अंग्रेज शासनकै पालामा कलकत्ता पुगेर ईश्वरीप्रसाद दाहाल बेलायती सेनामा भर्ती भए। त्यहाँबाट फर्किँदा हार्मोनियम र लुगा सिउने कल लिएर आए। अहिले उनले लगाएको कमिज पनि कुनै समय आफैँले सिलाएका हुन्।
काठमाडौँ– ईश्वरीप्रसाद दाहालको उमेरले शताब्दी नाघेको दुई वर्ष भयो। चैत २० गते १०३औँ जन्मजयन्तीको दिन सिनामंगलस्थित घर पुग्दा उनी आफैँले सिलाएको कमिज लगाएर बसेका थिए। अंग्रेजी पुस्तक पल्टाउँदै अक्षरहरू खुट्ट्याउने प्रयासमा थिए।
उनी अहिले उस्तो हिँडडुल गर्न सक्दैनन्। घरको तेस्रो तलबाट कमै मात्र ओर्लिन्छन्। आँखा प्रष्ट देख्छन्। कान पनि तगडा छन्। तर अचेल कपडा भने सिलाउन सक्दैनन्। केही वर्षअगाडि आफैँले सिलाएका कपडा लगाउन भने छाडेका छैनन्।
त्यति मात्र होइन, उनी संगीतका पनि सौखिन थिए। हार्मोनियम घरैमा थियो। खोटाङको हलेसीस्थित गाउँमा छिमेकी गीत सुन्न बिहान–बेलुकै घरमा जम्मा हुन्थे। १९७७ सालमा जन्मिएका उनले गाउँमा हार्मोनियम र लुगा सिलाउने मेसिन चलाउन सिक्ने सम्भावनै थिएन। लुगा पनि हातैले सिउने जमाना थियो।

ईश्वरीले यी आधुनिक सामग्री चलाउन कलकत्तामा सिकेका थिए। त्यो कलकत्ता, जतिबेला भारतमा अंग्रेजले शासन चलाउँथ्यो। उनको कलकत्तासँगको सम्बन्ध गजबको छ।
उनी बेलायती सेनामा भर्ना हुनकै लागि खोटाङबाट कलकत्ता पुगेका थिए।
त्यो दोस्रो विश्वयुद्ध शुरू हुनुभन्दा अगाडिको कुरा थियो। भारत गएर सेनामा भर्ना हुन पाइने गाउँमा हल्ला चल्यो। ईश्वरी पनि ठूलोबुवाका छोरासँग लागेर भारतको तत्कालीन राजधानी कलकत्तातिर हानिए।
५–६ जनाको टोली कलकत्ता गएका थिए। गएकामध्ये ईश्वरीबाहेक अरू कोही पनि भर्ती हुन सकेनन्। साथीहरू फर्किए। तर उनी बेलायती सैनिक भएर कलकत्तामा नै बसे। “तलब थियो नि ४०–५० रुपैयाँ,” उनी सम्झन्छन्।
कलकत्ताको कुन ठाउँमा बस्थे भन्ने ईश्वरीले अहिले बिर्सिसके। धेरै कुरा सम्झनामा छैन। “तर २०६१ सालतिर घुमाउन कलकत्ता लैजाँदा पहिला आफू बसेका ठाउँहरू बुवाले हामीलाई चिनाउनु भएको थियो,” बुहारी सुधा अधिकारी भन्छिन्।

कलकत्ता बस्दा उनको भेट जवाहरलाल नेहरूसँग पनि हुन्थ्यो। बाटामा भेट्दा सामान्य कुराकानी हुने गरेको ईश्वरी बताउँछन्। तर के कुरा हुन्थ्यो अहिले बिर्सिसके।
कलकत्तामा उनको भेट तत्कालीन युवराज महेन्द्रसँग पनि भएको थियो। महेन्द्रले फर्किएर स्वदेश आउन पनि भनेका थिए। तर नेपाल फर्किएपछि उनी भेट्न गएनन्। गाउँतिरै रमाए।
कलकत्तामा ईश्वरीले हार्मोनियम बजाउन सिके। लुगा सिउन पनि सिके। पाँच वर्ष उतै बसे। त्यही बेला अंग्रेजी भाषाका अक्षरहरू सिके। नेपाली पढ्न लेख्न भने उनलाई साइँला दाजुले गाउँमै सिकाएका थिए।

