बुधबार ९२.२२ अंकले बढ्यो नेप्से, कारोबार रकम पनि दोब्बर

नेप्से परिसूचक ९२.२२ अंकले बढेर १९६३.५५ विन्दुमा पुगेको छ। त्यस्तै,सेन्सेटिभ इन्डेक्स १८.७५ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ६.७६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ६.४२ अंकले बढेको छ।

काठमाडौँ- वैशाख महिनादेखि बैंकको ब्याजदर घट्ने बैंकर्स संघको निर्णयसँगै नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ। पछिल्लो समय निरन्तर रुपमा उच्च अंकले गिरावट आइरहेको नेप्से परिसूचक बुधवार ९२.२२ अंक बढेको हो।

नेप्से परिसूचक १९६३.५५ विन्दुमा पुगेको छ। त्यस्तै,सेन्सेटिभ इन्डेक्स १८.७५ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ६.७६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ६.४२ अंकले बढेको छ। बुधवार कारोबारमा आएका २७६ कम्पनीको ६१ लाख ७ हजार कित्ता शेयर १ अर्ब ९७ करोड ६० लाख रुपैयाँमा खरिदबिक्री भएको छ। 

नेपाल राष्ट्र बैंकले मंगलबार पत्रकार सम्मेलन गर्दै बाह्य क्षेत्र सुविधाजनक अवस्थामा रहेको बताएको थियो। राष्ट्र बैंकको यस्तो भनाइले आर्थिक कारोबारमा अपनाइएको कसिलो नीति बिस्तारै खुकुलो हुने विश्वास गरिएको थियो। त्यसैगरी, बैंकर्स संघले १ वैशाखदेखि लागू हुनेगरी निक्षेपको व्याजदर घटाउने निर्णय गरेसँगै त्यसको प्रभाव नेप्से परिसूचकमा परेको छ।

मंगलबारको तुलनामा बुधवार शेयर कारोबार रकममा पनि सुधार भएको छ। मंगलबार ९४ करोड ५२ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो।

नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक करिब ७ प्रशित बढेको छ भने लघुवित्त, बैंकिङ र विकास बैंक उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढीले बढेको छ। त्यस्तै, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन जलविद्युत र निर्जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढीले बढेको छ।

बुधवार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएसँगै सात कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा सिद्धार्थ इक्विटी फण्ड, आदर्श लघुवित्त, खप्तड लघुवित्त, कालिञ्चोक दर्शन, गणपति लघुवित्तलगायत कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। बुधवार शिवम सिमेन्ट्स कम्पनीको ११ करोड ७१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।