हामीलाई यसरी गलाइसकिएको छ कि हामी हैरान भइसक्यौँ। आफैँ कमजोर भएको अवस्थामा न्यायका लागि लडिरहेका हामी स्वयं थकित भइसक्यौँ।
२० वर्षदेखि एउटै मुद्दामा न्यायको निम्ति लड्दै आएकी छु। मजस्ता थुप्रै पीडितहरू यो लडाइँमा हुनुहुन्छ। तर, अहिलेसम्म हामी द्वन्द्व पीडितहरूले न्यायको अनुभूत गर्न पाएका छैनौँ। हामीहरूको माग सम्बोधन गर्न र न्याय दिलाउन राज्यले पहल गरेको छैन।
लामो समयसम्म एउटै मुद्दामा लड्दालड्दै सुनुवाइ नभएपछि अब कतिसम्म लड्ने, बोलेर मात्र के हुन्छ भन्ने सोच मनमा आउँछ। कहिलेकाहीँ दिक्क पनि लाग्छ। युवा जोस जाँगर भएको ममा समेत कहिलेकाहीँ त्यस्तो भावना आउँछ भने मभन्दा उमेरले पाका आमा, दिदी र दाजुहरूलाई कस्तो लाग्दो होला? कल्पनासम्म पनि गर्न सक्दिनँ।
सरकारसँग कुरा गर्ने क्रममा 'हामी अझै थाकेका छैनौँ, कुर्न तयार छौँ, जसरी भए पनि हामीलाई न्याय चाहिन्छ' त भन्छौँ। राज्यले न्याय नदिएर हामीलाई थन्काउन र गलाउन खोजेको आभास हुन्छ। हामीलाई यसरी गलाइसकिएको छ कि हामी हैरान भइसक्यौँ। आफैँ कमजोर भएको अवस्थामा न्यायका लागि लडिरहेका हामी स्वयं थकित भइसक्यौँ। अबचाहिँ हामीले गम्भीर समीक्षा गर्नुपर्ने बेला भएको छ।
हामी आफूले जे भोग्यौँ, अब अरूले यस्तो घटना भोग्न नपरोस् भनेर आफ्ना कुरा गर्छौँ। पीडितहरूले गर्ने सधैँ न्यायकै कुरा हो तर कहिलेकाहीँ लाग्छ, हामी कोसँग बोल्ने? के बोल्ने? बोलेरै अर्थ नै के छ?
द्वन्द्वमा हामी र हाम्रा आफन्त पीडित भए तर, कहिलेकाहीँ राजनीतिक रूपमा हामीलाई समेत प्रयोग गरिएको आभास हुन्छ। हाम्रो मुद्दामा अरूले सौदाबाजी गरेझैँ महसुस हुन्छ।
द्वन्द्वपीडितहरूलाई न्याय दिने विषयमा राजनीतिक दलहरूमा दोधारे चरित्र पाइन्छ। उनीहरू सत्ता बाहिर रहँदा न्याय चाहिन्छ भन्ने कुरा गर्छन् भने सत्तामा हुँदा को हुन् द्वन्द्वपीडित? हामी चिन्दैनौँ भन्ने हिसाबले प्रस्तुत हुने गरेका छन्। अवस्था कस्तो छ भने हामी पीडितहरू उनीहरूलाई भेटेर कुरा राख्नसम्म पाउँदैनौँ। यो वा त्यो दल भन्ने छैन, सबैमा दलमा यो लागु हुन्छ।
यति हुँदाहुँदै पनि कतिपय संस्था, व्यक्तिको सहयोग तथा आफ्नै प्रयासहरूले द्वन्द्वपीडितको अभियान यहाँसम्म आइपुगेको छ। तर, यस बीचमा हामी पीडितहरूकै बीचमा पनि 'भोटिङ' गर्न लागेझैँ देखिन्छ। अहिले आएर त पीडितहरूकै बीचमा फाटो पैदा गर्न थालेजस्तो समेत देखिन्छ।
हामी आफ्ना वेदना र हैरानीबारे लेख्छौँ, बोल्छौँ र तस्बिर लिन्छौँ। तर त्यसले अन्ततः कसको भाषा बोलेको छ र कसलाई सहयोग पुगेको छ? अब त्यसमा पनि हामीले ध्यान दिनुपर्छ।
हामीले यो प्रक्रिया टुङ्ग्याउन खोजेको हो कि होइन? प्रक्रिया टुङ्ग्याउन खोजेको हो भने कसरी टुङ्ग्याउन खोजेको हो? पीडितहरू थाक्न या गल्न थाले भन्दैमा पीडितमाथि जे गरे पनि हुन्छ? त्यसो गर्न खोजिएको हो भने त्यो मिच्याइँ हामीलाई स्वीकार्य छैन। हामीले यत्तिका वर्ष र दिनहरू किन लगानी गर्यौं, किन हिँड्यौँ? किनभने हामी न्यायका लागि हिँडेका हौँ। हामीले खोजेको केवल न्याय हो।
जब जब सत्ता फेरबदल हुन्छ, त्यतिखेर हामीलाई जहिल्यै गाह्रो हुने गरेको छ। आफ्नै टिमका साथीहरू कहाँ कहाँ पुग्नुहुन्छ, उहाँहरूलाई खोज्नै गाह्रो हुन्छ।
सबै ठाउँमा राजनीति हुँदो रहेछ, न्याय खोज्ने ठाउँमा पनि राजनीति हुँदो रहेछ। एक्लै बोलेर न्यायको अभियान चलाउन सकिँदैन, के गर्ने? अलि ठुलो समूहमा बोल्दा सबैको आवाज मिल्ने रहेछ, त्यसले सत्तामा बस्नेलाई पनि केही हदसम्म डर हुँदो रहेछ।
राजनीतिक रूपमा बढी हस्तक्षेप भएका कारण न्यायपीडितहरूको अभियान जोगाउन गाह्रो भएको छ। मजस्तै अन्य पीडित साथीहरू पनि बढी नै थाक्नुभयो अथवा के भयो, विश्लेषण गर्नुपर्ने बेला भएको छ। यतिखेर पीडितहरूको न्यायिक अभियान जोगाउन गाह्रो भएको स्वीकार गर्छु।
जति नै थाके पनि, जे भए पनि बोल्न छाड्नु त भएन।
(गीताकी दिदी रिना १८ वर्षकी हुँदा २०६० माघ २९ मा सेनाबाट मारिएकी थिइन्। 'एड्भोकेसी फोरम'को प्रतिवेदनमा उनलाई बलात्कारपछि हत्या गरिएको उल्लेख छ। बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा गीताले व्यक्त गरेको धारणाको सम्पादित अंश)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
