एमालेमा गुटबन्दी छैन, सब एकजुट छन् : ओली

अध्यक्ष ओलीले एमाले मुलुकमा अरू पार्टीभन्दा बढी बलियो, व्यापक र अग्लो रहेको बताएका छन्।

काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी मुलुकको प्रमुख शक्तिका रूपमा रहेको दाबी गरेका छन्।

पार्टीनिकट अखिल नेपाल महिला संघको शनिबार काठमाडौँमा शुरू भएको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले एमाले मुलुकमा अरू पार्टीभन्दा बढी बलियो, व्यापक र अग्लो रहेको बताएका हुन्।

उनले एमालेलाई समाप्त पार्न दुनियाँका सबै शक्तिहरू लागे पनि त्यसलाई जोगाएर पार्टीलाई सशक्त बनाउन योगदान दिएको भन्दै अखिल नेपाल महिलासँगलाई धन्यवाद पनि दिए। पार्टीमा आबद्ध महिलाको निष्ठाकै कारण एमाले अहिले पनि बलियो शक्तिको रूपमा रहन सकेको ओलीको भनाइ थियो।

अध्यक्ष ओलीले अनेमसंघले आफ्नो संगठनकी पूर्वअध्यक्ष विद्या भण्डारीलाई नेपालको पहिलो महिला राष्ट्रपति बनाएर मुलुककै लागि गर्व गर्न लायक काम गरेको पनि दोहोर्‍याए। त्यस अवसरमा उनले पार्टीभित्र गुटबन्दी नगर्न पनि निर्देशन दिए। एमालेभित्र अहिले कुनै पनि गुटबन्दी नभएको भन्दै अध्यक्ष ओलीले निहित स्वार्थका लागि गुट बनाउने काम नगर्न सचेत गराए।

“आजको एमालेभित्र कुनै पनि किसिमको गुटबन्दी छैन। त्यहाँ प्रतिपक्ष छैन। सब एकजुट छ। स्वार्थका लागि कसैले यस्तोउस्तो नभन्नुस्,” उनले भने। उनले पार्टीभित्र योग्यता, क्षमता र काम गरेर जिम्मेवारी दिइने पनि स्पष्ट पारे। उनले अखिल नेपाल महिला संघले पनि ‘समृद्ध नेपाल: सुखी नेपाली’ बनाउने पार्टीको उद्देश्य प्राप्त हुने गरी आफ्नो संगठनलाई चलायमान बनाउनुपर्ने बताए।