चुनावी वर्ष २०७९ मा राजनीतिक दलहरूको ध्यान सत्ता दाउपेचमा देखियो। यो वर्ष करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको घटनादेखि रास्वपा सभापति रवि लामिछानेको नागरिकता विवाद चर्चा रह्यो।
२०७९ साल राजनीतिक घटनाक्रमका कारण उतारचढावपूर्ण रह्यो। नयाँ समीकरण बन्ने, पुराना गठबन्धन टुट्ने राजनीतिक दाउपेचमै २०७९ साल बित्यो। चुनावी वर्षका रूपमा रहेको यो वर्ष वैशाख ३० गते निर्वाचन स्थानीय तह सम्पन्न भयो भने चैत ३ गते उपराष्ट्रपति निर्वाचन सम्पन्न भयो। यसबीचमा मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा, फागुन २७ गते राष्ट्रपति निर्वाचन सम्पन्न भयो।
स्थानीय तह निर्वाचनपछि स्वतन्त्र उम्मेदवारको लहर चल्यो। मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पनि यो लहर कायमै रह्यो। त्यस्तै, प्रतिनिधिसभाको निर्वाचनमा नयाँ दलहरूले ठूला र स्थापित दलहरूलाई चुनौती दिए।
नयाँ सरकारको गठन प्रक्रिया शुरू भएसँगै दलहरू गठबन्धन फेरबदलमा केन्द्रित रहे। नेपाली कांग्रेसले प्रधानमन्त्री नछाड्ने अडान लिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगे। एमालेसहित सात दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका दाहाललाई कांग्रेस, एकीकृत समाजवादी दलहरूले पनि विश्वासको मत दिएपछि फेरि सत्ता समीकरणमा फेरबदल आयो। राष्ट्रपतिको निर्वाचनमा आइपुग्दा माओवादी पुरानै गठबन्धनमा फर्कियो भने एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लियो।
त्यस्तै, यो वर्ष क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको बलात्कार मुद्दा, रवि लामिछानेविरुद्ध परेको दोहोरो नागरिकतासम्बन्धी मुद्दा र चार्ल्स शोभराजको रिहाइ चर्चामा रहे। त्यस्तै, पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनाले हवाई सुरक्षा प्रश्न उब्जायो।
यो वर्ष देशको अर्थतन्त्र उच्च दबाबमा रह्यो। बजेट लेखनकै क्रममा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि करका दर हेरफेरमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लाग्यो। बैंक तथा वित्तीय क्षेत्रले तरलता अभावको सामना गर्नु पर्यो भने देशमा विदेशी मुद्रा सञ्चिती घट्दा राष्ट्र बैंकले वस्तु आयातमा प्रतिबन्ध लगाउनुपर्ने स्थिति आयो। सेयर बजार निराशाजनक स्थितिमा रह्यो। राजस्व संकलन कमजोर बन्दा कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्था आएको सरकारी अधिकारीहरूको गुनासो बाहिरियो। हेर्नुहोस् २०७९ सालका प्रमुख घटनाहरू:
स्थानीय तह, प्रतिनिधि र प्रदेशसभा निर्वाचन
२०७९ सालमा तीनै तहका निर्वाचन सम्पन्न भए। वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा ७१ प्रतिशत मतदान भएको थियो। कूल ३५ हजार २२१ पदका लागि भएको निर्वाचनमा ३५ हजार ७९ जना जनप्रतिनिधि निर्वाचित भएका छन्। निर्वाचन हुनेमध्ये ५९ प्रतिशत पुरुष ४१ प्रतिशत महिला जनप्रतिनिधि छन्। १२३ जना दलित महिला सदस्य र एक महिला सदस्य गरी १२४ पद रिक्त रहेको निर्वाचन आयोगको तथ्यांक छ।
