डा. स्वर्णिम वाग्लेले राजनीतिलाई सङ्ग्लो बनाउँदै लगेपछि सामाजिक, आर्थिक, पर्यावरण, भौतिक पूर्वाधारका क्षेत्रमा चाहेजस्तो प्रगति गर्न सकिने बताएका छन्।
काठमाडौँ– आगामी वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट तनहुँ–१ मा उम्मेदवार रहेका डा. स्वर्णिम वाग्लेले कसैलाई गाली नगर्ने सुसंस्कृत राजनीतिको बीजारोपण गर्नुपर्ने बताएका छन्। तनहुँको आबुखैरेनी आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले आफूमाथि किस्ताकिस्तामा उठाएका सवालको जवाफ गर्ने अहिले फुर्सद नभएको बताए। “साथीहरूले जवाफ दिनुपर्यो इत्यादि भन्दै गर्दा मैले भन्ने गरेको छु– यो किस्ता–किस्ताका सवाल जवाफमा अल्झने मेरो फुर्सद छैन। छोटो समयमा नेपाललाई बनाएर एउटा बिन्दुमा पुर्याउनु छ” उनले भने। उनले आफूमाथि उठेका सवालहरूको पछि एकमुस्ट रूपमा जवाफ दिने बताए।
राजनीति नै फोहोर भएपछि सबै कुराहरू ठप्प हुने, अड्किने उनको भनाइ छ। उनले राजनीतिलाई सङ्ग्लो बनाउँदै लगेपछि सामाजिक, आर्थिक, पर्यावरण, भौतिक पूर्वाधारका क्षेत्रमा चाहेजस्तो प्रगति गर्न सकिने सुनाए। उनले आफू आबद्ध पार्टीले नियुक्ति हुँदा हुने लेनदेन, भ्रष्टाचार, नीतिगत पहलमा हुने सेटिङका विरुद्धमा आवाज उठाइरहेको उल्लेख गरे।
“चेक एन्ड ब्यालेन्स गर्नुपर्ने हाम्रा लोकतन्त्रका धरोहरहरू, लोकतन्त्रका सार्वजनिक खम्बाहरू सार्वजनिक संस्थाहरू भ्रष्ट नेताहरूको कब्जामा गएका छन्। त्यसलाई तोड्न दृढ निश्चयका साथ अगाडि बढेकाले अबको दुई हप्तापछि ठूलो रमिता देख्नुहुने छ। ठूलो चर्तिकला देख्नुहुन्छ,” उनले भने।
उनले 'स्वर्णिम वाग्लेलाई कुनै पनि हालतमा जित्न दिनुहुँदैन' भनेर 'ग्रान्ड डिजाइन' बनाइएको उल्लेख गर्दै आफू यस्ता विषयबाट चिन्तित नबनेको बताए। उनले आफूलाई मतदाताले भारी मतान्तरले जिताउनेमा विश्वस्त रहेको बताए।
“आज मलाई परास्त गर्न खोज्ने, रवि लामिछानेलाई निरुत्साहित पार्न खोज्ने, राष्ट्रिय स्वतन्त्र पार्टीलाई उठ्नै नदिन षड्यन्त्रको सपना देखेर बसेका मानिसहरू शिर निहुराएर हामीसँग आँखा जुधाउन नसक्ने अवस्थामा पुग्ने छन्,” उनले भने।
उनले राजनीति र अर्थतन्त्रलाई उकास्न र मतदाताले उठाएका अजेन्डाहरूमा घनिभूत काम गर्न आफ्नो निर्वाचन क्षेत्रका पाँच वटै पालिकामा कार्यालय स्थापना गर्ने उद्घोष गरे। उनले मतदातासामु नमुना सांसदले कसरी काम गर्छ भनेर देखाउने वाचा गरे। टुरिस्ट उम्मेदवार संज्ञा दिनेलाई उनले संविधानले नेपाली नागरिकलाई देशभित्रका जुन सुकै निर्वाचन क्षेत्रमा उम्मेदवार बन्ने हक दिएको जवाफ दिए।
उनले कार्यक्रम टुङ्ग्याउँदै गर्दा भने, “जनताले एक स्वरमा स्वर्णिम वाग्ले अर्को पाँच वर्ष तनहुँ–१ को सांसद हुने छ। निर्णय सुनाइदिनुहोस्।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
