नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाल भ्रमणका लागि १८१ चिनियाँ पर्यटक काठमाडौँमा

चिनियाँ पर्यटकलाई स्वागत गरेपश्चात् मन्त्री किराँतीले नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटक आउने ढोका खुलेको प्रतिक्रिया दिए।

काठमाडौँ– कोरोना संक्रमण (कोभिड–१९) महामारीपछि एकैपटक १८१ चिनियाँ पर्यटक नेपाल भ्रमणका लागि काठमाडौँ आइपुगेका छन्। नेपालीहरूको नयाँ वर्षको पूर्वसन्धामा बिहीबार १८१ जनाको समूह विमान चार्टर गरेर काठमाडौँ आइपुगेका हो।

चिनियाँ पर्यटकहरूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छेन् सोङ लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरे। हिमालय एयरलाइन्सको विमान चार्टर गरेर १८१ जना चिनियाँ पर्यटकहरू नेपाल भ्रमणमा आएका हुन्। उनीहरूले ७ देखि १० दिन नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको भ्रमण गर्ने छन्।

चिनियाँ पर्यटकलाई स्वागत गरेपश्चात् मन्त्री किराँतीले नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटक आउने ढोका खुलेको प्रतिक्रिया दिए। उनले कोरोना महामारीको कारण लामो समय नेपालमा समूहमा घुम्न प्रतिबन्ध खुला हुनु नेपाल र चीनसँगको सम्बन्ध बिस्तार भएको उल्लेख गरे। उनले नेपालको पर्यटन क्षेत्रको विकासका लागि चीनको योगदानको प्रारम्भ भएको पनि उल्लेख गरे।

“कोरोना महामारीपछि समूहमा घुम्न सक्ने गन्तव्यको रूपमा खुला गरेको छ। समूहमा नेपाल घुम्न चीन सरकारले खुला गर्नुले नेपाल र चीनबीचको सम्बन्ध बढ्छ,” उनले भने, “नेपालको पर्यटन क्षेत्रको विकासको लागि चीनको योगदानको प्रारम्भ भएको छ।”

त्यस्तै, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकहरूको महत्त्वपूर्ण भूमिका हुने बताए। उनले लामो समयपछि चीन सरकारले समूहमा नेपाल घुम्न अनुमति पछिको नेपाल भ्रमणमा पहिलो १८१ चिनियाँ टोली आउनु स्वागतयोग्य रहेको बताए।

उनका अनुसार अब लगातार रूपमा ७ सय चिनियाँ पर्यटक आउने छन्। सन् २०१९ मा १ लाख ६५ हजार नेपालमा चिनियाँ पर्यटक आएका थिए। चिनियाँ राष्ट्रपतिले भिजिट २०२० मा चीनबाट ५ लाख पर्यटक पठाउने भने पनि कोरोनाका कारण सफल हुन सकेको थिएन। उनले यो वर्ष २०१९ को भन्दा बढी चिनियाँ पर्यटक नेपालमा पाउने अपेक्षा गरिएको बताए।

“चिनियाँ पर्यटकले नेपाली नयाँ वर्षमा नेपालीहरूसँग मनाउनु हुनेछ। उहाँहरूले नेपालको सकारात्मक सन्देश लिएर चीन जानु हुनेछ। अन्य चिनियाँ पर्यटकलाई नेपाल घुम्न प्रेरित गर्नुहुने आशा लिएका छौँ। पर्यटकहरूको नेपाल बसाइँ एक हप्ता हुनेछ,” उनले भने।

त्यस्तै, पर्यटन व्यवसायी सुदर्शन नेपालले चिनियाँ पर्यटकहरूको टोली हिमालय एयरलाइन्सको विमान चार्टर उडानमार्फत लगातार आउने तालिका रहेको बताए। उनले अप्रिल १९ तारिकमा अर्को उडानमार्फत आउने तालिका रहेको भन्दै पहिलो टोली भएकाले चीनमा सकारात्मक सन्देश दिनको लागि भव्य रूपमा स्वागत गरिएको बताए। उनले चिनियाँ पर्यटक टोलीको ८ दिनको बसाइँमा ३ दिन ट्रेकिङ जाने र ४ दिन काठमाडौँ र पोखरा घुम्ने बताए। चिनियाँ पर्यटकको आगमन भएकाले पर्यटक व्यवसायीमा नयाँ ऊर्जा थपेको उनको भनाइ छ।

सन् १०१९ मा चीनबाट १ लाख ६९ हजार ५३४ जना, २०२० मा १९ हजार २५७, २०२१ मा ६ हजार १९६, २०२२ मा ५ हजार ५९५ र २०२३ को मार्चसम्म ६ हजार ३३७ जना चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन्। कोरोना महामारीपश्चात् चीन सरकारले मार्च १० बाट नेपाललाई गन्तव्यका सूचीमा राखेको थियो। नेपाल गन्तव्य मुलुकमा परेपश्चात् चार्टर उडानमार्फत नेपाल आउने पहिलो समूह रहेको छ। उनीहरूलाई नेपाल विग माउन्टेन ट्राभलमार्फत आएका हुन्।  

नेपालका लागि चिनियाँ राजदूत सोङ नेपाल चिनियाँ पर्यटकहरूको रोजाइको गन्तव्य भएको बताउँदै नेपालको पर्यटन विकासको लागि चीन सधैँ सकारात्मक भएको बताए। उनले कोभिडपछि चिनियाँ नागरिकलाई नेपाल भ्रमण खुला गरिएकोले अब नेपाल आउने चिनियाँ पर्यटकहरूको संख्या क्रमशः बढ्ने बताए।