प्रशिक्षक अनन्तराज थापा नेपाली टोलीले विश्वकप खेल्न लागेको भियतनाममाथि जित हात पार्दै सुखद नतिजा निकाल्नेमा आशावादी छन्।
काठमाडौँ– टोकियो ओलम्पिक–२०२० अन्तर्गत एशियाली छनोटमा नेपाल दोस्रो चरणमा प्रवेश गरेको थियो। पहिलो चरणमा समूह ‘सी’ मा रहेको नेपालले तीनै खेलमा १-१ गोलको बराबरीको नतिजा निकालेको थियो। जसमा आफूभन्दा बलियो मानिएका भारत, म्यानमारसँगै बंगलादेश पनि थिए।
तर, नेपालले दोस्रो चरणमा आफ्नो लय कायम राख्न सकेन। कमजोर रक्षापंक्ति र फितलो फनिसिङका कारण नेपालले पहिलो चरणमा बराबरीमा रोकेको म्यानमार र भारतसँग समान ३-१ को नतिजा सुम्पियो। र, अन्तिम खेलमा इन्डोनेसियासँग २-१ गोलअन्तरले पराजित हुँदै नेपाल प्रतियोगिताबाटै बाहिरियो।
यसपटक नेपाललाई अघिल्लो ओलम्पिक छनोटमा गरेको फितलो प्रदर्शनलाई सुधार गर्ने मौका छ। यद्यपि, नेपाललाई चुनौती भने कायमै छ। किनकि, भारत र म्यानमारजस्तै नेपालले पेरिस ओलम्पिक–२०२४ एशियाली छनोटमा यसपटक अर्को बलियो प्रतिद्वन्द्वी पाएको छ भियतनाम। एशियाली वरीयतामा छटौँ स्थानमा रहेको भियतनामसँग नेपालले बुधबार र शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा ‘होम एन्ड अवे’को रूपमा दुई खेल खेल्ने छ। यस समूहको शीर्ष स्थानमा रहने एक टोलीले दोस्रो चरणमा स्थानमा बनाउने छ।
एशियाकै बलियो टोलीमध्ये एक भियतनाम दुई वर्षअघि एशियाली छनोटमा अन्तिम चरणमा पुगेको थियो। टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गर्न गएको भियतनाम अस्ट्रेलियासँग पहिलो लेगमा ५–० र दोस्रो लेगमा २–१ गोलअन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो। यो तथ्यबारे जानकार मुख्य प्रशिक्षक अनन्तराज थापाले उक्त टोली (भियतनाम) सँग खेल्नु नेपालले अवसरको रूपमा लिएको बताए।

“भियतनाम भनेको नेपालका लागि बलियो प्रतिद्वन्द्वी हो। उसले यस वर्ष अस्ट्रेलिया र न्यूजिल्यान्डमा आयोजना हुने विश्वकप खेल्दै छ। त्यसैले हामी पनि बलियो टोली हो है भनेर प्रुफ (प्रमाणित) गर्ने अवसरका रूपमा यो खेललाई लिएका छौँ,” उनी भन्छन्।
एशियाली छनोटअन्तर्गत नेपाल र भियतनाम रहेको समूह ‘सी’ मा प्यालेस्टाइन र अफगानिस्तानसमेत रहेका थिए। छनोट चरणका खेलहरू प्यालेस्टाइनमा हुने बताइएको थियो। तर, प्यालेस्टाइन र अफगानिस्तानले आन्तरिक कारण देखाउँदै सहभागिता नजनाउने निर्णय गरेपछि नेपाल र भियतनाम मात्रै मैदान उत्रिन लागेका हुन्। तर, मुख्य प्रशिक्षक थापा भने दुई टोलीले नाम फिर्ता लिँदा खासै अर्थ नराख्ने बताउँछन्।