कलकत्तामा पाँच वर्ष बसेपछि उनी छुट्टीमा गाउँ फर्किए। तर उनकी आमाले फर्किएर जान दिइनन्। कलकत्ताबाट आउँदा उनले हार्मोनियम र लुगा सिउने कल लिएर आएका थिए। झन्डै २० वर्षअघि गाउँबाट काठमाडौँ बसाइँ आउँदा हार्मोनियम कता छुट्यो उनले नै बिर्सिसके। तर कल भने बानेश्वरमा जेठा छोरा चण्डीप्रसाद दाहालको घरमा अहिले पनि छ।
कलकत्ताबाट फर्किएको केही वर्षपछि उनले खोटाङको फोक्सेमा विद्यालय खोले। त्यतिबेला ‘प्राइमरी स्कुल’ थियो। छोरा चण्डीका अनुसार अहिले त्यहाँ स्नातकसम्म पढाइ हुन्छ।
ईश्वरी भन्छन्, “गाउँमा के गर्नु र, रमाइलाका लागि स्कुल खोलियो। वरिपरिबाट बटुलेर शिक्षक जम्मा पारेँ। आफैँ पनि पढाएँ।”
उनले गाउँमा कपडा सिलाउने काम पनि गरे। लहानतिरबाट कपडा लिएर गएर उनी गाउँलेका लुगा सिलाउँथे।
छोरा चण्डीका अनुसार सिरहातिर खेत थियो। त्यहाँ खेतमा उब्जिएको अन्न लहानतिरका मारवाडीहरूलाई दिने गरेका थिए। त्यसबापत मारवाडीले कपडा दिन्थे। ती कपडा गाउँमा ल्याएर ईश्वरी लुगा सिलाएर गाउँलेलाई दिन्थे। गाउँले र परिवारका सदस्यले लामो समय उनैले सिलाएको लुगा लगाए।

कतिपयले ‘बाहुनले पनि लुगा सिलाउने हो?’ समेत भने। त्यो समय बाहुनले लुगा सिलाउनु ‘क्रान्ति’ नै भएको चण्डी बताउँछन्।
तर उनले कसैका कुरा सुनेनन्। बरू गाउँले बिस्तारै उनीसँग प्रभावित हुँदै गए। उनले गाउँलेको गर्जो पनि टारिदिए। आफूले सिलाउन थालिकन उनले बिरलै मात्र अरूले सिलाएका लुगा लगाएका छन्। अहिले पनि कोठाको ह्यांगरमा आफैँले सिलाएका कमिज सुरुवाल झुन्डिएका छन्।
समयक्रममा छोरा–बुहारी र नातिनातिनाले गाउँ छाडे। विदेशतिर लागे। सशस्त्र द्वन्द्वको बेला बुढाबुढी मात्र गाउँमा भए। अनि बुवाआमालाई पनि काठमाडौँ ल्याएको छोरा चण्डी बताउँछन्।
काठमाडौँ आएको १० वर्षपछि २०६८ मा श्रीमतीको मृत्यु भयो। अनि अमेरिका पुगेका छोराबुहारी पालो गर्दै नेपाल आएर बुबासँग बस्न थालेका छन्।
अहिले पनि उनलाई डुल्न घुम्न मन लाग्छ। फेरि एकपटक कलकत्ता गएर ती पुराना ठाउँ हेर्न मन छ। गाउँ गएर आफूले खोलेको विद्यालय पनि हेर्न मन छ। तर शरीरमा उर्जा छैन।
ईश्वरी बिहान सबेरै उठिसक्छन्। टीभी हेर्न रुची लाग्दैन। परिवारले नयाँ पुराना किताब सिरानीमै राखिदिन्छन्। उनी चित्र हेर्छन्। बिस्तारै एक–एक अक्षर केलाउँछन्। यसरी नै समय बितिरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
