रुस–युक्रेन युद्ध रोक्न चीनले पहल गरोस् : फ्रान्सेली राष्ट्रपति म्याक्रों

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले युक्रेनमाथि जारी रुसी युद्ध रोक्नका लागि आफ्नो प्रभावको प्रयोग गर्न चिनियाँ राष्ट्रपति सी चिनफिङलाई आग्रह गरेका छन्।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले युक्रेनमाथि जारी रुसी युद्ध रोक्नका लागि आफ्नो प्रभावको प्रयोग गर्न चिनियाँ राष्ट्रपति सी चिनफिङलाई आग्रह गरेका छन्।

साथै, रुसलाई होसमा ल्याउन चीनले पहल गर्नेमा आफू विश्वस्त रहेको फ्रान्सेली राष्ट्रपति म्याक्रोंको भनाइ थियो। बेइजिङको राजकीय भ्रमणमा रहेका म्याक्रोंले यस्तो बताएका हुन्। प्रतिक्रियामा चिनियाँ राष्ट्रपति सीले विश्व शान्तिको पहरेदारी गर्ने ‘क्षमता र जिम्मेवारी’ दुवै  देशसँग रहेको बताएको बीबीसीले जनाएको छ।

चिनियाँ नेतृत्वसँग व्यापार साझेदारीलाई बढाउने सम्बन्धमा महत्त्वपूर्ण छलफलका लागि म्याक्रों युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लियनसहित व्यापार प्रतिनिधिमण्डलको ठूलो टोलीसहित बेइजिङ पुगेका हुन्। म्याक्रों चार वर्षपछि चीनको राजकीय भ्रमणमा निस्किएका हुन्।

बिहीबार चिनियाँ राष्ट्रपति सी र म्याक्रोंबीचको गोप्य बैठक शुरू हुनुअघि  म्याक्रोंलाई बृहत् सैन्य परेडले स्वागत गरेको थियो। आजै सी, म्याक्रों र लियनबीच त्रिपक्षीय वार्ता हुने बताइएको छ।

युरोपेली आयोगकी अध्यक्ष लियन फ्रान्सेली राष्ट्रपति म्याक्रोंको निमन्त्रणामा चीन भ्रमणमा निस्किएकी थिइन्। बिहीबार फ्रान्सेली राष्ट्रपति म्याक्रों र ईयू अध्यक्ष लियनले चिनियाँ प्रधानमन्त्री ली कियाङसहित थुप्रै चिनियाँ वरिष्ठ अधिकारीहरूसँगको भेटपछि चीनसँगको वार्तालाई निरन्तरता दिइने बताएका थिए।

बुधबार बेइजिङ पुगेलगत्तै म्याक्रोंले युद्धका कारण पश्चिमा राष्ट्र र चीनबीच बढ्दो तनावको जालो हटाउन चाहेको बताएका थिए। उनले भनेका थिए, “चीनको इच्छा पनि युद्ध चलिरहोस् भन्ने होइन र बेइजिङले युद्ध अन्त्यमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।”

रुस–युक्रेन युद्ध अन्त्यको विषयमा चीनले यसअघि नै १२ बुँदे शान्ति समझदारीको खाका सार्वजनिक गरेको थियो। तर त्यसलाई पश्चिमा मुलुकहरूले युक्रेनको पक्षमा रहेको आरोप लगाएका थिए। अहिले पनि अन्तर्राष्ट्रिय कूटनीतिमा चीनले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै युद्ध अन्त्यको पहल गर्न आग्रह गरिरहेका छन्।

चीनले सार्वजनिक गरेको शान्ति योजनापछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले चिनियाँ राष्ट्रपति चिनफिङसँग प्रत्यक्ष वार्तामा बस्न चाहेको बताएका थिए। तर, सीले त्यसको सार्वजनिक प्रतिक्रिया दिएका छैनन्।