जन्मदेखि मृत्युसम्मका संस्कारमा टपरी प्रयोग गर्ने परम्परा छ। पातलाई बाँसको सिन्काले गाँसेर थाली आकारमा टपरी बनाइन्छ। साल, कट्टुसलगायतको पातबाट तयार हुने टपरीको प्रयोग हिजोआज भने घट्दो क्रममा छ।
ताप्लेजुङ– फुङलिङ नगरपालिका–९ हांदेवाकी ८५ वर्षीया लक्षिमादेवी महतारा टपरी गाँस्ने प्रतिस्पर्धामा सहभागी भइन्।
फुङलिङमा जारी औद्योगिक कृषि तथा पर्यटन मेलामा भएको प्रतियोगितामा उनी आफैँ बाँसको सिन्का र सालको पात बोकेर पुगेकी थिइन्। त्यहाँ लक्षिमादेवीसहित ३८ जना सहभागी भए।
सहभागीका मनमस्तिष्क पुराना यादले भरिए। “रहर लागेर आएकी हुँ,” सिन्काले पातमा खिल्दै लक्षिमादेवीले भनिन्, “टाढा–टाढका मान्छेसँग भेट भयो। उमेरमा आफ्नै घरमा र थुप्रै छरछिमेक, आफन्तकहाँ विवाह, व्रतबन्ध आदि कार्यमा भेला भएर दुनाटपरी गाँसेको झलझली सम्झिएँ।”
सहभागीको शारीरिक प्रतिक्रिया र अनुहारको भाव हेर्दा लाग्थ्यो, उनीहरू प्रतिस्पर्धामा नभई गाउँघरमा हुने विवाह, व्रतबन्धलगायत कार्यमा भेला भएर दुनाटपरी गाँसिरहेका छन्। प्रतिस्पर्धाको कुरा बिर्सिएर विगतको गाउँले परिवेशको अनुभूति गरे। प्रतियोगितामा विष्णुमाया गिरी पहिलो तथा कुमारी मगर र देवीमाया ओझा क्रमशः दोस्रो र तेस्रो भए।
धार्मिक रूपमा मात्रै नभई स्वास्थ्यका लागिसमेत फाइदाजनक मानिने साल, कट्टुसलगायतको पातबाट तयार हुने टपरीको प्रयोग हिजोआज घट्दो छ। पछिल्लो पुस्ता यसको महत्त्वबारे कमै जानकार छन्। बुन्ने सीप छैन। “विभिन्न कार्य हुँदा दिदीबहिनी भेला भएर दुनाटपरी गाँस्ने चलन थियो। एकअर्कालाई सघाइन्थ्यो। आजकल त्यस्तो छैन,” प्रतिस्पर्धी भीमा थापाले भनिन्, “धेरै पछि यति धेरै भेला भएर टपरी गाँस्दा पुरानो याद आयो, सिक्ने सिकाउने अवसर मिल्यो।”
विभिन्न कर्मकाण्डमा चाहिने टपरी अहिलेको पुस्ताले बिर्सिएकामा उहाँले चिन्ता व्यक्त गरिन्। टपरी बुन्ने प्रतियोगिताले सीप आदानप्रदान भएको र यसबारे नयाँ पुस्तालाई जानकारी गराउन मद्दत पुगेको उहाँको भनाइ छ। प्रतियोगितामा दुई जना पुरुषसमेत सहभागी थिए।
सहभागीमध्ये फुङलिङका ६८ वर्षीय लोचन दाहालले टपरी बुन्ने, प्रयोग गर्ने चलन हराउँदै गएकाले सीप विकासतर्फ ध्यान दिनुपर्ने बताए। “मौलिक वस्तुको संरक्षण र परम्परागत सीपको विकास तथा विस्तार गर्नुपर्छ। अहिलेका नयाँ पुस्तालाई पनि टपरी बुन्ने सीप सिकाउने कार्यक्रम सरोकारवाला निकायले ल्याउनुपर्छ,” दाहालले भने।
प्रतिस्पर्धामा युवा पुस्ताका प्रतिस्पर्धी भने कोही पनि थिएनन्। मेसिन र औजारबाटभन्दा परम्परागत विधिबाटै टपरी बनाउँदा सर्वसाधारणलाई रोजगारी मिल्ने साथै स्वास्थ्यका दृष्टिले समेत फाइदा पुग्ने दाहालको भनाइ छ। सालको पातलाई बाँसको सिन्काले गाँसेर थाली आकारमा टपरी बनाइन्छ। सालको पातलाई शुद्ध मानिने भएकाले यसैबाट बनेका टपरी जन्मदेखि मृत्युसम्मका संस्कारमा प्रयोग गर्ने परम्परा छ।
केही वर्ष अघिसम्म गाउँघरमा हुने विभिन्न कार्यमा खाना खाने प्रयोजनमा समेत टपरी गाँस्ने गरिन्थ्यो। स्टिल र प्लास्टिकका भाँडा पाउन थालेपछि विवाह, व्रतबन्धलगायत कार्यमा टपरीको प्रयोग हुन छाडेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
