चर्च ब्वाइजका मुख्य प्रशिक्षक हुमागाईंद्वारा क्लब छाडेको घोषणा

नेपाली मुलका अमेरिकन नागरिक हुमागाईंले श्रम स्वीकृति पाउन नसकेको कारण देखाउँदै क्लब छाडेको घोषणा गरेका छन्।

तस्वीर : प्रदीप हुमागाईंको फेसबुक

काठमाडौँ– चर्च ब्वाइज युनाइटेडका मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले क्लब छाडेको घोषणा गरेका छन्।

अमेरिकन नागरिक हुमागाईंले श्रम स्वीकृति पाउन नसकेको कारण देखाउँदै बुधबार बिहान क्लब छाडेको घोषणा गरेका हुन्।

“नेपालको प्रचलित कानुन, फिफा, एन्फा र एएफसीको नियमानुसार मैले अमेरिकी नागरिकता भएका कारण नेपालमा प्रशिक्षण गर्न श्रम स्वीकृति लिनुपर्ने हुन्छ,” उनले सामाजिक सञ्जालमा लेखेका छन्,  “सो प्राप्त गर्न नसकेकाले अप्रिल ४ देखि मैले प्रशिक्षण गरिरहेको चर्च ब्वाइज क्लब छाडेको जानकारी गराउन चाहान्छु।”

खेलकुद शारीरिक र  मानसिक क्षमताको प्रदर्शन मात्र नभई अनुशासन, नीति र नियमको पालना पनि भएको हुमागाईंको भनाइ छ।

जारी ए डिभिजन लिगमा चर्च ब्वाइज दोस्रो स्थानमा छ। लिगमा अपराजित चर्च ब्वाइजले ६ खेलबाट १२ अंक जोडेको छ।