“हाम्रो अल्टिमेट लक्ष्य भनेको दोस्रो चरण प्रवेश गर्ने हो। समूहमा नेपालको मुख्य प्रतिस्पर्धी भियतनाम नै थियो। त्यसैले अन्य दुई टोलीले नाम फिर्ता लिँदा खास अर्थ राखेको छैन। भियतनाम विश्वकप खेल्न लागेको टिम हो। यसकारण नेपाली टिमलाई उनीहरूविरुद्ध प्रमाणित गर्ने राम्रो अवसर छ,” थापाले थपे।
बलियो टोली भियतनाम
भियतनामले सन् २००३ देखि नियमित रूपमा (अहिलेसम्म पाँच पटक) महिला विश्वकप छनोटमा सहभागिता जनाएको छ। उसले यसपटक विश्वकपमा ‘डेब्यू’ प्लेअफमा चाइनिज ताइपे र थाइल्यान्डलाई पराजित गर्दै गरेको थियो। विश्वकपको समूह ‘ई’ मा रहेको भियतनामले अमेरिका, नेदरल्यान्ड्स र पोर्चुगलसँग प्रतिस्पर्धा गर्ने छ। यही कुरालाई ध्यान राख्दै नेपालले पछिल्लो एक महिनादेखि बलियो तयारी गरेको कारण भियतनामलाई चुनौती दिनसक्ने मुख्य प्रशिक्षक थापा दाबी गर्छन्।
“भियतनामको फिफा वरीयतामा पनि नेपालभन्दा निकै माथि छ। हाम्रो लक्ष्य भनेको योभन्दा माथि पुग्ने हो। त्यसैले च्यालेन्स एक्सेप गर्नुपर्छ,” उनी भन्छन्, “हामीले राम्रो एक्सपोजरको रूपमा भियतनामलाई लिएका छौँ। पछिल्लो एक महिनादेखि बलियो तयारी गरिरहेका छौँ। आशा छ, टोलीले राम्रो प्रदर्शन गर्नेछन् र सुखद नतिजा निकाल्ने छ।”

फिफा वरीयतामा भियतनाम ३३औँ स्थानमा छ भने नेपाल १००औँमा। नेपालले सन् १९८६ देखि अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको हो। भियतानामले भने त्यसको ठ्याक्कै ११ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा पाइला टेकेको थियो। भियतनामले फ्रान्स, कम्बोडिया, फिलिपिन्स, लाओस र अस्ट्रेलियाजस्तो बलियो टोलीसँग प्रतिस्पर्धा गरिसकेको छ। यता, ३७ वर्षको लामो इतिहास बोकेको नेपाल भने दक्षिण एशियाभित्र सीमित छ। त्यसैले भियतनाम नै नेपालले सामना गर्ने सबैभन्दा बलियो टोली रहने छ।
पुरुष टोलीमा जस्तै नेपाली राष्ट्रिय महिला टोलीमा पनि अधिकांश युवा खेलाडीले स्थान बनाएका छन्। टोलीमा फरवार्ड सावित्रा भण्डारीको उतराधिकारी मानिएकी अमिषा कार्की पनि छन्। तर, आफ्नो मुख्य हतियार भने सावित्रा नै रहने प्रशिक्षक थापा बताउँछन्। “अर्जेन्टिनाका कप्तान तथा फरवार्ड लिओनल मेस्सी उसको हतियार हो भनेर सबैलाई थाहा छ। उसलाई कसरी रोक्ने भनेर विपक्षीले बलियो रणनीति पनि बनाएको हुन्छ। तर, उसलाई कसैले रोक्न सक्दैन,” उनी भन्छन्, “सावित्रा पनि हाम्रो बलियो हतियार हो। भियतनामविरुद्ध उनले मेस्सीले झैँ विपक्षीको रणनीतिलाई मात दिएर उत्कृष्ट प्रदर्शन गर्न सक्छिन् भन्ने आशा छ।”
