नेपालगञ्ज म्याराथनलाई एम्सको सदस्यता

गत महिना एम्सबाट नेपालगञ्ज म्याराथनको रूट प्रमाणीकरण भएको थियो।

काठमाडौँ– नेपालगञ्ज म्याराथनले विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस(एम्स)को सदस्यता प्राप्त गरेको छ। 

विश्वका आधिकारिक म्याराथन आयोजकको सर्वोच्च साझा संस्था एम्समा नेपालबाट आवद्ध हुने सम्भवतः नेपालगञ्ज म्याराथन पहिलो हो।

म्याराथन आयोजना एवं स्तरीयतासम्बन्धी आवश्यक कागजातसहित सम्पूर्ण प्रक्रिया पूरा गरेपछि एम्सले सदस्यता दिने निर्णय गरेको नेपालञ्ज म्याराथनका संस्थापक तथा अध्यक्ष टीएस ठकुरीले जानकारी दिए।

सरकार र विद्रोही पक्षबीच बृहत् शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै मंसिरको पहिलो शनिबार हुँदै आएको नेपालगञ्ज म्याराथन यसपटक निर्वाचनका कारण मंसिर २४ गते शनिबार हुने ठकुरीले बताए।

गत महिना एम्सबाट नेपालगञ्ज म्याराथनको रूट प्रमाणीकरण भएको थियो। एम्सले नेपालगञ्ज म्याराथनअन्तर्गत ४२.१९५ किमी, २१.०९७५ किमी, १० किमी र ५ किमी गरी चारवटा दूरीको अलग-अलग प्रमाणपत्र दिएको छ।