइ’, ‘लास्ट इम्पेरर अफ चाइना’जस्ता चलचित्रमा अभिनयसमेत गरेका छन्।

दश वर्षको उमेरदेखि नै संगीत पढ्न शुरू गरेका उनी बिटल्स र फ्रान्सेली स‌ंगीतकार डेब्युसीबाट प्रभावित थिए। पछि उनले टेक्नो–पप र हिपहप विधामा उल्लेखनीय काम गरेका थिए।

सन् २०१० मा रियोइचीले भनेका थिए, “एशियाको संगीत डेब्युसीबाट धेरै प्रभावित छ र ममा पनि गहिरो प्रभाव पारेका छन्। त्यसैले संगीत संसारभर फैलन्छ र पूर्ण चक्रमा फर्कन्छ।”