तपाईंको स्वतन्त्रताका बारेमा बिरलै सोच्ने लोग्नेलाई तपाईं सिलौटामा अचार पिसेर खुवाउनुहुन्छ भने त्यो सिलौटामा तपाईंको आत्मसम्मान र स्वतन्त्रता पिसिने गरेको छ।
कहिलेकाहीँ मलाई अट्टहास हाँस्न मन लाग्छ, अनि हाँस्दाहाँस्दै चिच्याएर मनका सारा पीडा हल्का नभएसम्म रुन मन लाग्छ। कोही मन मिल्ने साथी (चाहे महिला होस् या पुरुष)सँग मन शान्त नभएसम्म अँगालोमा बाँधिएर मनभरिका बह पोखुँझैँ लाग्छ। अनि मनले भन्छ, 'यार, तिमी त कसैकी छोरी, बुहारी, श्रीमती र भाउजू हौ। कसैको 'इज्जत, मान, प्रतिष्ठा' हौ। तिमीले कहाँ त्यसो गर्न मिल्छ? समाज र आफन्तले के भन्ला?'
फेरि अर्को मनले भन्छ, 'के मान, प्रतिष्ठा, इज्जतको ठेक्का छोरी, बुहारी, भाउजू, काकी र आमाहरूले मात्र लिएका छन् र?' यस्तै अनेकन् तर्कन गर्दै तरकारी केलाउँदै थिएँ, कुकरको सिट्ठीले झल्याँस्सझैँ भएँ। फेरि जब आफ्नो सुसे धन्दामा लागेँ, तब अर्को एउटा घटना याद आयो।
तीन महिनाअघि स्वास्थ्य उपचारका निम्ति राजधानी गएकी थिएँ। आफ्नै उपचार त छँदै थियो, त्यहाँ हुँदा नै भाइलाई अचानक पेट दुखेर राति अस्पतालको आकस्मिक कक्षमा लैजानुपर्यो। भाइको स्वास्थ्य परीक्षणका क्रममा नै मेरो ध्यान अर्को घटनाले खिच्यो। आकस्मिक कक्षमा एक गर्भवती महिलालाई ल्याइएको थियो, जसको टाउको रगताम्मे थियो। हामी त्यहाँ पुगेलगत्तै दुई महिलाले ती गर्भवतीलाई डोर्याउँदै त्यस कक्षमा ल्याएका थिए। उनका कपडामा रगतका टाटहरू देखिन्थ्यो। उनको बढ्दो पेट हर्दा त्यस्तै ८–९ महिनाकी गर्भवती हुन् भनेर अनुमान गर्न सकिन्थ्यो। उनी आँसु बगाउँदै आफ्नो पेट सुमसुम्याउँदै थिइन्।
नर्स र डाक्टरहरू पालैपालै आएर उनको अवस्थाबारे बुझ्न खोज्दै थिए। मलाई त्यो दृश्यले नराम्ररी चिमोटेको थियो। तिनलाई के भएको होला भनेर जान्ने कौतुहलता जाग्यो। घाइतेसँगै आएका दुईमध्ये एक महिलासँग घाइतेबारे सोध्न भ्याएँ। दुवै महिला बिरामीका नजिकका आफन्त होइन रहेछन्। मसँग कुरा गर्ने महिला घर बहालमा बस्ने छिमेकी र अर्की महिलाचाहिँ घरबेटी रहिछन्।
श्रीमान्ले रक्सी पिएर बियरको बोतल महिलाको टाउकोमा फुटाइदिएका रहेछन्। महिलाको अन्तर्जातीय भागी विवाह भएको रहेछ। दुवैको परिवारले अहिलेसम्म उनीहरूको सम्बन्ध स्विकारेका रहेनछन्, जसका कारण उनीहरूसँग दुवैको आफन्तसँग सम्पर्क टुटेको बुझियो।
मैले ती महिलालाई सोधेँ, 'अनि यिनलाई घाइते बनाउने लोग्नेचाहिँ कहाँ छन् त?' उनले भनिन्, 'एक्कासि चिच्याएको आवाज आयो। गएर हेर्दा त कोठाभरि बियरको बोतलको टुक्रा छरिएर टाउकोबाट रगत आइरहेको थियो। लोग्ने त रक्सीले मातेर खुट्टा टेक्न सक्न अवस्थामा समेत छैन। त्यसलाई श्रीमतीलाई जँचाउन अस्पताल लैजाऊ भनेको, उसले त मरे मरोस् पो भन्छ। अनि हामीले उपचार गर्न यहाँ ल्याएका।'
