५ बलमा लगातार ५ छक्का प्रहार गरेका रिन्कु भन्छन्- बललाई हानी मात्रै रहेँ

यश दयालको अन्तिम पाँच बलमा रिन्कुले लगातार पाँच छक्का प्रहार गरेपछि कोलकाताले २०५ रनको लक्ष्य पूरा गरेको थियो।

काठमाडौँ– कोलकाता नाइट राइडर्सका रिन्कु सिंहले आइतबार गुजरात टाइटन्सविरुद्धको अन्तिम ओभरमा लगातार पाँच छक्का प्रहार गर्दै आफ्नो टोलीलाई सिजनको दोस्रो जित दिलाए।



कोलकाताका कप्तान नितिश रानाले यस्तो जित १०० खेलमा एकपटक देख्न पाइने बताए। रिन्कुलाई यो कसरी सम्भव भयो? भन्ने प्रश्नमा एउटै जवाफ दिन्छन्, "मैले बल हिट गरिरहेँ।"



अन्तिम ओभरको पहिलो बलमा उमेश यादवले एक रन लिएर स्ट्राइक रिन्कुलाई दिएका थिए। यश दयालको अन्तिम पाँच बलमा रिन्कुले पाँच छक्का प्रहार गरेपछि कोलकाताले २०५ रनको लक्ष्य पूरा गर्‍यो।



खेलपछि रिन्कुले भने, “बललाई हानी मात्रै रहेँ। तर, मलाई आफूमा विश्वास थियो र हामीले खेल जित्यौँ।”



रिन्कुले २१ बलमा ४८ रन बनाएका थिए। जसमध्ये उनले अन्तिम सात बलमा ४० रन बनाएका हुन्। “म यो सम्भव बनाउन सक्छु भन्ने विश्वास थियो। गत वर्ष पनि लखनऊ सुपर जायन्ट्सविरुद्ध यस्तै इनिङ्स खेलेको थिएँ। यहाँ पनि म आफैँमा त्यही विश्वास थियो,” उनले भने।



बाया हाते ब्याट्सम्यान रिन्कुलाई स्ट्राइक दिने क्रममा उमेशले पनि जतिसक्दो बललाई हिट गर्न सल्लाह दिएका थिए। “भाइ (उमेश)ले पनि अर्को एन्डबाट मलाई 'प्रहार गर रिन्कु, न सोच' भन्नुभयो,” उनी भन्छन्।



यो इनिङ्स कोलकाताका लागि महत्त्वपूर्ण थियो। भेन्कटेश अय्यरले ४० बलमा ८३ रन बनाएर खेलिरहेका थिए। तर, १५औँ ओभरको पाँचौँ बलमा अल्जारी जोसेफले उनलाई आउट गरे। त्यसपछि अर्को ओभरमा राशिद खानले आन्द्रे रसेललाई पहिलो बलमै आउट गरे र अर्को दुई बलमा सुनील नारायण र शार्दुल ठाकुरलाई आउट गर्दै सिजनको पहिलो ह्याट्रिक लिए।



नितिशले भने, “सबै श्रेय रिन्कुलाई जान्छ। हाम्रो खातामा दुई अंक आउनुको कारण उनी नै हुन्।” रिन्कुमाथि भरोसा गर्नुका कारण गत वर्ष उनले खेलेको यस्तै इनिङ्स थियो। उनले लखनाऊविरुद्ध १५ बलमा ४० रन बनाएका थिए। उनले अन्तिम ओभरको पाँच बलमा एक चौका र दुई छक्कासहित १८ रन बनाएका थिए।



नितिशले भने, “जब रिन्कुले दोस्रो छक्का प्रहार गरे, हाम्रो आत्मविश्वास बढ्यो। यशले पनि बललाई सही ठाउँमा फ्याँक्न सकेनन्। त्यसैले कतैकतै मलाई रिन्कुले जित दिलाउँछ भन्ने लाग्यो। कप्तानको नाताले लक्ष्य जतिसुकै ठूलो होस्, आशा गुमाउनु हुँदैन। यद्यपि, इमानदारीपूर्वक भन्नुपर्दा यस्तो जित १०० खेलमा एकपटक मात्रै आउँछ।”