म्यानमार सेनाको हवाई कारबाहीमा ५३ जनाको मृत्यु, कैयौँ घाइते

म्यानमारको सैनिक सरकारविरोधी गतिविधिका लागि स्थापित नेशनल युनिटी गभर्नमेन्टले आक्रमणमा ५३ को मृत्यु भएको र ४० भन्दा बढी घाइते भएको पुष्टि गरेको छ।

म्यानमार सेनाको हवाई कारबाहीमा १५ महिला र बालबालिकासहित ५३ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्। मृतकको संख्या करिब एक सय पुग्ने आशंका गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

म्यानमारको प्रमुख शहर याङगुनदेखि ११० किलोमिटर टाढाको जागाइं क्षेत्रमा सैन्य सरकारविरोधी अभियानमा उत्रिएका मानिसमाथि गोलाबारुद बर्साइएको स्थानीय अधिकारवादी समूहहरूलाई उद्धृत गर्दै एपी न्युजले जनाएको छ।

सरकारविरोधी संघर्षमा उत्रिएको विद्रोही समूहको एक कार्यालयको उद्घाटन समारोहमा जम्मा भएका मानिसहरूमाथि लक्षित गर्दै म्यानमार सेनाले मंगलबार बिहान हवाई आक्रमण गरेको बताइएको छ।

एक साताअघि मात्रै निर्माण सम्पन्न भएको कार्यालयको उद्घाटन कार्यक्रममा महिला, बालबालिकासहित थुप्रै मानिसहरू सहभागी रहेको एक उद्धारकर्ता क्यो वुन्नाले म्यानमारको सञ्चारमाध्यम थानल्वीन टाइम्सलाई बताएका छन्।

सेनाविरोधी गतिविधिका लागि स्थापित नेशनल युनिटी गभर्नमेन्ट(एनयूजी)ले आक्रमणमा ५३ को मृत्यु भएको र ४० भन्दा बढी घाइते भएको पुष्टि गरेको छ। एनयूजीका अध्यक्ष डुवा टासी लाले विज्ञप्ति जारी गर्दै, “आज बिहान म्यानमारको हवाई बलले सयौँको संख्यामा भेला भएका सर्वसाधारणमाथि बम बर्साएको छ,” भनेका छन्।

म्यानमार सेनाले आफ्नै देशका जनतामाथि विचारहीन युद्ध गरिरहेको उनले बताए।

सेनाले पछिल्लो समय सरकारविरोधी समूहलक्षित कारबाही र हस्तक्षेपलाई बढाएको छ। सन् २०२१ मा प्रजातान्त्रिक सरकारका जनप्रतिनिधिहरूलाई नियन्त्रणमा लिँदै सरकार हत्याएको थियो।

त्यति बेलाको सैन्य सरकारविरोधी आन्दोलनमा सेनाले हस्तक्षेप गर्दा करिब ३ हजार मानिसले ज्यान गुमाएका थिए। यो त्यसयताकै सबैभन्दा ठूलो ठूलो हिंसात्मक घटना भएको बताइएको छ।