नेपाली टोलीले भियतनामसँग खेल्दा रक्षापंक्तिमा अनुभवी गीता रानालाई चोटका कारण गुमाउने छ। गीताको अभावबारेको प्रश्नमा प्रशिक्षक थापाले गीता टोलीको प्रभावकारी रक्षक भए पनि उनको विकल्प तयार रहेको प्रतिक्रिया दिए। “फुटबलमा इन्जुरीका कुराहरू आइहाल्छन् । तर, हामीले त्यसको विकल्प खोज्ने हो। गीता उपलब्ध नहुँदा समीक्षा घिमिरे र अमृता जैसीलाई सेन्टर ब्याकमा प्रयोग गर्ने योजनामा छौँ,” थापाले भने। गीतासँगै यसपटक नेपाली टोलीले अनुभवी मिडिफिल्डर प्रीति राई पनि चोटको कारणले गुमाएको छ।
भियतनामी टोलीका मुख्य प्रशिक्षक माइ चुङले नेपालसँगको यस खेललाई विश्वकप तयारीको रूपमा लिएको भन्दै महत्त्वपूर्ण हुने बताए। नेपालका पछिल्ला केही खेलहरू हेरेको जानकारी दिँदै राम्रो प्रतिद्वन्द्वीको रूपमा लिएको उनले बताए।

“हामीले नेपालले खेलेका पछिल्ला केही खेल हेरेका छौँ र हामी नेपाललाई राम्रो प्रतिद्वन्द्वी मान्छौँ। हामीले विश्वकपको तयारीसमेत गरिरहेका छौँ। त्यसैले नेपालविरुद्धको खेल हाम्रा लागि महत्त्वपूर्ण हुनेछ,” उनले भने। नेपालले ओलम्पिक छनोटको तयारीका लागि भारतसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो। पहिलो खेलमा नेपालले घरेलु टोली भारतलाई २-२ गोलको बराबरीमा रोकेको थियो। यस्तै, दोस्रो खेल भने गोलरहित बराबरीमा सक्काएको थियो।
यस्तै, भियतनामी टोलीकी कप्तान ह्युन न्ह्युले पनि नेपालविरुद्ध सतर्क भएर खेल्ने बताइन्। उनी पोर्चुगलको ल्याङ एफसीबाट व्यावसायिक फुटबल खेल्दै आएकी छिन्। अग्रपंक्तिबाट खेल्दै आएकी उनी भियतनामी महिला फुटबलकी स्टार हुन्। भियतनामका लागि पाँच पटक गोल्डेन बल जितिसकेकी उनी पोर्चुगलबाट सिधै काठमाडौँ ओर्लिएकी हुन्।
उनको उपस्थितिले भियतनामी महिला टोलीको मनोबल बढाएको छ। यता, नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले वरीयतामा आफूभन्दा माथि रहेको म्यानमारलाई रोकेको स्मरण गराउँदै भियतनामविरुद्ध पनि अन्तिमसम्म डटेर खेल्ने बताइन्। “ओलम्पिक छनोटमै यसअघि हामीले माथिल्लो वरीयताको म्यानमारलाई बराबरीमा रोकेका थियौँ,” उनले भनिन्, “मैदानमा प्रवेश गरिसकेपछि कसैलाई पनि हार्ने इच्छा हुँदै। त्यसैले हामीले अन्तिमसम्म लड्यौँ भने पक्कै पनि नतिजा राम्रो आउनेछ।”
दुई लेगको समाप्तिमा पहिलो स्थानमा रहने टोलीले छनोटको अर्को चरण यात्रा तय गर्नेछ। दुई लेगको निर्धारित समयको खेल बराबरी सकिए खेल अतिरिक्त समयमा जानेछ। त्यसमा पनि बराबरी भए विजेताको निर्धारण टाइब्रेकरले गर्नेछ। सात समूहका शीर्ष टोलीहरू दोस्रो चरणमा पुग्नेछन्। उनीहरूले सिधै छनोट भएका जापान, अस्ट्रेलिया, चीन, उत्तर कोरिया र दक्षिण कोरियासँग खेल्नेछन्।
समूह विजेता तीन टोलीसँगै उपविजेतामध्ये उत्कृष्ट एक गरी चार टोलीले तेस्रो चरणमा स्थान बनाउने छन्। तेस्रो चरणका उत्कृष्ट दुई टोली पेरिस ओलम्पिकमा छनोट हुनेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
