दुवै खुट्टा नभएका हरि बुढामगर सगरमाथा चढ्न आधार शिविरतर्फ

शारीरिक रूपमा अशक्त भएका व्यक्तिहरू कमजाेर हुँदैनन् भन्ने सन्देश दिन सगरमाथा आराेहण गर्न लागेकाे बुढागरले बताएका छन्।

काठमाडौँ–  पूर्वगोरखा सैनिक हरि बुढामगर विश्वको सर्वोच्च शिखर सगमाथा आरोहणका लागि सोलुखुम्बु प्रस्थान गरेका छन्।

उनी बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सगरमाथा आधार शिविरतर्फ गएका हुन्। दुवै खुट्टा नभएका उनी कृत्रिम (प्रोस्थेटिक) खुट्टाको सहायतामा सगरमाथा आरोहण गर्न लागेका हुन्। पाँच वर्षको पर्खाईपछि सगरमाथा चढ्न जाने अनुमति पाउँदा खुशी लागेको बुढामगरकाे भनाइ छ।

शारीरिक रूपमा अशक्त भएका व्यक्तिहरू कमजाेर हुँदैनन् भन्ने सन्देश दिन सगरमाथा आराेहण गर्न लागेकाे उनले बताए। आफ्नो आरोहणको समय दुई महिनाको हुने जानकारी दिए।

“पाँच वर्षको धेरै बाधा अड्चनपछि फाइनल म सगरमाथातर्फ प्रस्थान गर्दैछु। शारीरिक अशक्तता भएका व्यक्तिहरूलाई विश्वास गर्न धेरै सानातिना सगरमाथा चढ्नुपरेको छ,”  सोलुखुम्बु प्रस्थान गर्नुअघि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले भने, “म धेरै खुशी छु, म मात्रै होइन, म जस्ता धेरै अशक्त व्यक्तिलाई सगरमाथा चढाउनु छ।”

सन् २०१० मा अफगानिस्तानको लडाईंमा उनले दुवै खुट्टा गुमाएका थिए। घुँडाभन्दा तल दुवै खुट्टा गुमाउने र कृतिम खुट्टाको सहारामा सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने बुढामगर पहिलो व्यक्ति हुन्।

उनले सगरमाथा आधारशिविर पुगेर ‘स्काइड्राइभिङ’ गरेका थिए।