लगानी बोर्डले ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्ने

अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानी बोर्डको बैठकले ठूला आयोजनामा लगानी केन्द्रित गर्ने निर्णय गरेको बताएका छन्।

काठमाडौँ– लगानी बोर्डले ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्ने निर्णय गरेको छ। बिहीबार लगानी बोर्डको कार्यालयमा बसेको बैठकले ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बोर्डको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले ठूला आयोजनालाई अघि बढाउने निर्णय भएको बताए। आगामी दिनमा लगानी बोर्डको क्षमतालाई वृद्धि गर्ने र प्राविधिक क्षमता लगायत सबै क्षमता वृद्धि गरी भविष्यमा थप लगानीको परिवेश देशमा निर्माण गर्ने कुरामा बैठकमा विशेष छलफल भएको उनको भनाइ छ

उनका अनुसार बैठकले जलविद्युत् आयोजनाको काम तत्काल अघि बढाउने,  तल्लो अरुण, अप्पर मर्स्याङ्दी, दुधकोशी २ लगायतका जलविद्युत् आयोजनाहरूलाई क्रमिक रूपमा अघि बढाउने निर्णय गरेको छ। बैठकमा  सिमेन्टमा लगानी भएका आयोजना पनि उत्पादन गर्ने तहमा पुगेको बारेमा पनि छलफल भएको छ। बैठकमा रासायनिक मलको विषयमा विस्तृत अध्ययन गर्न दुई वैदेशिक लगानीकर्ताहरूलाई अनुमति दिने प्रक्रिया अघि बढाउने निर्णय भएको छ।

लगानी बोर्डका उपाध्यक्षसमेत रहेका अर्थमन्त्री महतले इन्भेस्टमेन्ट समिट गर्ने बारेमा पनि बैठकमा छलफल भएको बताए। स्वदेशी र विदेशी लगानीकर्ताले कुनै समस्या बिना चाँडोभन्दा चाँडो नेपालमा लगानी गर्न सकुन् र लगानीमार्फत आर्थिक समृद्धि हुन सकोस् भन्ने कुरा बैठकमा छलफल भएको उनको भनाइ छ।

बैठकमा प्रधानमन्त्री दाहालले वैदेशिक पुँजी तथा प्रविधि भित्राएर स्वदेशमै रोजगारी सिर्जना गर्ने, उत्पादन र उत्पादकत्व बढाउने तथा आयात प्रतिस्थापन गरी निर्यात प्रवर्द्धन गर्नेतर्फ लगानीलाई केन्द्रित गर्न आवश्यक रहेको औँल्याएका थिए।