गभर्नर अधिकारी भन्छन् – वित्तीय क्षेत्र सुरक्षित, सानोतिनो धक्काले अप्ठ्यारो पर्दैन

गत वर्ष नेपाल अप्ठ्यारो अवस्थाबाट गुज्रिएको र त्यसको असर अन्य क्षेत्रमा पनि देखिएको तर अहिले त्यस्तो अवस्था नरहेको उनको भनाइ थियो।

काठमाडौँ– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको वित्तीय क्षेत्र सुरक्षित रहेको बताएका छन्। मंगलबार नेपाल राष्ट्र बैंकअन्तर्गतको आर्थिक अनुसन्धान विभागले आयोजना गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’बारेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।

“समग्रमा बैंक वित्तीय संस्थाको सेफ्टी र साउन्डनेसका सन्दर्भमा भन्नुपर्दा हाम्रा वित्तीय संस्थाहरू, वित्तीय क्षेत्र सुरक्षित छ, साउन्ड छ,"  उनले भने, "सानोतिनो धक्काले कहीँकतै अप्ठ्यारो पर्ने देखिँदैन।” 

गत वर्ष नेपाल अप्ठ्यारो अवस्थाबाट गुज्रिएको र त्यसको असर अन्य क्षेत्रमा पनि देखिएको तर अहिले त्यस्तो अवस्था नरहेको उनको भनाइ थियो।

उनले नियमकीय हिसाबले हेर्दा नेपाली बैंकहरूको पुँजी पर्याप्तता न्यूनतम आवश्यक अनुपातभन्दा बढी रहेको बताए। उनका अनुसार ‘क’ वर्गका वित्तीय संस्थाको पुँजी पर्याप्तता अनुपात १३.१ प्रतिशत छ। ‘ख’ वर्गका विकास बैंकको पुँजी पर्याप्तता १२.७१ प्रतिशत र ‘ग’ वर्गका फाइनान्स कम्पनीहरूको १७.०५ प्रतिशत रहेको छ। समग्रमा तीन वटै वर्गका वित्तीय संस्थाको पुँजी पर्याप्तता १३ प्रतिशतभन्दा माथि रहेको छ। जसको न्यूनतम मापदण्ड ११ प्रतिशत हो।

राष्ट्र बैंकका अनुसार नेपालमा मुद्रा स्फीति घट्ने क्रममा रहेको छ। अघिल्लो वर्षको तुलनामा थोक मूल्य सूचकांक पनि उल्लेख्य रूपमा कमी आएको छ। मुद्रा स्फीति अघिल्लो वर्ष फागुनमा १३.१३ प्रतिशत रहेकोमा अहिले त्यो घटेर ७.१० प्रतिशतमा कायम भएको छ। 

वैदेशिक व्यापारको सन्दर्भमा पनि आयात, निर्यात र समग्र व्यापार घाटाको वृद्धिदर ऋणात्मक रहेको गभर्नर अधिकारीले बताए। उनले वैदेशिक व्यापारको प्रवृत्ति वर्षको शुरूआतदेखि नै निरन्तर उस्तै अवस्थामा रहेको उल्लेख गरे। सेवा व्यापारमा पनि सुधार देखिएको राष्ट्र बैंकले जनाएको छ। 

राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्ला चार महिना (मंसिर, पुस, माघ र फागुन) रेमिट्यान्समा पनि उल्लेख्य वृद्धि भएको छ। “यो अवधिमा निरन्तर रूपमा एक खर्बभन्दा बढी रेमिट्यान्स नेपाल भित्रिरहेको अवस्था छ,” गभर्नर अधिकारीले भने, “फलस्वरूप यो आर्थिक वर्षको औसत रेमिट्यान्स ९९ अर्ब प्रतिमहिना रहेको अवस्था छ।“

राष्ट्र बैंकका अनुसार चालु खाता घाटा पनि उल्लेख्य रूपमा सुधार भएको छ, जुन फागुन मसान्तसम्ममा ४४ अर्ब ३१ करोड रहेको छ। अघिल्लो वर्ष यही अवधिमा ४ सय ६० अर्ब रहेको थियो।  

विदेशी विनियम सञ्जिति पनि सुविधाजनक स्थितिमा रहेको गभर्नर अधिकारीले  बताए। असार मसान्तमा १२ सय १५ अर्ब मुद्रा सञ्चिति रहेकोमा अहिले बढेर १४ सय १ अर्ब सञ्चिति पुगेको उनले उल्लेख गरे। "जसले ९.४ महिनाको वस्तु तथा सेवाको आयात धान्न सक्छ," उनले भने।

उनले अहिले मौद्रिक विस्तारमा केही कमी आएको, बैंकिङ प्रणालीतर्फ भने गत वर्षको तुलनामा प्रचुर मात्रामा सुधार भएको दाबी गरे। उनले तरलतामा सुधार हुँदाहुँदै पनि ब्याजदर भने केही माथि रहेका बताए। "ब्याजदरको प्रवृत्ति हेर्दा माघ र फागुन मसान्तमा ब्याजदर उत्ति नै रहेको छ। बेस रेट र निक्षेपको ब्याजदर भने घट्ने क्रममा रहेको छ," उनले भने।

उनले अर्थतन्त्रको वास्तविक क्षेत्रमा आएको शिथिलता समेतलाई मध्यनजर गर्दा हालको स्थिति आगामी दिनमा क्रमशः सुधार हुँदै जानेमा आशावादी रहेको बताए। उनले यसका लागि सम्पूर्ण उद्यमी, व्यवसायी र बैंकरहरू उच्च मनोबलका साथ आ–आफ्नो क्षेत्रमा अगाडि बढ्ने विश्वास व्यक्त गरे।