थोरै खाएर र भुइँमै पातलो बिछ्यौनामा सुतेर पनि जीवन चल्न सक्छ भन्ने तथ्य सो अभ्यास र अनुभवले सिकायो।
हालै लुम्बिनीमा भएको एक बृहत् 'प्रव्रज्या' शिविरमा म बौद्धहरूका बीच थिएँ। प्रव्रज्याको शाब्दिक अर्थ 'अगाडि जाने कर्म' भए पनि प्रव्रज्याका अनेक अर्थ निकाल्न सकिन्छ। संन्यास लिनु, विदेश जानु, देशान्तर हुनु या आफ्नो नियमित स्थानबाट बाहिर कतै लामो समय रहनु प्रव्रज्या हो। तर, प्रव्रज्याकाे अर्थ बुद्ध मार्ग या 'धम्मपथ'को अवलम्बन गर्नु हो, जहाँ उपासना र शील ग्रहणको प्रमुख भूमिका रहन्छ।
थाइल्यान्डबाट लुम्बिनी आएका बौद्ध भिक्षुहरूको अगुवाइमा सो आयोजना भएको थियो, जहाँ सालाखाला पाँच सय नेपाली पुरुष 'कुलपुत्र'का रूपमा 'प्रव्रजित' हुँदै थिए। २१ दिनको सो कठिनतम आत्मसंयम/तपस्या त्यति सहज थिएन। त्यहाँ दिनको २० देखि २१ घण्टा उपवास गर्नुपर्थ्यो। केही कोठा बिरामी र 'विशिष्ट'हरूका लागि थियो। अन्यका लागि सुत्ने कोठा थिएन। हामी सबै एउटा विशाल हलको भुइँमा 'स्लिपिङ ब्याग'भित्र गुटमुटिएर, लाम्खुट्टेको टोकाइ सहँदै सुत्यौँ। त्यसो हुँदा चार या पाँच घण्टाभन्दा बढी सुत्ने वातावरण बन्थेन। थाई भिक्षुहरूको निर्देशनमा बिहान ५ बजेदेखि ध्यान शुरू हुन्थ्यो। त्यो म र सहभागी सबैका लागि एक किसिमको सहनशीलताको परीक्षा पनि थियो।
शहरमा बिलासी जीवन बिताइरहेका हामीजस्ताका लागि त्यो कष्टदायक थियो। कति त प्रव्रज्या बीचमै बिरामी भएर फर्किए, कति कयस खप्न नसकेर फर्किए। केही भने औषधिका भरमा त्यहाँ बसिरहेका थिए। संयोगले म भने त्यस आयोजनाको समापनसम्म स्वस्थ रहेँ र त्यहाँ भएका अनेक कर्मकाण्ड देखेँ। बुद्धका नाममा हुने कतिपय कर्मकाण्डसँग असहमत रहँदारहँदै त्यस अनुभवले मेरो जीवनमा एक खालको रूपान्तरण ल्याएको छ।
थोरै खाएर र भुइँमै पातलो बिछ्यौनामा सुतेर पनि जीवन चल्न सक्छ भन्ने तथ्य सो अभ्यास र अनुभवले मलाई सिकायो। 'न्यूनतावाद' (मिनिमलिज्म)को अभ्यास पहिलेदेखि नै गर्न थालेको भएर होला, मलाई त्यस अनुभवले सादा जीवनप्रतिको मेरो सोचलाई झनै बल दियो। साह्रै सरल जीवन बिताउन सम्भव छ र त्यसरी मान्छे सुखी हुन सक्छ भन्ने मेरो विश्वास त्यो शिविरमा पुनः यकिन भयो, साबित भयो। यहाँनिर प्रस्ट पारौँ, म आस्तिक/धर्म अनुयायी भएर त्यस कार्यक्रममा पुगेको होइन। मेरो बुझाइमा बुद्ध–विचार अनुसरण गर्न आस्तिक हुनुपर्छ भन्ने पनि छैन।
बुद्ध–विचार र शिक्षाप्रतिको जिज्ञासा र खोजले मलाई त्यहाँ पुर्याएको हो। 'प्रज्ञा पारमिता' बुद्ध शिक्षा या ज्ञानको पराकाष्ठा हो, जहाँ शीलहरूको गहनतम चर्चा गरिन्छ, पूर्ण पालना गरिन्छ। प्रज्ञा पारमिता भनेको बुद्धत्व प्राप्ति अर्थात् परिनिर्वाण हो। प्रज्ञा पारमिताको पूर्ण पालन गर्न सके जो कोही पनि बुद्ध बन्न सक्छ भन्ने बुद्ध दर्शनको निचोड हो। प्रज्ञा पारमिता पूर्ण रूपमा पालन गरेपछि मान्छे क्लेशबाट मुक्त हुन्छ, त्यसपछि मान्छेले गल्ती गर्ने छैन भन्ने मान्यता छ बुद्ध दर्शनमा।
प्रज्ञा पारमिता महान् आचारसंहिता हो। चरित्र निर्माणको अद्वितीय मार्ग हो। बुद्धको गहनतम खोजको अन्तिम परिणाम हो।
