सेना र सशस्त्र समूहबीच द्वन्द्व चर्किएपछि थाइल्यान्ड शरण लिन पुगे म्यानमारका हजारौँ नागरिक

सरकारी पक्ष र विद्रोही समूहबीच हिंसा भड्किएपछि बुधबारयता करिब १० हजार म्यानमारका नागरिक छिमेकी मुलुक थाइल्यान्डमा शरण लिन पुगेको बताइएको छ।

म्यानमार (बर्मा)मा सरकारको नेतृत्व गरिरहेको सेना र आदिवासी सशस्त्र समूहबीचका द्वन्द्व चर्किएपछि हजारौँ बर्मेली नागरिक थाइल्यान्ड प्रवेश गरेका छन्। सरकारी पक्ष र विद्रोही समूहबीचको भिडन्तले स्थिति तनावपूर्ण बनेपछि बुधबारयता मात्रै करिब १० हजार म्यानमारका नागरिक छिमेकी मुलुक थाइल्यान्डतर्फ लागेको बीबीसीले जनाएको छ।

म्यानमार सेनाको नियन्त्रणमा रहेको र चिनियाँ क्यासिनो रहेको क्षेत्र स्वोइ केको गाउँका हिंसा भड्किएपछि हजारौँ नागरिक मुलुक छाडेका हुन्। दुई वर्षअघि म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीको निर्वाचित सरकारलाई अपदस्थ गर्दै म्यानमारको सेनाले सरकार हत्याएयता पहिलोपटक यति ठूलो संख्यामा नागरिकले देश छाडेका बताइएको छ। यद्यपि, म्यानमार सेनाले हालैको द्वन्द्वका बारेमा प्रतिक्रिया दिएको छैन।

करेन नेसनल लिबरेसन आर्मी (केएनएलए) र सो समूहको समर्थित लडाकु समूहहरूले सैन्य शिविरहरूमा आक्रमण गरेपछि द्वन्द्व चर्किएको बताइएको छ। स्वी कोक्कोस्थित शिविरको प्रवेशद्वारमा बुधबार भिडन्त हुँदा दुवै पक्षका ८५ जनाको मृत्यु भएको बीबीसी थाईले जनाएको छ।

स्थिति तनावपूर्ण बनेपछि स्थानीयहरू थाइल्यान्डको सीमा क्षेत्र हुँदै भागेका हुन्। थाइल्यान्ड म्यानमार सीमाका माइ सोत र माइ रमात क्षेत्रमा शरणार्थीहरू विद्यालय, गुम्बा र रबर कृषि क्षेत्रमा बसिरहेको र उनीहरूलाई तत्काल मानवीय सहायताको आवश्यक परेको दातृ निकायका कर्मचारीहरूको भनाइ छ।

माइ सोतस्थित एक गुम्बाका बर्मेली स्वयंसेवक के थी त्वेइका अनुसार त्यस गुम्बामा मात्रै ५०० शरणार्थी छन्। उनी भन्छन्, “पहिले यहाँ आएका बर्मेलीलाई चामल, क्यान फिस र चाउचाउ सहयोग गरिएको थियो। हाल यति मात्रै छ, तर पछिसम्मका लागि हामीलाई थप सहयोग आवश्यक पर्छ।”

सेनासँगको द्वन्द्वपछि केएनएलएले सीमा क्षेत्रको प्रमुख एशियाली राजमार्ग मेवाड्डे–क्वोकारेक शुक्रबारदेखि दुई साताका लागि अवरुद्ध पारेको बीबीसीले जनाएको छ।

सेनाले विद्रोही समूहका मानिसलाई पक्राउ गर्ने र उनीहरूलक्षित आक्रमण बढाएसँगै हिंसा चर्किएको बताइएको छ। गत साता मात्रै सेनाले विद्रोही समूहसँग मिलेको भन्दै १५ जना शिक्षकलाई पक्राउ गरेको बीबीसीले जनाएको छ। यसअघि जुलाईमा पनि ३० जना शिक्षक पक्राउ परेका थिए।

सन् २०२१ को फेब्रुअरीमा सेनाले ‘सैन्य कू’मार्फत सत्ता हत्याएसँगै म्यानमारमा आन्तरिक द्वन्द्व चर्किएको हो। सरकार हातमा लिएपछि सेनाले देशको सबै क्षेत्रमा आफ्नो प्रभाव जमाउन नसकेको बीबीसीले उल्लेख गरेको छ। सेनाविरुद्ध विभिन्न विद्रोही समूह सक्रिय बनिरहेका छन्। सेनाविरोधी समूह पिपुल्स डिफेन्स फोर्स (पीडीएफ)सहित वर्षौंदेखि सरकारविरुद्ध संघर्षमा रहेका अन्य आदिवासी सशस्त्र समूहहरूले सेनाविरुद्धको लडाइँ चर्काएका छन्।

म्यानमारमा ‘सैन्य कू’ यता ३२ सय नागरिक मारिएका छन् भने १४ लाखभन्दा बढी सर्वसाधारण विस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार म्यानमारमा हाल कूल जनसंख्याको एक तिहाइ मानिसलाई मानवीय सहायताको खाँचो छ।