मंसिर ४ गते प्रतिनिधि र प्रदेशसभा निर्वाचन सम्पन्न भयो। प्रतिनिधिसभातर्फ २७५ र प्रदेशसभातर्फ ५५० जना गरी कूल ८२५ जना निर्वाचित भए। प्रतिनिधिसभातर्फ पुरुष १८४ जना (६६.९० प्रतिशत) र महिला ९१ जना (३३.१० प्रतिशत) निर्वाचित हुँदा प्रदेशसभातर्फ पुरुष ३५० जना (६३.६४ प्रतिशत) र महिला २०० जना (३६.३६ प्रतिशत) निर्वाचित भए। स्थानीय तहमा युवाहरू जनप्रतिनिधि छानिए भने प्रतिनिधि र प्रदेश निर्वाचनमा पनि त्यसको प्रभाव पर्यो। काठमाडौँ महानगरमा बालेन, धरानमा हर्क साम्पाङ निर्वाचित भए भने प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र, जनमत तथा नागरिक उन्मुक्ति पार्टी उदाए। त्यस्तै, राष्ट्रपतिमा रामचन्द्र पौडेल र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भए।
राजनीतिक समीकरण फेरबदल
प्रतिनिधिसभा निर्वाचनपछि राजनीतिमा सरकार नेतृत्वको विषयलाई लिएर नेताहरूबीच गठबन्धन परिवर्तनको लहर चल्यो। निर्वाचनबाट पहिलो दल बनेको नेपाली कांग्रेसले प्रधानमन्त्रीमा अडान नछाडेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा पुगेर सरकारको नेतृत्व लिए। एमालेसहित सात दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका दाहाललाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिएपछि राजनीतिमा नयाँ तरंग देखियो। राष्ट्रपतिको निर्वाचनसँग आइपुग्दा फेरि प्रधानमन्त्री दाहाल कांग्रेस सहितको पुरानै गठबन्धनमा फर्किए। योसँगै केन्द्रबाट एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो। प्रधानमन्त्री दाहालले दुई महिनाभित्रै प्रतिनिधिसभाबाट दुईपटक विश्वासको मत लिनुपर्यो। त्यस्तै, प्रदेश सरकारबाट एमाले बाहिरियो।
नयाँ दलको उदय
स्थानीय तह निर्वाचनमा युवाहरूपति मतदाताको आक्रमण देखिएपछि नयाँ दल खोलेर निर्वाचनमा जाने क्रममा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तीव्र बन्यो। त्यस्तै स्वतन्त्र रूपमा निर्वाचनमा उम्मेदवारी दिनेको संख्या पनि उल्लेख्य देखियो। प्रतिनिधिसभाको निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीहरूको उदय भयो। निर्वाचन आयोगमा दर्ता भएको छोटो समयमै निर्वाचनमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी चौथो दल बन्यो भने जनमत पार्टी राष्ट्रिय दल बन्न सफल भयो। रेशम चौधरीको रिहाइलाई मुख्य अजेन्डा बनाएर नागरिक उन्मुक्ति पार्टी उदायो। त्यस्तै, काठमाडौँ महानगरमा निर्वाचित बालेन शाह र धरान उपमहानगरमा निर्वाचित हर्क साम्पाङको चुनाव चिह्न लौरोलाई प्रदेश र प्रतिनिधिसभाको निर्वाचनताका अभियानका रूपमा अगाडि बढाइयो, यद्यपि त्यो सफल हुन सकेन।
विवादमा रवि लामिछाने
