मुकुन्द न्यौपानेले त्यागे एकीकृत समाजवादी, एमालेमा फर्किने

न्यौपानेले एकीकृत समाजवादीले परिचय दिए पनि पहिचान दिन नसकेको आरोप लगाएका छन्।

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपानेले औपचारिक रूपमा पार्टी परित्याग गरेको घोषणा गरेका छन्। शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले नेकपा एकीकृत समाजवादीले परिचय दिए पनि पहिचान दिन नसकेको आरोप लगाउँदै पार्टी त्यागेको घोषणा गरेका हुन्।

एकीकृत समाजवादीमा तेस्रो वरीयतामा रहेका न्यौपाने पूर्वपार्टी नेकपा एमालेसँग मिलेर जानुपर्ने मत राखेका थिए। ‘एक देश एक कम्युनिस्ट पार्टी आजको आवश्यकता रहेको’ भन्दै त्यसका लागि एमालेसँग एकता गर्न एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमै ३३ बुँदे फरक मत पेस गरेका थिए। त्यसपछि उनलाई पार्टीले स्पष्टीकरण सोधेको थियो। उनले आफूले राखेको फरक मतका विषयमा हालसम्म छलफल नभएको बताए।

यो पनि : नेकपा एसलाई जनताले पत्याएनन्, अब मिल्ने एमालेसँगै हो : मुकुन्द न्यौपाने

उनले पत्रकार सम्मेलनमा भविष्य नभएको पार्टीको सदस्य हुनुभन्दा सम्मानित नागरिक भएर जिउनु जीवनका लागि महत्त्वपूर्ण कुरा हो भन्ने सोचेर आफूले एकीकृत समाजवादी पार्टी परित्याग गरेको बताए। उनले आफू अब नेकपा एमालेमा नै फर्किने बताउँदै देशभरका नेता कार्यकर्ताहरू समेटेर एमालेमा समाहित हुने तयारीमा रहेको सुनाए।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसमेत सम्मानित पद दिए एमालेमा नै फर्किने मनस्थितिमा रहेको उनको दाबी थियो।

उनले सांसदका लागि झगडा गर्ने, सांसद पाउनासाथ मन्त्री पाउन लफडा गर्ने, जति खाए पनि नअघाउने, जति भरे पनि नभरिने मानिसहरू मात्रै माधवकुमार नेपाल नेतृत्वको पार्टीमा रहेको दाबी गरे। “विचार र दर्शनको धारलाई भुत्ते पारेर परिवर्तनको द्वन्द्वात्मक भौतिकवादी दर्शनको धारबाट अलग भई वस्तुगत परिस्थितिको ठोस विश्लेषण नगरी मार्क्सवादका दुई/चार शब्द निकालेर अवसरवादीमा आधारित भयो,” उनले भने।

नेता न्यौपानेले सांसद भएकाहरूलाई नौ/नौ महिनामा मन्त्री दिने भनेर आश्वासन दिएको भन्दै वर्तमान गठबन्धन पाँच वर्ष नजाने टिप्पणी गरे।