संकल्पपत्रमा सुशासन र आर्थिक विकासलाई जोडः कांग्रेस

नेपाली कांग्रेस पार्टीको संकल्पपत्रका मस्यौदा समितिका संयोजक रहेका अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले लक्ष्य तथा आंकडा अध्ययन र विकासका स्थापित सैद्धान्तिक मान्यताका आधारमा तय गरिएको बताए।

काठमाडौँ– आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेसले शनिबार सार्वजनिक गरेको पार्टीको ‘संकल्पपत्र’का मस्यौदाकारहरूले उक्त दस्तावेजले सुशासन र आर्थिक विकासलाई केन्द्रविन्दुमा राखेको दाबी गरेका छन्।

आइतबार सानेपास्थित पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा ‘संकल्पपत्र’को मस्यौदाकार नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्द पोखरेलले देशमा शान्ति प्रक्रिया र संविधानपछि अब सुशासन र आर्थिक विकास आवश्यक रहेको बताए।

“भौतिक विकासले मात्र मानव विकास हुँदैन, यस संकल्पपत्रले सुशासन र आर्थिक विकासलाई त्यस कारण जोड दिइएको हो, मानवीय विकासका लागि, स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि, उद्यम तथा रोजगारी, विज्ञान प्रविधि, एकीकृत सामाजिक सुरक्षा कार्यक्रम, पर्यावरण, पर्यटनजस्ता विषयलाई समेटिएको छ,” डा. पोखरेलले भने, “नेपालको राष्ट्रियताको परिभाषा के हुने? र, परराष्ट्र तथा अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी नीतिहरू के हुनेजस्ता सवालमा नेपालमा पहिलोपटक कुनै राजनीतिक दलको घोषणापत्रले ठोस रूपमा उठाएको छ।”

पर्यटकको संख्या वार्षिक १२ लाखबाट २० लाख पुर्‍याएपछि, बसाइ औसत १३ दिनबाट बढाएर १५ दिन पुर्‍याउन सकेपछि र उनीहरूले गर्ने खर्च प्रतिपर्यटक ४८ डलरबाट सय डलर पुर्‍याएपछि त्यसले आर्थिक वृद्धिमा कस्तो योगदान गर्छजस्ता तथ्यांक लेखाजोखा गरेर तथ्यसंगत र यर्थातपरक रूपमा संकल्पपत्र बनाइएको उनले बताए।

योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका पोखरेलले २०४८ सालमा सलाई, टायल्स र जुत्ता बनाउने कामभन्दा स्वास्थ्य, खानेपानी र सडक पूर्वाधार विकासका लागि राज्यले नीति र योजनाहरू लागू गरेकाले मुलुकले त्यतिबेला विकासमा छलाङ मारेको बताए।

नेपाली कांग्रेसको संकल्पपत्रका मस्यौदा समितिका संयोजक अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले लक्ष्य तथा आंकडा अध्ययन र विकासका स्थापित सैद्धान्तिक मान्यताका आधारमा तय गरिएको बताए।

“हामीले ५ वर्षमा १२ लाख ५० हजार रोजगारी सिर्जना गर्ने भनेका छौँ, कति आर्थिक वृद्धिदर हासिल गरेपछि त्यसको परिणाम रोजागारीमा कस्तो पर्ने भन्ने निर्धारण हुने सैद्धान्तिक आधारमा टेकेर यो भनिएको हो,” डा. वाग्लेले भने, “संकल्पपत्रमा उल्लेखित हरेक कुराका लागि राष्ट्रिय तथ्यांक तथा देश र विदेशका अभ्यासलाई हरेर आधार बनाइएको हो।”

पार्टीको घोषणापत्र निर्वाचनपछि बन्ने उसको सरकारका लागि मुख्य मार्गदर्शक बन्नुपर्ने अभ्यास होस् भनेर पनि यसमा ध्यान राखिएको उनले दाबी गरे।

पत्रकार सम्मेलनमा मस्यौदा समितिमा रहेका शिक्षा क्षेत्रका जानकार डा. कृष्णप्रसाद पौडेल, परराष्ट्र मामिलाका जानकार गेजा शर्मा बाग्ले, स्वास्थ्य क्षेत्रका जानकार प्रताप पौडेललगायतले विषयगत सवालहरूमा प्रकाश पारेका थिए।

कार्यक्रमको अध्यक्षता गरेका पार्टीका सहमहामन्त्री जीवन परियारले जीवन परियारले कांग्रेस सुशासनप्रति प्रतिबद्ध रहेको बताए। उनले नेपाली कांग्रेसले केपी ओलीजस्तो १०० सिट जित्ने खालको कुरा नगर्ने, तर अब आउने संसद्को सबभन्दा ठूलो दल बन्ने दाबी गरे। उनले आगामी सरकारको नेतृत्व पनि कांग्रेसले गर्ने दाबी गर्दै संकल्पपत्र कार्यान्वयनमा विश्वस्त हुन आग्रह गरे।