एसीसी प्रिमियर कपअघि नेपाल र ओमानबीच अभ्यास खेल

क्यानका कार्यवाहक सचिव दुर्गा पाठकले एसीसी प्रिमियर कप प्रतियोगिताअघि ओमानसँग अभ्यास खेल खेल्न लागिएको बताएका छन्।

काठमाडौँ– घरेलु टोली नेपालले एसीसी प्रिमियर कपअघि ओमानसँग अभ्यास खेल खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव दुर्गा पाठकले ओमानसँग अभ्यास खेल खेल्न लागिएको जानकारी दिएका हुन्।

प्रतियोगिताका लागि ओमानको टोली सोमबार दिउँसो काठमाडौँ आइपुग्ने छ। “अभ्यास खेलका लागि प्रस्ताव आएको छ। अहिले ओमानको टोली काठमाडौँ ओर्लिने छ। बेलुकासम्म हामी फाइनल गरेर आधिकारिक रूपमै जानकारी दिन्छौँ,” उनले भने। अभ्यास खेल कहाँ हुने भन्नेचाहिँ टुंगो लागी नसकेको उनको भनाइ छ।

ओमानले पनि आइतबार काठमाडौँ प्रस्थान गर्दै गर्दा प्रतियोगिताअघि नेपाल र बहराइनसँग अभ्यास खेल खेल्न लागेको जानकारी दिएको थियो। ओमानले प्रतियोगिताका लागि जिशान मक्सूदको कप्तानीमा १४ सदस्यीय टोलीको घोषण गरेको छ। टोलीको उपकप्तानमा अकिब इलियास छन्। उनीहरूबाहेक टोलीमा आक्रामक ब्याटर जतिन्दर सिंह, युवा ब्याटर अयान खान र तीव्र गतिका बलर बिलाल खान पनि छन्।

ओमानको टोली काठमाडौँका लागि प्रस्थान गरे पनि नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाईले अहिलेसम्म टोली घोषणा गर्न सकेका छन्। सचिव पाठकले अहिले बन्द प्रशिक्षणमै रहेका खेलाडीले नै अभ्यास खेल खेल्ने जानकारी दिए।

"हामीले दुई टोली (‘ए’ टिम पनि) बनाउन लागेका हौँ। त्यसैले टोली घोषणा गर्न अलिक समय लागेको हो। अब छिटै नै प्रशिक्षकले टोली घोषणा गर्नुहुन्छ होला। अन्तिम टोली घोषणा नभए पनि यही टोलीबाट अभ्यास खेल खेल्छौँ," उनले भने।

एसीसी प्रिमियर कपको समूह 'ए' मा ओमान र नेपालसँगै कतार, मलेसिया र साउदी अरब रहेका छन्। ओमानले समूह चरणका दुई खेल मूलपानी र दुई खेल त्रिवि क्रिकेट मैदानमा खेल्नेछ।

समूह 'बी' मा हङकङ, युएई, कुवेत, सिंगापुर र बहराइन छन्। हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। फाइनल खेल मे १ मा हुने छ। प्रतियोगिताको विजेता एशिया कपमा छनोट हुनेछ।