जयनगर–कुर्था रेल सेवाका एक वर्ष: आम्दानी ८ करोड, खर्च ५० करोड

चालकदेखि इन्धन र अन्य खर्च गरेर नेपालले भारतीय रेल्वे कम्पनी कर्पोरेशनलाई वार्षिक रु ४८ करोड तिर्नुपर्ने सम्झौता छ। जनशक्तिलगायतमा आत्मनिर्भर नहुँदा रेल सेवा घाटामा गएको रेल्वे कम्पनीले जनाएको छ।

फाइल तस्वीर

वीरगञ्ज: जयनगर–कुर्था खण्डमा नियमित रेल सेवा सञ्चालन भएको सोमबार एक वर्ष पूरा भएको छ। गत २०७८ साल चैत १९ गते नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा उद्घाटन गरेपछि चैत २० गतेदेखि सो खण्डमा नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ। तर रेल सेवा आत्मनिर्भर हुन सकेको छैन।

जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर रेल्वे मार्गमा अहिले दैनिक दुई आउने र दुई पटक जाने गरेको छ। रेल सेवा शुरू हुनुअघि रेलमा यात्रु हुन्छ कि हुँदैन भन्ने आशंका भए पनि यात्रुको चाप बढ्दै गएको नेपाल रेल्वे कम्पनीले जनाएको छ। “शुरू हुँदा थुप्रै आशंका थियो,” नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले भने, “तर अहिले सबै शंका हट्दै गएको छ, यात्रुको चाप दैनिक बढ्दै गएको छ।”

जयनगरबाट कुर्था र कुर्थाबाट जयनगर दिनमा दुई पटक आउने जाने गर्दै आएको रेलबाट दैनिक रु २ लाख ५ हजार आम्दानी हुँदै आएको नेपाल रेल्वे कम्पनीले जनाएको छ। रेलबाट वार्षिक रु ८ करोड आम्दानी हुँदा खर्च भने रु ५० करोड जति हुँदै आएको महाप्रबन्धक झाले बताए।

एक वर्ष रेल नियमित सञ्चालन गर्न सफल हुँदा नेपाली रेल्वे सेवालाई आत्मनिर्भर बनाउने आत्मविश्वास जागेको झाको भनाइ छ। नेपालमा रेल सञ्चालनका लागि भारतीय जनशक्ति र भारतमै इन्धन भर्नुपर्ने बाध्यताबाट मुक्त गरी नेपाली रेल सेवालाई आत्मनिर्भर बनाउन नेपाल रेल्वे कम्पनीले विभिन्न योजनाअघि बढाएको पनि उनले बताए। तत्काल स्थायी कर्मचारीको संगठन संरचना निर्माण, वासिङ सेन्टर र फ्युल सेन्टर निर्माण तथा जयनगर कुर्था खण्डमा कार्गो रेल सेवा सञ्चालनको तयारी शुरू गरिएको उनले जानकारी दिए। 

नेपाल रेल्वे कम्पनीको आफ्नो वासिङ सेन्टर नहुँदा भारतमा रेलको वासिङ गराउनुपर्ने र अहिले रेलको वासिङ गराउन मात्र भारतबाट वार्षिक ५ करोडभन्दा बढी रकम खर्च गर्दै आएको छ। भारतमा फ्युल भराउँदा २८ प्रतिशत कर तिर्नुपर्ने अवस्था भएको र यसबाट बर्सेनी ठूलो रकम खर्चिन बाध्य भएको झाको भनाइ छ।

“नेपाल रेल्वे कम्पनीले आफ्नो वासिङ सेन्टर र फ्युल सेन्टर स्थापना गर्न सके वार्षिक करिब रु.७ करोडभन्दा बढी रकम बचत हुन सक्छ,” उनले भने, “त्यसका लागि हामीले योजना बनाएर अघि बढेका छौँ, नेपालमै वासिङ सेन्टर र फ्युल सेन्टर निर्माण गर्ने योजना तयार पारेका छौँ।”

नेपाली रेल सञ्चालन गर्न नेपाली जनशक्ति नहुँदा अहिले भारतीय जनशक्तिबाट रेल सञ्चालन हुँदै आएको छ। नेपाल रेल्वे कम्पनीमा २६ जना भारतीय कर्मचारी कार्यरत छन्। महाप्रबन्धक झाले भने, “भारतीय कर्मचारीको तलब, रेलको मेन्टिनेन्स, सामान खरिदलगायतमा वार्षिक रु ४८ करोड भारतीय रेल्वे कम्पनीलाई तिर्नुपर्ने अवस्था छ।” 

