मलको व्यवस्था मिलाउने काम सरकारको हातमा नरहेको कृषिमन्त्रीको स्पष्टोक्ति

कषिमन्त्री भुसालले यस वर्षका लागि आवश्यकमध्ये करिब ७५ प्रतिशत मल खरिदका लागि सम्झौता भइसकेको बताएका छन्। उनले मल कहिले आइपुग्छ भन्ने टुंगो नभएको पनि सदनलाई जानकारी गराए।

काठमाडौँ– कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालले आवश्यक रासायनिक मलको व्यवस्था मिलाउने काम सरकारको हातमा नरहेको बताएका छन्। मंगलबार राष्ट्रियसभाको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा उनले रासायनिक मल कहिले आयात हुन्छ भनेर भन्न सकिने अवस्था नरहेको प्रस्ट्याएका हुन्।

उनले अन्य मुलुकको यातायात व्यवस्था कतिको सहयोगी हुन्छ भन्ने कुराले मल कति छिटो आयात हुन्छ भन्ने निर्धारण हुने बताए। त्यसैले मलको आयात यति नै हुन्छ भनेर भन्न सक्ने अवस्थामा सरकार नरहेको मन्त्री भुसालको भनाइ थियो।

कषिमन्त्री भुसालले यस वर्षका लागि आवश्यकमध्ये करिब ७५ प्रतिशत मल खरिदका लागि सम्झौता भइसकेको बताए। उनले मल कहिले आइपुग्छ टुंगो नभएको पनि सदनलाई जानकारी गराए।

“यो वर्ष कति चाहिएला भन्ने अनुमानको मलको करिब करिब ७५ प्रतिशतभन्दा बढी हिस्साको चाहिँ टेन्डर भइसकेको छ। सम्झौताहरू भइसकेको छ। र, केही भाग आउने क्रममा छ। र, केहीचाहिँ छिट्टै आउन सक्ला भन्ने आशा गरिएको छ। खास गरिकन योचाहिँ हाम्रो हातमा मात्रै छैन,” उनले भने।

मन्त्री भुसालले रासायनिक मलको व्यवस्था मिलाउन र कृषकलाई ऋण तथा अनुदान उपलब्ध गराउँदा दुरुपयोग हुन नदिने विषयमा लिखित सुझाव दिन सांसदलाई आग्रह गरे। उनले सरकारले किसानको समस्या समाधानका निम्ति सांसदले दिएको सुझावलाई ग्रहण गरेर अघि बढ्ने प्रतिबद्धता दोहोर्‍याए। 

“लिखित रूपमा सुझाव पाऊँ। र, व्यक्तिगत रूपमा भेटेर पनि कसरी जान सकिन्छ भनेर विस्तृत रूपमा सुझाव पाउनका लागि मेरो अनुरोध हो। यही अनुरोध दोहोर्‍याउन चाहन्छु,” उनले भने।