फोहोरलाई देखाएर राजनीति गर्नु हुँदैन, निकास दिनुपर्छ: शहरी विकासमन्त्री

मन्त्रालयले फोहोर व्यवस्थापनका लागि समन्वयकारी भूमिका निर्वाह गर्न कन्जुस्याइँ नगर्ने मन्त्री गुरुङको भनाइ छ।

काठमाडौँ– शहरी विकासमन्त्री सीता गुरुङले फोहोरलाई देखाएर राजनीति गर्नु नहुने बताएकी छन्।

सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री गुरुङले काठमाडौँको फोहोर व्यवस्थापनका लागि मन्त्रालयको समन्वय गर्ने मात्रै जिम्मेवारी रहेको बताइन्। उनले फोहोर व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरपालिकाको भएको उल्लेख गरिन्।

काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहले केन्द्र सरकारले स्थानीय तहसँग समन्वय नगरेको भन्दै सिंहदरबारभित्रको फोहोर उठाउन रोकेका छन्। जसका कारण दुई दिनदेखि सिंहदरबार परिसरको फोहोर उठ्न सकेको छैन। उनले सामाजिक सञ्जालमार्फत १४ वटा कारण उल्लेख सिंहदारभित्रको फोहोर नउठाउनुको स्पष्टीकरण दिएका छन्।

तर मन्त्रालयले फोहोर व्यवस्थापनका लागि समन्वयकारी भूमिका निर्वाह गर्न कन्जुस्याइँ नगर्ने मन्त्री गुरुङको भनाइ छ। उनले महानगरको सिंहदरबारको फोहोर नउठाउने कदमको सम्बन्धमा मन्त्रालयमा छलफल भएको र समस्या समाधानका लागि समिति नै बनाएर अघि बढ्न लागिएको बताइन्। उनले फोहोरलाई देखाएर राजनीति गर्नु नहुने बताइन्।

“हामी तत्कालै बैठक बसेर एउटा समिति नै तयार गरेर त्यसबाट के गर्न सकिन्छ भन्ने एउटा निर्णय गरेर अगाडि बढ्ने भनेका छौँ। फोहोरलाई देखाएर हामीले राजनीति होइन, निकास दिनुपर्छ,” उनले भनिन्। समस्या समाधानका लागि सरकार लागी परेको मन्त्री गुरुङको भनाइ छ।