साईले अमेरिकी सभामुखलाई भेटेपछि चीनले गर्‍यो ताइवानलाई घेरा हाल्दै सैन्य अभ्यास

अमेरिका नजान र त्यहाँ कुनै पनि नेतालाई नभेट्न चीनले दिएको धम्कीका बावजुद ताइवानी राष्ट्रपति साईले अमेरिकी सभामुख म्याकर्थीसहित केही नेताहरूसँग भेटवार्ता गरेकी थिइन्।

चीनले ताइवानी सीमामा तीनदिने (८ देखि १० अप्रिल) सैन्य अभ्यास गरिरहेको छ। ताइवानी राष्ट्रपति साई इङ वेनको अमेरिका भ्रमणपछि आक्रोशित बनेको चीनले ताइवान सीमा क्षेत्रमा सैन्य अभ्यास गरिरहेको हो।

शनिबारदेखि शुरू भएको ‘जोइन्ट सोर्ड’ नाम दिइएको सैन्य अभ्यास सोमबारसम्म चल्नेछ। चिनियाँ सेना (पीएलए) ले ताइवानलाई चारैतिरबाट घेरा हालेर गस्ती र सैन्य अभ्यास गरिरहेको चिनियाँ पत्रिका ग्लोबल टाइम्सले जनाएको छ।

दक्षिण अमेरिकी मुलुकहरूको १० दिने भ्रमणमा जाँदा ताइवानी राष्ट्रपति साईले अमेरिकामा भएको विमान ‘ट्रान्जिट’का क्रममा अमेरिकी सभामुख केभिन म्याकर्थीलाई भेटेकी थिइन्।

अमेरिका नजान र त्यहाँ कुनै पनि नेतालाई नभेट्न चीनले दिएको धम्कीका बावजुद साईले अमेरिकी सभामुख म्याकर्थीसहित केही नेताहरूलाई भेटेकी थिइन्। साईले अमेरिकी नेताहरूसँगको भेटको कडा प्रतिक्रिया दिने चेतावनी दिएको चीनले सैन्य अभ्यास थालेको हो।

“ताइवान टापुको उत्तरी, दक्षिणी र पूर्वी क्षेत्रमा सामुद्रिक र हवाई अभ्यास थालिएको छ,” चिनियाँ सेनाका पूर्वी क्षेत्रीय कमान्डका प्रवक्ता कर्नेल शी यीद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ, “ताइवानको स्वतन्त्रता पक्षधरहरू र विदेशी शक्तिसँग उनीहरूको साँठगाँठलाई चेतावनी दिन गरिएको यो सैन्य अभ्यास राष्ट्रिय सुरक्षा र भौगोलिक अखण्डताका लागि आवश्यक छ।”

यता, ताइवानी राष्ट्रपति साईले चिनियाँ हस्तक्षेपलाई “निरन्तरको निरंकुशता र बिस्तारवाद” को संज्ञा दिँदै अमेरिका सहितका मित्रराष्ट्रहरूसँग सहयोगका लागि अपिल गरेकी छिन्।

चीनले ताइवानी राष्ट्रपति साई र अमेरिकी सभामुख म्याकर्थीको भेटलाई बहाना बनाउँदै यस क्षेत्रको शान्ति, स्थायित्व र सुरक्षामा खलल पुर्‍याएको ताइपेईका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

सैन्य अभ्यासको दोस्रो दिन आइतबार चिनियाँ सेनाका ७१ वटा हवाईजहाज र ९ वटा पानीजहाज ताइवानी क्षेत्रमा प्रवेश गरेको ताइवानको रक्षा मन्त्रालयको भनाइ छ।

यता, चिनियाँ सैन्य विज्ञ एवं टिभी कमेन्टेटर सङ झोङपिङले “ताइवानी क्षेत्रीय नेता साई इङ वेन र अमेरिकी सभामुखबीचको भेटको विरोध र अन्य प्रतिबन्धहरूको विरोधमा चीनले शक्तिशाली प्रतिक्रिया दिएको” ग्लोबल टाइम्ससँगको कुराकानीमा भनेका छन्।

“साई र म्याकर्थीबीचको अति उत्तेजक बैठकप्रति पीएलएबाट अपेक्षित प्रतिकार आएको छ,” सङ भन्छन्, “ताइवानमा सबै विदेशी हस्तक्षेपकारी शक्तिको प्रवेशमा रोक र ताइवानी सेना टापुबाट भागेर जान सम्भव नहुने तरिकाले चारै दिशाबाट घेरा हालिनेछ। यसरी ताइवानलाई प्रभावकारी ढंगले अवरोध गर्न र एक्लाउन सकिनेछ।”

यस लकडाउनले वैदेशिक शक्तिहरू ताइवानमा प्रवेश गर्न हिचकिचाउने उनको भनाइ छ। साथै, हतियार बिसाएर शान्तिपूर्ण ढंगले समस्याको समाधान गर्नुपर्ने विज्ञ सङको सुझाव छ। यसैबीच, ताइवानमा सैन्य अभ्यास नगर्न र आफूलाई सम्हाल्न अमेरिकाले चीनलाई आग्रह गरेको छ।