बौद्धहरूमा एउटा 'धम्म परिपाटी' हुन्छ, जहाँ धम्म कायमा भेला भएका भिक्षुहरूलाई 'भन्ते' शब्दले सम्बोधन गरिन्छ। म पनि केही उपासकहरूबीच त्यहाँ बुद्ध विचारमाथि विचार-विमर्श गरिरहेको थिएँ। एक भन्तेले आफ्ना साथीलाई परिचय गराउँदै भने, 'उहाँ 'कन्भर्ट्' हुनु भएको हो। हिन्दु धर्म छोडेर 'बुद्धिस्ट' बन्नु भएको छ।' मैले अविलम्ब जबाफमा भने, 'भन्तेजी, तपाईं गलत बोल्दै हुनुहुन्छ।' उनले सोधे, 'कसरी?,' मैले भनेँ, 'म पहिले पनि आफूलाई हिन्दु मान्दैनथेँ। त्यसो भएपछि कसरी मलाई तपाईं धर्म परिवर्तन गरेको दाबी गर्न सक्नुहुन्छ?' केही भन्तेहरू मुखामुख गर्न थाले र वार्ता 'समन्वय'मा स्थगित भयो।
सिद्धार्थ बुद्ध महाज्ञानी थिए। उनी तत्कालीन समाजमा स्थापित ब्राह्मण धर्मले उत्पीडित वर्गप्रति गरेको व्यवहारप्रति अति संवेदनशील थिए। जाति प्रथा, जादु–टुना र पशुवलिलगायत कुप्रथाले ग्रस्त समाजमा उदाएका उनी एक विद्रोही थिए।
अति बिलासी/दरबारी जीवन त्यागी अगणित दुःख सहेर उनी सत्यको खोजमा निक्लेका थिए। तत्कालीन धार्मिक दर्शन, विश्वास र परम्पराको बृहत् अध्ययनपश्चात् एक नयाँ विचार र जीवन पद्धतिको अन्वेषणका लागि उनले लुम्बिनीदेखि भारतका अनेकन् धार्मिक स्थलहरू भ्रमण गर्दै तपस्या गरे। त्यस क्रममा उनले अति नै थोरै खाना र पानी खाने गर्थे।
यस बीचमा उनले अनेकौँ धर्म, पन्थ र परम्पराका साधुसन्तसँग शास्त्रार्थ गरे, चिन्तन मनन गरे, तर कुनै निष्कर्षमा पुग्न सकेनन्। धेरै कष्टपछि उनलाई ज्ञान भयो कि खाँदै नखाई र शरीरलाई सुकाएर तपस्या गरेर, काल्पनिक देवताहरूको उपासना, आराधना, यज्ञ-व्रत गरेर केही पनि हासिल गर्न नसकिने रहेछ। ज्ञानको बाटो अलग रहेछ।
उनलाई यसरी बोध गराउने काममा सुजाता नामकी एक किशोरी/युवतीको भूमिका हुन पुग्यो। पोषणको कमीका कारण साह्रै निर्बल अवस्थामा रहेका बखत सुजाताले सिद्धार्थलाई खिर खान दिइन् र सिद्धार्थले आफ्नो तपस्या भंग गरे।
खिर खाएपछि उनलाई अलि सहज भयो र उनी खाएरै ध्यानमा लागे। केही दिनको ध्यानपश्चात् उनमा एकाएक नयाँ सत्यको आविर्भाव या अनुभूति भयो। उनी बुद्ध बने। बुद्ध दर्शनअनुसार बुद्ध हुनु भनेको जागृत हुनु हो। बुद्धले जे प्राप्त गरे, त्यो मानव र जगत् कल्याणका लागि हितकारी थियो।
बुद्धका अहिलेसम्मका अगणित उपदेशमध्ये पञ्चशील मानव समाजलाई सही दिशातिर लैजानका लागि अपरिहार्य छ भन्ने लाग्छ। पञ्चशील सरल छन् र हामीले धेरै पटक सुनेको र पढेको पनि होलाउँ: (१) चोरी नगर्नु (२) हिंसा नगर्नु (३) व्यभिचार नगर्नु (४) झुटो नबोल्नु (५) मादक पदार्थको सेवन नगर्नु।
बुद्ध 'मध्यम मार्ग'का प्रणेतासमेत हुन्। उनी अतिवादको खिलाफ थिए। तत्कालीन ब्राह्मण तथा उपासकहरू भने घोर तपस्या र यज्ञ आदिमा विश्वास गर्थे। उनले ज्ञान प्राप्तिका लागि बिलासी जीवन र अति कठोर आत्मसंयम दुवै अनुपयुक्त हुन् भन्ने बोध गरे।
साझापनका हिमायती उनी धम्म संघभित्र सबैसँग सद्भाव, क्षमा याचना, स्नेह, मित्रतामा जोड दिन्थे। जोकोही पनि उनको संघभित्र प्रवेश गर्न सक्थे। संघभित्र जातिपाती र छुवाछूत आदिको भेदभाव थिएन, जबकि उतिखेरको ब्राह्मण धर्ममा त्यस्ता पर्याप्त अभ्यास गरिन्थे।
