घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङले आयोजना गरेको डोको बुन्ने प्रतियोगितामा ३८ जना प्रतियोगी सहभागी भए। चोया, खुकुरी र कर्द साथमा लिएर डोको बुनिरहेको दृश्य साँच्चिकै रोचक थियो।
ताप्लेजुङ– एसईई परीक्षाअन्तर्गत बुधबार विज्ञान विषयको परीक्षा सकेर फुङलिङ नगरपालिका–९ का दीपक लाबुङ डोको बुन्ने प्रतियोगितामा सहभागी भए।
१५ वर्षीय दीपकसँगै फुङलिङ–७ का ७६ वर्षीय धनबहादुर सुनुवार आमनेसामने बसेर डोको बुनिरहेको दृश्य दर्शकलाई निक्कै रोचक लागिरहेको थियो। पछिल्लो समय चोयाबाट डोको, डालो बुन्ने चलन हराउँदै गइरहेका बेला १५ वर्षीय दीपक र नजिकै बसेर ७६ वर्षीय धनबहादुरले चिटिक्क पारेर डोको बुन्दै गरेको देख्दा दर्शकलाई तस्बिर कैद गर्न भ्याइनभ्याइ थियो।
डोको मात्रै नभई चोयाको डालो, नांलोसमेत बुन्न सिकेको दीपकले सुनाए। “घरमा बुबाले कहिलेकाहीँ सिकाउनुहुन्छ, चोया आफैँ निकालेर डोको, डालो, नाङ्लो पनि बुन्न सक्छु,” दीपकले भने। घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङले आयोजना गरेको औद्योगिक कृषि तथा पर्यटन मेलामा आयोजित उक्त प्रतियोगितामा विभिन्न उमेर समूहका ३८ जना प्रतियोगी सहभागी भए।
चोया, खुकुरी र कर्द साथमा लिएर दिउँसोको चर्को घाममा हतार हतारमा डोको बुनिरहेको दृश्य साँच्चिकै रोचक थियो। बुधबार बेलुका सकिएको प्रतियोगितामा यो वर्ष केही युवाको समेत उत्साहजनक सहभागिता रहेको पाइएको छ। परम्परागत सीपलाई पुस्तान्तरण गर्ने साथै आधुनिकताले हराउँदै गएका मौलिक वस्तुको उत्पादन र प्रयोग बढाउँदै लैजाने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा उत्साहजनक सहभागिताले आयोजक मात्रै नभई विभिन्न क्षेत्रबाट मेला हेर्न आएकाहरू पनि खुसी देखिएका थिए।
“हामीले गत वर्ष आयोजित औद्योगिक मेलामा समेत यो प्रतियोगिता राखेका थियौँ। यो वर्ष थप उत्साहजनक सहभागिता बढेको छ,” घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङका सचिव हर्कराज गुरुङले भने, “परम्परागत सीप, मौलिक वस्तुको संरक्षणसँगै सर्वसाधारणको आयआर्जन र पर्यटन प्रवर्द्धनमा यसले टेवा पुग्ने देखियो।”
फुङलिङका कालीबहादुर गुरुङले परम्परागत सीप र उत्पादनलाई प्रतियोगितामा मात्र सीमित नगराई सीप विकास र प्रयोगमा वृद्धि गर्नेतर्फ सरोकारवालाले ध्यान दिन आवश्यक भएको बताए। “मैले डोको बुन्ने पेसा २०४६ सालदेखि शुरू गरेको हो। पहिले पहिले चोयाको डोको, डालो, नांलोलगायतका सामान धेरै प्रयोग हुन्थे,” उनले भने, “आजकल बजारमा रबरबाट बनेका सामान आउन थाले। मान्छेले चोयाको डोको, डालो, थुन्से, नाङ्लो बिर्सिए। अब यी पुराना वस्तुको पुनरुत्थान गर्न सरकारले चासो दिनुपर्छ।”
प्रतियोगितामा फुङलिङ नगरपालिकाका धनबहादुर गुरुङ प्रथम भए। द्वितीय फुङलिङकै लक्ष्मण गुरुङ तथा तृतीय सिदिङ्वा गाउँपालिका–६ मेहेलेका कालीबहादुर गुरुङ भए। उनीहरूले क्रमशः १० हजार, पाँच हजार र दुई हजार रुपैयाँ नगद पुरस्कार तथा सहभागी सबैले प्रोत्साहनस्वरूप ५०० रुपैयाँ पाएका छन्।
स्थानीय कच्चा पदार्थबाट बनेका सामान प्रयोग हुँदा रोजगार सृजना हुने, मुद्रा बाहिर नजाने, कच्चा पदार्थ खेर नजाने जस्ता फाइदाजनक कुरालाई सरोकारवाला निकायले बुझ्न जरुरी भएको गुरुङको भनाइ छ। मालिंगो, बाँस वा निगालोबाट बनाइने डोको भारीका बोक्नलाई प्रयोग हुने एक प्रकारको सोली आकारको साधन हो।
प्राय ग्रामीण क्षेत्रमा घाँस, दाउरा, पानीको गाग्रीलगायतका सामान बोक्न परम्परादेखि प्रयोग हुँदै आएको डोको आजकल लोप हुँदै गएको पाइन्छ। डोको मात्रै नभई आधुनिकतासँगै चोयाबाट तयार हुने डालो, थुन्से, भकारी, घुमजस्ता वस्तुको प्रयोग गर्ने चलन धेरै न्यून हुँदै गएको छ। बुन्ने र प्रयोग गर्ने चलन हराउँदै गएपछि डोको, डालो, नाम्लो, थुन्से र घुम जस्ता चोयाका सामग्री संग्रहालयतिर देख्न थालिएको छ।
आधुनिक वस्तुको प्रयोगले केही सहजता हुने भए पनि परम्परागत सीप र उत्पादनको जगेर्नाले पर्यावरणीय दिगोपन र आयआर्जनका अवसरहरू सृजना हुने सरोकारवालाले बताएका छन्। “प्राकृतिक सामग्री र परम्परागत विधि अपनाएर गरिएका उत्पादन दिगो र जीवन उपयोगी हुन्छ।
परम्परागत वस्तुको व्यावसायिक उत्पादनले नागरिकको आयआर्जनमा पनि सघाउ पुग्छ,” फुङलिङका उद्यमी भीम गुरुङले भने, “त्यसैले यसतर्फ सबै तहका सरकारले ध्यान दिन आवश्यक छ।” युवा पुस्तामा चोयाजन्य डोकोलगायतका सामान तयार गर्ने सीप र क्षमताको विकास हुन सके बेरोजगार बस्नुपर्ने अवस्थाको अन्त्य हुने उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
