व्यक्तिगत चाहना त्यागेर देशका लागि काम गरौँ : सभामुख घिमिरे

वर्तमान प्रणाली र प्रणालीलाई नेतृत्व गरिरहेका नेताहरू कुर्सीका लागि होडबाजी मात्रै गरेका हुन् की भन्ने प्रश्न खडा हुन थालेको सभामुख घिमिरेको भनाइ छ।

काठमाडौँ– सभामुख देवराज घिमिरेले समाजको आर्थिक र सामाजिक विकास आवश्यक रहेको बताएका छन्।

शनिबार काठमाडौँमा लायन्स क्लबको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले आर्थिक र सामाजिक विकास गर्नुपर्ने दायित्व पूरा गर्न आवश्यक रहेको बताएका हुन्।

समाजले वर्तमान प्रणाली र प्रणालीको नेतृत्व गरिरहेका नेताहरू कुर्सीका लागि होडबाजी गरिरहेको प्रश्न उठाइरहेका बेला लायन्स क्लबले गरेका कामबाट सिक्नुपर्ने उनले बताए। आफ्नो व्यक्तिगत चाहनालाई त्यागेर देशको आवश्यकतालाई मध्यनजर गरी अघि बढ्न जरुरी रहेको सभामुख घिमिरेको भनाइ छ।

“अहिले हामी ठूलो राजनीतिक परिवर्तन गरेर आर्थिक र सामाजिक विकासको महत्त्वपूर्ण घडीमा आइपुगेका छौँ। यसक्रममा अनेकौँ चुनौतीको सामना गरिरहेका छौँ,” सभामुख घिमिरेले भने, “हाम्रो प्रणाली र प्रणालीलाई नेतृत्व गरिरहेका नेताहरू कुर्सीका लागि होडबाजी मात्रै गरेका हुन् की भन्ने प्रश्न खडा हुन थालेको छ। सबैले सोच्ने बेला आएको छ।”

लायन्स क्लबले शिक्षा, स्वास्थ्य, प्राकृतिक सौन्दर्यता खोज्ने कुरामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए।