घुम्न जाने होइन इलामको चिया बगान?

इलामको कन्याम आन्तरिक पर्यटकले सबैभन्दा धेरै फोटो खिच्ने र फोटोबाट चिनिने नेपालका प्रमुख ठाउँमध्ये एउटा हो।

काठमाडौँ– नयाँ बर्ष आउँदै छ, कहाँ घुम्न जाने भनेर चिन्तित हुनुहुन्छ भने इलामको चिया बगान गन्तव्य हुनसक्छ।

काठमाडौँ उपत्यकामा बस्नेका लागि छोटो भ्रमणका लागि थुप्रै ठाउँ छन्। तर, तीन–चार दिन समय छुट्याउन सक्नुहुन्छ भने इलाम उपयुक्त गन्तव्य हो। मध्यपहाडी तथा यातायातको राम्रो सुविधा भएको ठाउँ हो इलाम। इलाम जाने विभिन्न बाटामध्ये सबैभन्दा चल्तीको हो, मेची राजमार्ग।

पूर्वपश्चिम राजमार्गको प्रारम्भ बिन्दु काँकडभिट्टाबाट १२ किमी पश्चिममा रहेको चारआलीमा शुरू भएर ताप्लेजुङसम्म पुग्ने पहाडी राजमार्ग नै मेची राजमार्ग हो। चारआलीबाट ३ घण्टा यात्रामा कन्याम पुग्न सकिन्छ। कन्याम चिया बगानले तपाईँलाई मोहनी लगाउँछ।

कन्याम आन्तरिक पर्यटकले सबैभन्दा धेरै फोटो खिच्ने र फोटोबाट चिनिने नेपालका प्रमुख ठाउँमध्ये एउटा हो। इलामको पुरानो बजार फिक्कल नजिकैको कन्यामबाट इलामसहित तराई र भारतका विभिन्न स्थानको दृश्य मनमोहक देखिन्छ। यहाँबाट देखिने अधिकांश चियाबगान निजी हुन्।

इलाममा चिया र चीज फ्याक्ट्री छन्। बासका लागि यहाँ होटेल र लजहरू छन्। नजिकका गाउँमा होमस्टे पनि छन्। फिक्कलमा छुर्पी, बम्बईसन, ललिपप, घिउ, अकबरेलगायत पर्यटकले चाहेअनुसार स्थानीय उत्पादन पाइन्छन्। तर, इलाम यति मात्र होइन। यहाँबाट माईपोखरी हुँदै सन्दकपुर जान सक्नुहुन्छ।

जमुना, जौबारिको पुरानो व्यापारिक बाटोका अवशेष हेर्न सक्नुहुन्छ। रक्से, राँके हुँदै पाँचथर र ताप्लेजुङ पुग्न सकिन्छ। सूर्योदय अवलोकनमा प्रसिद्ध इलामको अन्तुडाँडा जाने बाटो पनि फिक्कलनजिकै छिपिटारबाट छुट्टिन्छ। त्यहाँबाट १३ किलोमिटर जिप यात्रा गरेर पुगिन्छ, अन्तुडाँडा।

फिक्कलबाट ११ किलोमिटर पूर्वमा पशुपतिनगर छ। नेपाल–भारत नाका रहेको यो बजारलाई इलामको प्रगतिको मूल ढोका पनि मानिन्छ। नेपाली व्यावसायीले गरेको अर्बौं लगानीको प्रतिफलस्वरूप अहिले चिया विश्वका थुप्रै मुलुकमा पुगेको छ। यसबाट अवसर र सम्भावना पनि उसैगरी झाँगिदैछन्।

हरियो चियाको गुणस्तर बढाउन किसान लागिपरेका छन्। नेपालमात्र नभई युरोप, अमेरिकालगायतका दर्जनौं बजारमा खोजी–खोजी बिक्री हुने कृषि उपज तयार गर्न यहाँका किसान र उद्योगीले गरेका संघर्ष धेरैका लागि अनुकरणीय बन्न सक्छ। र, यो वास्तविकता प्रत्यक्ष हेर्न इलाम पुग्नै पर्छ।


तस्वीर: नेपाल फोटो लाइब्रेरी