नेपालसँग नेपाली चालक छैनन्। त्यसैलै भारतीय चालकले नै रेल चलाउँदै आएका छन्। उनीहरूलाई तलबबापत मात्रै मासिक रु १८ लाख तिर्नुपर्ने स्थिति छ। 

“हामीले तत्काल स्थायी प्रकृतिको कर्मचारी माग गरेका छौँ, आएपछि उहाँहरूलाई तालिम दिएर दक्ष बनाइने योजना अघि बढाएका छौँ”, उनले भने, "जसले गर्दा भारतीय जनशक्ति नै निर्भर हुनुपर्ने अवस्था रहँदैन, नेपालीले नै रल चलाउन सक्छन्।” 

अहिले नेपाल सरकारले भारतीय रेल्वे कम्पनी कार्पोरेशन (कोङकण) लाई वार्षिक रु ४८ करोड तिर्नुपर्ने सम्झौता भएको महाप्रबन्धक झाको भनाइ छ। रेल सञ्चालन भएदेखि रेल घाटा नगए पनि सम्झौता अनुसार भारतीय रेल्वे कम्पनीलाई रु ४८ करोड तिर्नुपर्ने भएकाले समस्यामा परेको उनले बताए। त्यसैले जयनगर–कुर्था खण्डमा यात्रुबाहक रेल सेवासँगै कार्गो रेल सेवा सञ्चालन गर्ने तयारीमा जुटेको उनको भनाइ छ।

“संसारमा कही पनि यात्रुबाहक रेल मात्र चलाएर रेल सेवा फाइदामा गएको इतिहास छैन, रेल सेवालाई फाइदामा लैजान कार्गो सेवा नै चलाउनुपर्छ”, महाप्रबन्धक झाले भने, “त्यसैले हामी केही समयपछि कार्गो रेल सेवा पनि चलाउँछौँ, त्यसका लागि तयारी थालिसकेका छौँ।”

हाल जयनगरबाट ८:३० र ३ बजे छुट्ने गर्छ भने कुर्थाबाट १०:३० र ५:१५ मा अर्को रेल छुट्ने गरेको छ।  रेल चल्न थालेसँगै जनकपुरसहित मधेस प्रदेशको पर्यटन, धार्मिक क्षेत्रको विकास र स्थानीय उत्पादनको निर्यात बढेको जनकपुरधामका व्यापारी रोशन साहको भनाइ छ।

भारतको सरकारी कम्पनीमार्फत रेल सेट खरिद गरेर करिब तीन वर्षअघि नेपाल आइपुगे पनि विभिन्न समस्याका कारण सञ्चालन हुनसकेको थिएन। कहिले कर्मचारी नहुने त कहिले कानुनको अभावले गर्दा लामो समय रेल सेट उसै थन्किएको थियो। अहिले दुवै सेट रेल सञ्चालनमा छ। 

जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको विजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। कुर्थादेखि विजलपुरासम्म रेलमार्गको ट्रयाक निर्माणको मुख्य कार्य सम्पन्न भइसकेकाले केही दिनभित्रै भारतीय निर्माण कम्पनीले नेपाल रेल्वे कम्पनीलाई ट्रयाक हस्तान्तरण गर्ने नेपाल रेल्वे कम्पनीका इन्जिनियर रवीन्द्र साहले बताए। “रेल्वे ट्रयाक हामीलाई हस्तान्तरण हुने तयारी भइरहेको छ,” उनले भने, “त्यो हस्तान्तरण भएसँगै हामी विजलपुरासम्म रेल गुडाउँछौँ।”

केही दिनअघि कुर्थादेखि विजलपुरासम्म रेल गुडाएर परीक्षणसमेत गरिएको थियो। विजलपुरादेखि बर्दिबाससम्मको १८ किलो मिटर रेलमार्ग निर्माणमा जग्गा मुआब्जा विवाद बाधक बन्दा समस्या भएको छ। “जग्गा मुआब्जाको समस्यालगायतका कारण विजलपुरा भङ्गहादेखि बर्दिबाससम्म रेलमार्ग निर्माणको काम प्रभावित भएको”, साहले भने, “कतिपय ठाउँमा व्यवहारिकरुपमा रोड देखिएको छ, तर नक्सामा रोड छैन तैपनि स्थानीयले मुआब्जा मागिरहेका छन्।” 

रेल सञ्जाललाई नेपालमा विस्तार गर्नेबारे नेपाल र भारत सरकारबीच सन् २०१० मा द्विपक्षीय सम्झौता भएको थियो। सोहीअनुसार २०११ मा निर्माण थालनी भएको थियो।