यस्तो अवस्थाको गर्भवतीलाई हत्तपत्त जुनसुकै एन्टिबायोटिक चलाउन नहुने हुँदो रहेछ। सर्जरी र टाँका लगाउँदासमेत दुखाइ कम गर्न 'एनेस्थेसिया' दिन नमिल्ने रहेछ। उता, नर्सहरू टाउको काटिएको भाग वरपरको कपाल काट्दै र घाउ सफा गर्दै थिए। एनेस्थेसियाबेगर टाँका लगाउनु पर्ने अवस्था सम्झेर मेरो टाउको झननन भयो।
ती महिला उमेरमा मभन्दा पनि सानै देखिन्थिन्। उनले भोग्ने शारीरिक पीडा त छँदै थियो, उनको मनको पीडा अनुहारमा समेत देख्न सकिन्थ्यो। 'टिङ्चर आयोडिन'को गन्ध फैलिरहेको कक्षमा असहाय उनले कोही आफ्ना खोजिरहेझैँ देखिन्थ्यो। मनको पीडा बिसाउने ठाउँ चाहिरहेझैँ देखिन्थ्यो। पेट दुखेर फत्रक्फत्रक परेर अस्पताल ल्याएको मेरो भाइसमेत ती महिलाको अवस्था देखेर एकोहोरो भइरहेको थियो।
यो एउटा उदाहरण हो।
मेरो एउटा छिमेकी भाउजू हुनुन्थ्यो। श्रीमान्ले वास्तै नगर्ने। पैसा नकमाउने होइन तर कमाएको पैसा बाहिरै सिद्ध्याउने। परिवारप्रतिको जिम्मेवारी निर्वाह नगर्ने। दिनरात जुवातास खेल्ने, दैनिक रक्सीले मातेर घर आउने। भाउजू आफ्नो पीडा मलाई सुनाउनुहुन्थ्यो र रुनुहुन्थ्यो। त्यतिखेर म १५/१६ वर्षकी थिए। यस्तो कष्ट सहेर भाउजू किन बसेकी होलिन्, दाइकै कारण भाउजू नाता लाग्ने भए पनि दाइलाई छोडेर तिनी अन्तै गए पनि हुन्थ्यो जस्तो लाग्थ्यो।
पछि जति उमेर बढ्दै गयो, थाहा पाउँदै गएँ, यस समाजका महिला कुरीति र कुसंस्कारको सांलोमा कति जकडिएका छन्। घरको तथाकथित इज्जतका लागि एउटी महिलाले आफ्ना कति इच्छा र सपनाको बलि दिएका रहेछन् भन्ने तथ्य बिस्तारै पर्गेल्दै गएँ। आफ्नो मजा, रहर र स्वाभिमानलाई आफ्नै पैतालाले कुल्चिएर अरूको खुशीका लागि बाच्नुपर्ने रहेछ धेरै महिलाले।
अर्की एक जना बहिनी छिन्।
उसको लोग्ने आफू काम नगर्ने अनि स्वास्नीलाई पनि बाहिर काम गर्न नदिने। पछि तिनको बच्चा भयो र हुर्कियो। अब पढाउन–लेखाउन पर्यो। परिवारमा खर्च बढ्ने भयो। लोग्नेले नचाहँदा–नचाहँदै नजिकै कुनै निजी कार्यालयमा काम गर्न शुरू गरिन्। आज उनी आफ्नै कमाइले सन्तान पढाउँछिन्। दैहिक रूपमा समेत सुन्दर उनी पढाइमा अब्बल छिन्। लोग्नेसँगको सम्बन्धमा समेत इमानदार छिन्, तर कैयौँ राम्रा जागिरका अवसर लोग्नेकै कारण त्यागेकी छिन्। लोग्नेले उनका लागि एउटा समय तालिका तोकिदिएको छ: यति बजेसम्म घर आइपुग्ने, यति बजे यहाँ जाने आदि इत्यादि।
यो युगको एउटा सक्षम कामकाजी महिलाको हविगत यस्तो छ। लोग्नेको नजरबन्दमा छिन् उनी।
त्यो नियम उनलाई लागू हुन्छ, लोग्नेलाई होइन। ऊ त फुकाफाल छ।
