सांसदहरू भन्छन्– संसदीय समितिको सभापति सक्रिय र ऊर्जाशील व्यक्तिलाई बनाउनुपर्छ

सांसदहरूले समिति सभापतिमा योग्य, दक्ष र नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने मान्छेलाई चयन गर्नुपर्नेमा जोड दिएका छन्।

काठमाडौँ– सांसदहरूले संसदीय समितिहरूको सभापतिमा दक्ष र योग्य व्यक्तिलाई चयन गर्नुपर्नेमा जोड दिएका छन्। प्रतिनिधिसभा नियमावली प्रतिनिधिसभाबाट पारित भएसँगै संघीय संसद् सचिवालय संसदीय समिति गठनको प्रक्रियामा अगाडि बढेको छ।

यससँगै समिति सभापति कुन दलले कति समिति पाउने र क–कसलाई सभापति बनाउने भन्नेतर्फ दलहरू र सांसदहरूको ध्यान खिचिएको छ। सांसदहरूले समिति सभापतिमा योग्य, दक्ष र नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने मान्छेलाई चयन गर्नुपर्नेमा जोड दिएका छन् भने महिला सांसदहरूले आधा समितिको नेतृत्व महिलालाई गर्न दिनुपर्ने आवाज उठाएका छन्।

नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले प्रभावकारी काम गर्न सक्ने र समितिलाई गतिशील बनाउन सक्ने मान्छे समिति सभापति बन्नुपर्ने बताए। विगतमा राजनीतिक जिम्मेवारी नपाएकाहरूलाई समिति सभापति बनाऊँ भन्ने दलहरूको धारणा हुँदा समिति निष्प्रभाव भएको उनको तर्क छ।

“यो पटक सदनलाई प्रभावकारी बनाउने हो भने समितिका जिम्मेवारीहरू पनि क्षमता भएका व्यक्तिहरूलाई बनाउँदा राम्रो हुन्छ,” उनले भने। सांसद पौडेलले तीन वटा समितिको सभापतिमा माओवादी केन्द्रको दाबी रहेको पनि बताए।

त्यस्तै, माओवादी केन्द्रकै सांसद लेखनाथ दाहालले राजनीतिक दलहरूका बीचमा सहमतिमा सभापति चयन गर्ने कुरालाई प्राथमिकतामा राखेको बताए। सहमति हुँदा माओवादी केन्द्रले कम संख्यामा सभापति स्वीकार गर्ने तर निर्वाचन प्रक्रियामा सभापति चयन गर्ने अवस्थामा धेरै संख्यामा दाबी रहने उनको भनाइ छ।

उनले समिति सभापतिमा सक्रिय र ऊर्जाशील व्यक्ति चाहिने बताए। “हाम्रो मान्यता सिनियर छ भने सम्मान गर्ने। कनिष्ठलाई काम दिने। यो प्रक्रिया पनि हामीले नयाँ ढंगले सोच्नुपर्‍यो। जो योग्य छ, दक्ष छ, तर जुनियर छ भने उसलाई काम दिने। काम गर्न सक्नेलाई कार्यकारी भूमिका दिने,” उनले भने।

नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले समितिलाई व्यवस्थित ढंगले सञ्चालन गर्न सक्ने व्यक्ति सभापति बन्नुपर्ने बताए। उनले योग्य र दक्ष व्यक्तिको चयन गर्नुपर्नेमा जोड दिए। अन्य राजनीतिक दलमा समिति सभापति चलाउने योग्यता र दक्षता भएकाहरू निकै कम भएको भन्दै उनले पाँचदेखि सात वटा समिति सभापतिमा एमालेको दाबी रहेको बताए।

“प्रतिपक्ष भएको हुनाले सरकारलाई ट्र्याकमा ल्याउनका निम्ति समितिको अत्यन्तै महत्त्वपूर्ण भूमिका हुन्छ। र सदनलाई सञ्चालन गर्न पनि हरेक बैठकलाई व्यवस्थित गर्नका निम्ति आवश्यक पर्ने भएको हुनाले योग्यता, क्षमता भएका मान्छेहरू हामीसँग धेरै छन्,” उनले भने।

नेपाली कांग्रेसका सांसद श्याम घिमिरेले संसदीय अभ्यास बुझेका र अध्ययनशील व्यक्तिलाई समिति सभापति छनोट गर्नुपर्ने बताए। कांग्रेसले पाँच वटाभन्दा बढी समिति सभापति पाउनुपर्ने माग गरेको उनको भनाइ छ।

यता, समिति सभापति चयन गर्दा महिलाहरूको समान प्रतिनिधित्वको आवाज पनि महिला सांसदहरूले उठाइरहेका छन्। नेपाली कांग्रेसकी सांसद कान्तिका सेजुवालले दश वटा विषयगत समितिमध्ये महिलाहरूलाई ५० प्रतिशत समिति सभापति दिनुपर्ने बताइन्। सो आवाज आफूहरूले पार्टीभित्र पनि राखिसकेको उनको भनाइ छ।

“समिति सभापतिमा महिलालाई ५० प्रतिशत हुनुपर्छ। जब अभ्यासमा हामी जाँदैनौँ, मिनी पार्लियामेन्टमा काम गर्दैनौँ तबसम्म सिकाइ हुँदैन र अनुभव हुँदैन। हामी काम गर्न सक्दैनौँ,” उनले भनिन्।

नेपाली कांग्रेसकै सांसद नागिना यादवले सक्षम महिलालाई समिति सभापति बनाउनुपर्ने माग आफूहरूले पार्टीभित्र राखिसकेको बताइन्। समिति सभापति चयन गर्दा समानुपातिक र समावेशी रूपमा गर्नुपर्नेमा उनको जोड छ।

“महिलालाई पनि सभापति दिनुपर्छ। समानुपातिक, समावेशी हिसाबले लानुपर्छ। समावेशी गरिएन भने देशको प्रतिनिधित्व हुन सक्दैन,” उनले भनिन्। सांसद यादवले नेपाली कांग्रेसले पाँच वटा समिति सभापतिमा दाबी रहेको भन्दै त्यति पाएमा महिलालाई कम्तिमा दुई वटा समिति सभापति अनिवार्य दिनुपर्ने माग रहेको बताइन्।