नमुना बस्तीमा समस्याका चाङ

ठूलो परिवार भएकालाई नमुना बस्तीमा बनेका घर अपर्याप्त छन्। मजदुरी गरेर खाने अधिकांश परिवारमा बिहान बेलुका छाक टार्नै समस्या छ। खानेपानीको अभाव छ।

बलेवा– घामपानी छल्ने घर जमिनसँगै भाँसिएपछि धनमाया दर्जीको परिवार पाँच वर्ष अर्कैको घरमा बस्यो। कहिले छिमेकी त कहिले आफन्तको शरणमा उनीहरूका दिन बिते।

२०७२ सालको भूकम्पपछि धनमायासहित १४ परिवार एकैपटक गाउँबाट विस्थापित भए। भूकम्पले हल्लिएको जमिन एकाएक भासिएपछि सबैले गाउँ छाडे। काठेखोला गाउँपालिका–५ बिहुँ काहुलेका धनमायासहित १० परिवारले पाँच वर्षको कष्टपूर्ण दैनिकीपछि आफ्नैमा बस्न पाएका छन्।

सरकारले ‘नमुना बस्ती’ योजना अन्तर्गत एकैनासका १० घर वटा घर बनाइदिएको छ। सबै घरमा औसत पाँच जनाको परिवार बस्छन्। दुई कोठे घर जोडेर बनाइएका छन्। नमुना बस्तीको जग्गा र घरको एकमुष्ट लालपुर्जा छ। पुर्खौली घर भएको ठाउँमा गरीखाने जमिन पहिरोले बगाएको छ।

नयाँ घर बनेको ठाउँमा खुर्सानी रोप्ने जग्गासमेत नहुँदा पीडित परिवार समस्यामा छन्। “न खेती गरेर खाने जमिन छ। न पशु पाल्न गोठ,” धनमायाले भनिन्, “तरकारी त फलाउन सकिन्थ्यो तर, एक टुक्रा जग्गा छैन।” मजदुरी गरेर खाने अधिकांश परिवारमा बिहान बेलुका छाक टार्नै समस्या छ। बस्तीका सबै परिवारमा यो समस्या छ। 

ठूलो परिवार भएकालाई नमुना बस्तीमा बनेका घर अपर्याप्त छन्। दुईकोठे घरमा परिवार अटाउनै कठिन हुने रुपा दर्जीले बताइन्। एउटा कोठामा भान्सा र अर्कोमा खाँदिएर बस्नुपरेको पीडा उनीहरूसँग छ। बालबालिका खेल्ने ठाउँको अभाव छ। नमुना बस्तीमा खानेपानीको अभाव छ।

वर्षायामको पानी व्यवस्थापनका लागि बनाइएको नालीले पानी थेग्दैन। बस्ती वरपर बनाउने भनिएको पदमार्ग र सार्वजनिक सभाहल बनेको छैन। “कोरोना महामारीअघि नाली, पानी, भवन तथा बाटोका लागि ४० लाख रुपैयाँको योजना थियो। तर कामै नभई सकियो”, उपभोक्ता समितिको अध्यक्ष रहेकी धनमायाले भनिन्, “आठ लाख रुपैयाँमा नाली बनाइयो। बाँकी काम गर्न सकिएन। कोरोनापछि बजेट आएन।” 

सबै गाउँमा मोटरबाटो पुगे पनि आफूहरूको बस्तीसम्म नपुगेको उनको गुनासो छ। “ठूलो घर त हामीले मागेकै छैनौँ, सके बनाउँला नसके भएकाले काम चलाउँला,” उनले भनिन्, “कम्तीमा तरकारी रोपेर खाने जमिन मात्रै भए पनि बिहान बेलुका खान पुग्थ्यो।” 

नमुना बस्तीमा रहेको खानेपानी समस्या समाधानका लागि योजना बनाएको गाउँपालिका अध्यक्ष राजु थापाले बताए। बस्तीसम्म सडक पुर्‍याउने काम भइरहेको छ। देशविदेशमा रहेका बिहुँ र बागलुङवासी तथा गाउँपालिकाको सहयोगमा जग्गा खरिद गरेर राष्ट्रिय पुनः निर्माण प्राधिकरणको सहयोगमा घर निर्माणपछि नमुना बस्ती तयार भएको थियो।

बस्ती तयार भए पनि आवश्यक संरचना भने अझै तयार भइसकेका छैनन्।