यस्ता नारकीय जीवन जिउने महिला अहिले पनि धेरै छन्। मानसिक र शारीरिक कष्ट झेल्न बाध्य महिला थुप्रै भेटेको छु। पुरुषका यस्ता कथा बिरलै सुनिन्छन्।
सहनु आफैँमा अपराध हो।
सहने कुराले महिलाको मानसिकतालाई झनै कमजोर बनाउँछ। त्यसैले अब महिलाले आफ्नो सीमा र परिधि आफैँ बनाउनुपर्छ।
जीवन एकचोटि आउँछ। तपाईंको स्वतन्त्रता र आत्मसम्मानका बारेमा बिरलै सोच्ने लोग्नेलाई सिलौटामा अचार पिसेर तपाईं खुवाउनुहुन्छ, तर यस्तो लाग्छ, त्यो सिलौटामा समेत तपाईंको आत्मसम्मान र स्वतन्त्रता पिसिने गरेको छ।
एकचोटि सोच्नुहोस् त, विवाहअघि भान्सामा छिर्न अल्छ्याइँ गर्ने तपाईं विवाहपछि कति सहजै उसका लागि खाना पकाउने, भाडा माझ्ने र लुगा धुने कामसमेत यति बफादारीका साथ गरिरहनु भएको छ? त्यसलाई तपाईंले विद्यालयमा पढ्नुपर्ने एउटा अनिवार्य विषयझैँ बनाई सक्नु भएको छ। तपाईंले आफ्नो सम्बन्ध बलियो बनाउन जति मिहिनेत र ऊर्जा खर्चनु भएको छ, त्यति नै तपाईंको पार्टनरले समेत प्रयत्न गर्नुभएको छ त?
त्यसो हो भने आफैँलाई प्रश्न गर्नुहोस्, 'त्यसो हो भने यति बिघ्न एकोहोरो खटन केका लागि?' यो गुलामीको संकेत होइन? यो असन्तुलित सम्बन्ध दासताको द्योतक होइन?
महिलाले खाना बनाउनै हुन्न, लुगा धुनै हुन्न र भाँडा माझ्नै हुन्न भन्ने मेरो आशय होइन। तर आफ्नो समर्पण र कर्तव्य निर्वाहका क्रममा आफूले कहिल्यै नगरेका काम तपाईँं गर्नुहुन्छ भने सहयात्रीले पनि केही प्रयास गर्नुपर्दैन? सबै कुरा 'टेक फर ग्रान्टेड' हुन्छ? उनीहरूचाहिँ तपाईंको प्रयासमा साथ दिन आउँदैनन् भने तपाईं किन घोटिनुहुन्छ? किन प्रश्न उठाउनुहुन्न?
अतः आफ्नो परिधि फराकिलो बनाउनुहोस्। स्वतन्त्रता हर कोहीलाई मन पर्छ। स्वतन्त्र हुनुहोस्। यहाँ स्वतन्त्रताको अनर्थ नलगाइयोस्। जे पनि बोल्न र जे पनि गर्नुलाई स्वतन्त्रता भन्न खोजिएको होइन।
आफ्नो 'पार्टनर'सँग रेस्टुरेन्ट जाँदा टेबलमा तपाईंको रोजाइको खाना आउँछ भने त्यो हो तपाईंको स्वतन्त्रता। आफूले आवश्यक ठानेको विषयमा निर्धक्क बोल्न पाउनुहुन्छ भने त्यो हो स्वतन्त्रता। आफूले चाहेको ठाउँमा जान पाउनुहुन्छ भने त्यो हो स्वतन्त्रता।
ख्याल राख्नुस्, जबसम्म तपाईं आफ्ना लागि बोल्नुहुन्न, तबसम्म कसैले तपाईंका लागि कसैले बोलिदिँदैन। उत्तर कोरियाका किम जोङ उनजस्ता तानाशाहको चंगुलबाट भागेर आउने धेरै कोरियालीहरूका कहानी हामीले इन्टरनेटमा पढेका र सुनेका छौँ। त्यस्ता 'बाघ'को मुखमा पुगेकाहरू त हार खाएका छैनन् भने समाजले बनाएका यी माखेसाङ्ला महिलाले किन नतोड्ने? युगौँदेखिको भाले सत्ताले कोरेका तमाम खालका परिधिहरू मेटेर महिला स्वाभिमानपूर्वक बाँच्नुपर्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
