२ दिनभित्र सरकारले पूर्णता पाउँछ : प्रधानमन्त्री दाहाल

जनतालाई राहतको महसुस गराउन नसके सम्पूर्ण परिवर्तन धरापमा पर्नसक्ने प्रधानमन्त्री दाहालको भनाइ छ।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले दुई दिनभित्र सरकारले पूर्णता पाउने बताएका छन्।

बुधबार माओवादी केन्द्र केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रममा प्रधानमन्त्री दाहालले सरकारले लगभग पूर्णता पाइसकेको दाबी गरेका हुन्।

अब सरकारको सबै ध्यान नीति र बजेट निर्माणमा केन्द्रित हुने उनको भनाइ थियो। “मैले प्रधानमन्त्री बनेर अहिले सरकार सञ्चालनको अवसर पाएको छु, त्यो पनि चुनौतीपूर्ण रूपमा छ,” प्रधानमन्त्री दाहालले भने, “हाम्रो सबै ध्यान अब सरकारको नीति र बजेट निर्माणमा नै केन्द्रित हुनेछ। कुन बाटो जाने भन्नेमा केन्द्रित हुनेछ।”

जनताले फरक अनुभूति गर्न नसके अहिलेसम्मका सम्पूर्ण परिवर्तन धरापमा पर्नसक्ने उनको भनाइ थियो। “यसमा म गम्भीर छु। परम्परागत नीति, कार्यक्रम र बजेटले देशका समस्या सम्बोधन गर्न सक्दैन। अर्थतन्त्रका चुनौती पार लगाउन सक्दैन,” उनले भने, “त्यसैले विगतभन्दा केही नयाँ, केही फरक र देशको अर्थतन्त्रमा गुणात्मक प्रभाव राख्ने योजनाहरू ल्याउनुपर्छ। सत्ता समीकरणको चरित्रलाई समेत ध्यान दिँदै केही न केही नयाँ गर्छौँ।”

सरकारले जनतामा आशा जगाउने गरी काम गर्ने उनको भनाइ छ।