बालकलाई जिब्रोमा चुम्बन गर्न लगाएका दलाई लामाले मागे माफी

एक बालकलाई आफ्नो जिब्रोमा चुम्बन गर्न लगाएका धर्मगुरु दलाई लामाले माफी मागेका छन्।

तिब्बतियन धर्मगुरु दलाई लामाले एक बालकलाई आफ्नो जिब्रोमा चुम्बन गर्न लगाएको विषयमा पश्चात्ताप गरेका छन्।

लामाले आफ्ना शब्द तथा व्यवहारले ती बालक र उनको परिवारको चित्त दुखेको भए माफी माग्न चाहेको बताएको उनको कार्यालयले जनाएको छ।

लामा र ती बालकको २३ सेकेन्डको भिडियो सार्वजनिक भएको छ। भिडियोमा लामालाई अंगालो मार्न चाहेका ती बालकलाई लामाले स्टेजमा बोलाउँछन्। अंकमाल गरेपछि बालकले लामाको गाला र ओठमा चुम्बन गर्न छन्। त्यसपछि लामाले जिब्रो निकाल्दै चुम्बन गर्न भन्छन्।

लामाको यस्तो कार्यको आलोचना भएपछि उनको कार्यालयले माफी मागेको हो। लामाको कार्यालयले भनेको छ, “सार्वजनिकस्थल होस् वा क्यामराअगाडि नै लामा मानिसहरूसँग भेट्दा जिस्किने र हाँसोठट्टा गर्नुहुन्छ। उहाँले अहिलेको घटनाप्रति क्षमा माग्नुभएको छ।”

भिडियो फेब्रुअरी २८ मा भारतको हिमांचलको तिब्बती गुम्बामा एमथ्रीएच फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा खिचिएको हो। कतिपय अवस्थामा तिब्बती संस्कृतिमा जिब्रो निकाल्नुलाई अभिवादको चिनारीका रूपमा पनि लिइन्छ।

तिब्बतमा चीनको प्रभाव बढेपछि धर्मगुरु लामा सन् १९५९ देखि भागेर भारतमा निर्वासित जीवन बिताइरहेका छन्। यसअघि धर्मगुरु लामाले सन् २०१९ मा बीबीसीसँगको एक अन्तर्वार्ताका क्रममा भविष्यमा कुनै महिला दलाई लामा भए उनी ‘आकर्षक’ हुनेछिन् भन्ने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिपछि लामाको कार्यालयले माफी माग्नुपरेको थियो।