लामो समयको दौरान आज बुद्ध दर्शन विभाजित र विघटित भएझैँ लाग्छ। बुद्ध विचारलाई विविध सम्प्रदायमा परिभाषित गर्दै बुद्धमार्गीहरू आजका दिनमा मूल रूपमा तीन धारमा आबद्ध छन्: हीनयान, महायान र बज्रयान। महायान र बज्रयानमा कतिपय हिन्दू संस्कार र पद्धतिको संक्रमण भएको छ। हाम्रै कुरा गर्ने हो भने काठमाडौँ र पाटनका बुद्धमार्गी तन्त्रमन्त्र र झारफुकमा विश्वास गर्छन्। साधनाका नाममा बुद्धलाई पशु बलि र मदिरासमेत चढाइन्छ। बुद्ध धर्मावलम्बीहरू कुमारीको पूजा गर्छन्, महांकाल आदि मन्दिरमा भोगसमेत दिन्छन्। तन्त्रमन्त्रद्वारा बिरामीको उपचार गर्ने भन्दै गुभाजुहरू सर्वसाधारणलाई उल्लु बनाउँछन्।
तिब्बती बौद्धमार्गीहरू दलाई लामालाई बुद्धावतार मान्छन्, जबकि दलाई लामा कुनै बेला राजगद्दीमा आसीन थिए। बुद्धले स्वयंले राजगृह र बिलासी जीवन त्यागेका थिए। तिब्बतका बोन धर्मावलम्बीहरू बुद्ध धर्मभित्र छिरेपछि तिनले आफूसँगका अन्धविश्वास पनि नयाँ भर्सनको 'बुद्धिजम'मा समेटेपछि अनर्थ हुन पुगेको हो।
बर्मा र श्रीलंकाका बौद्ध भिक्षुहरू त्यहाँका अल्पसंख्यक धर्मावलम्बी, खासगरी मुसलमानप्रति असहिष्णु मात्र होइन, आक्रामकसमेत भएका दृष्टान्त छन्। 'बौद्ध राष्ट्र भुटान'का कतिपय नेपाली अल्पसंख्यक त्यहाँको राज्यको जातीय/धार्मिक द्वेषका कारण निर्वासित भएर नेपालमा आई शरणार्थी जीवन बिताएको तथ्य सबैसामु छर्लंग छ।
यसले के प्रमाणित गर्छ भने शान्ति र सहिष्णुताको सन्देश छर्ने बौद्ध दर्शनसमेत अन्य धर्मजस्तै असहिष्णु र हिंस्रक बनेका छन्। कतिपय अवस्थामा तिनले बुद्ध दर्शनलाई राजनीतिक हतियार बनाएका छन्।
बुद्धले आफूलाई कहिल्यै भगवान् भनेनन्, न भनिन या पुजिन नै रुचाए। तर, उनका अनुयायीहरूले उनलाई भगवान् बनाएर पूजा र धुपबत्ति गर्न थाले। बुद्ध स्वयंले मूर्ति पूजाको विरोध गरे, तर खेदको कुरा उनकै शिष्यले उनकै सबैभन्दा बढी मूर्ति र तीर्थस्थल बनाए। समय क्रमसँगै अन्य धर्ममा भएझैँ बौद्ध दर्शनमा पनि बुद्धको मूल शिक्षाको तोडमोड गरियो। बुद्धले नभनेका कुरालाई समेत 'बुद्ध–विचार'का नाममा प्रचार गरियो। आफ्नो जीवनपश्चात् बिस्तारै बुद्ध 'धर्म' र 'कर्म'भित्र थुनिँदै गए। अहिले बुद्ध–विचार संसारका लागि कल्याणकारी हुँदाहुँदै पनि बुद्ध धर्म/दर्शनभित्र पर्याप्त अन्धश्रद्धा र 'राजनीति' घुसिसकेको छ।
बुद्धको उपदेश पालन गर्न कुनै समुदायको पोसाक र सीमाभित्र पस्न जरुरी छैन, न आवश्यक छ माला गन्न या धर्म चक्र घुमाउन। जगतलाई 'कार्य–कारण' सिद्धान्तमा हेर्ने बुद्ध दर्शनको पालन जुनसुकै समुदाय र सम्प्रदायले गर्न सक्छ। नास्तिकले समेत गर्न सक्छन्। किनकि, प्राय: नास्तिकहरू धार्मिक अन्ध परम्परा र रीति रिवाजबाट माथि उठेका हुन्छन्। त्यसमाथि, बुद्ध विचार आफैँमा स्वतन्त्र मार्ग हो। यसलाई सम्प्रदाय, भौगोलिक घेरो, राजनीति, धर्म कर्म, पूजापाठभित्र सीमित गर्ने कुरा उचित छैन।
यसबीच आज पनि केही सच्चा बौद्ध अनुयायी र प्रवर्तकहरू बेलाबेला भेटिन्छन्। अर्थात्, बुद्ध–विचारका बिउ अहिले पनि भेटिन्छन्। त्यसलाई आफूभित्र रोकेर हुर्काउन सके जगतको हित हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
