युक्रेनको हवाई सुरक्षा जोखिमबारे पेन्टागनको गोप्य दस्ताबेज सार्वजनिक

फेब्रुअरीको मिति उल्लेख भएका गोप्य दस्ताबेज कसरी सार्वजनिक भए भन्नेबारे अमेरिकी रक्षा अधिकारीहरूले अनुसन्धान गरिरहेको जनाइएको छ।

काठमाडौँ– पेन्टागनले युक्रेनमा हवाई सुरक्षा जोखिम औँल्याएको गोप्य दस्ताबेज बाहिरिएको छ। पेन्टागनले केही साताभित्रै युक्रेनमा क्षेप्यास्त्र र गोलाबारुदको अभाव हुनसक्ने औँल्याइएको र हवाई सुरक्षा जोखिमबारे तयार पारिएको सुझावसहितको गोप्य दस्ताबेज बाहिरिएको हो।

फेब्रुअरीको मिति उल्लेख भएका दस्ताबेज कसरी सार्वजनिक भए भन्नेबारे अमेरिकी रक्षा अधिकारीहरूले अनुसन्धान गरिरहेको द गार्डियनले उल्लेख गरेको छ। फेब्रुअरी २३ को मिति उल्लेख भएको ‘गोप्य’ शीर्षकको दस्ताबेजमा युक्रेनले प्रयोग गरिरहेको सोभियतकालीन एस–३०० हवाई रक्षा प्रणाली अहिलेकै उपयोग दरमा प्रयोग भए मे २ सम्म त्यसको क्षमता निष्क्रिय हुने उल्लेख छ।

तर यस प्रणालीको उपयोग दर हाल परिवर्तन भएको छ/छैन भन्ने उल्लेख छैन। त्यस्तै, सार्वजनिक दस्ताबेजको आधिकारिता पुष्टि नभएको पनि समाचारमा उल्लेख छ। यद्यपि, आइतबार पेन्टागनले केही फोटोसहितका (संवेदनशील र अति गोप्य वर्गीकरण गरिएका) विवरणको वैधताबारे समीक्षा भइरहेको बताएको छ।

सार्वजनिक दस्ताबेज अनुसार रुसी हवाई शक्तिको सामना गरिरहेको युक्रेन एस–३०० क्षेप्यास्त्र प्रणालीसहितका हतियारमा निर्भर छ। युक्रेनले हाल प्रयोग गरिरहेको बक हवाई रक्षा प्रणालीको क्षमता पनि अप्रिलको अन्त्यसम्म समाप्त हुनसक्ने औँल्याइएको छ। अग्रपंक्तिमा रहेर सुरक्षा दिइरहेका हवाई रक्षा सैनिकहरू पनि मे २३ सम्म ‘पूर्ण रूपमा हट्ने’ दस्ताबेजमा उल्लेखित विवरणहरूलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले लेखेको छ।

रुसी लडाकु बमर विमानहरूले युक्रेनी सैन्य बलमाथि आक्रमण गर्ने ठूलो अवसर पाएको र यो किभका लागि प्रमुख चुनौती हुनसक्ने वरिष्ठ सैन्य अधिकारीहरूलाई उद्धत गर्दै न्युयोर्क टाइम्सले जनाएको छ।
सार्वजनिक गोप्य दस्ताबेजमा अमेरिकाले युक्रेनमा हतियार बिक्रीको विषयमा  दक्षिण कोरियाली वरिष्ठ अधिकारीहरूसँग कुराकानी भएको पनि दाबी गरिएको छ। त्यसैले यी कागजातहरू तत्काल प्रमाणीकरण गर्न दक्षिण कोरियाका विपक्षी दलका एक नेताले सोमबार पेन्टागनलाई आग्रह गरेका छन्।

न्युयोर्कको समाचारपछि सार्वजनिक दस्तावेजबारे बोल्दै दक्षिण कोरियाली डेमोक्रेटिक पार्टीका नेता पार्क हङ किअन भन्छन्, “यदि यो प्रतिवेदन सही भए यो ७० वर्षदेखि दुई मुलुकबीच सधैँ अस्वीकार्य रहँदै आएको कार्य मानिनेछ र यो सार्वभौमिकताको उल्लंघन र कूटनीतिक वैमनस्यताका लागि एक खेल हुनेछ, जसले आपसी विश्वास टुटाउनेछ।”

युक्रेनमा आक्रमणका लागि रुसमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाउन सघाएको र युक्रेनलाई केही सैन्य हतियार सहयोग गरेको दक्षिण कोरियाले अहिले भने हतियार पठाउन छाडेको छ।
विश्वका प्रमुख हतियार निर्यातकर्तामध्येको दक्षिण कोरियाले युद्ध जारी रहेका देशमा हतियार नपठाउने नीति अंगाल्दै आएको छ।