२०७९ सालको संसदीय निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय भएको छ। निर्वाचनको चार महिनाअघि मात्र रास्वपाले दल दर्ता गराएको थियो। पुराना पार्टीहरूले जनताको भावना बुझ्न नसकेको र राजनीतिमा नयाँ आयाम ल्याउनुपर्ने उद्देश्यसहित दल दर्ता भएको थियो। पुराना पार्टीदेखि निराश र नयाँ पार्टीप्रति उत्साही जनताले रास्वपालाई पहिलो चुनावमै भारी मतले सघाए। युवा र नवीन सोचका मानिसहरूलाई चुनावमा उठाएको रास्वपा छोटो समयमै लोकप्रिय बन्यो। चुनावमा २० सिट जितेको रास्वपाले संसद्मा आफ्नो शक्तिलाई राम्रै सदुपयोग गर्ने मौकासमेत पायो। रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बने। तर नागरिकता विवादमा सर्वोच्च अदालतको फैसलापछि लामिछानेले सांसद, उपप्रधानमन्त्री तथा गृहमन्त्री र पार्टी सभापति पदसमेत गुमाए। पद गुमाएर गृह मन्त्रालयबाट बाहिरिएका लामिछानेले पत्रकार सम्मेलन गर्दै मिडियाप्रति आक्रोशित अभिव्यक्ति दिए। उनले १२ भाइ भनेर गरेको सम्बोधन निकै चर्चित भयो। उनले नागरिकता पुनः प्राप्ति गरेर पार्टी सभापतिमा पुनः नियुक्त भए। उनको पद गुमेपछि रिक्त रहेको चितवन– २ मा हुन लागेको उपनिर्वाचनमा उनी फेरि उम्मेदवार छन्। उनमाथि राहदानी मुद्दा नचालउने महान्यायाधिवक्ताको कार्यालयको निर्णय विवादमा परेको छ। त्यसविरुद्ध सर्वोच्चमा परेको रिट विचाराधीन छ।
यती एयरलाइन्सको विमान दुर्घटना र हवाई सुरक्षा चासो
माघ १ गते काठमाडौँदेखि पोखराका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटना ७२ जनाको मृत्यु भयो। चालक दलका ४ जना, ६८ यात्रुसहित कूल ७२ जना सवार एटीआर ७२–५०० विमान पोखरामा अवतरण गर्ने क्रममा सेती नदीको खोँचमा दुर्घटनामा पर्यो। दुर्घटनाको खबर विश्व भरी नै चासो र चर्चाको विषय बन्न पुग्यो। दुर्घटनाको जाँच र अनुसन्धानको प्रारम्भिक प्रतिवेदनले मानवीयभन्दा प्राविधिक कारण औँल्याएको छ। फ्लाइट डेटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण र अनुसन्धानअनुसार दुर्घटनाको कारण विमान अवतरण गर्ने क्रममा दुवै इन्जिनका प्रोपेलर (ब्लेड) फेदर हुनु अर्थात् (निश्चित डिग्री अनुसार छड्के नभई ९० डिग्रीमा रहनु) लाई देखाइएको छ। सामान्यतया एटीआर विमानको एउटा इन्जिनको प्रोपेलर फेदर हुनसक्ने देखिन्छ तर दुवै ब्लेड फेदरमा गएको यो बिरलै घटना हो।
सन्दीप लामिछानेमाथि बलात्कारको आरोप
नाबालिग बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा र राष्ट्रिय क्रिकेट टोलीमा उनको फिर्ती र विवाद वर्षै भरी चर्चाको विषय बन्यो। उनीविरुद्ध गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा एक नाबालिगलाई बलात्कार गरेको उजुरी परेको थियो। उनी गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। त्यसपछि उनलाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि केन्द्रीय कारागार सुनधारामा थुनामा पठायो। तर, पुस २९ गते उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा शर्तसहित रिहा गर्न आदेश दियो। त्यसपछि उनी खेलमा फर्किए। सन्दीपलाई राष्ट्रिय टिममा ल्याउन क्यान हतारिएको भन्दै माइतीघरमा प्रदर्शनसमेत भयो। बलात्कार अभियोग लागेको भनेर स्कटल्यान्डका खेलाडीले सन्दीपसँग हात नमिलाएको विषयले पनि चर्चा पायो। उनलाई विदेशमा खेल्न दिने सर्वोच्च अदालतको आदेश पनि विवादित बन्यो। अहिले उनीमाथिको नाबालिग बलात्कार मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ।
१९ वर्षपछि नेपाली जेलबाट छुटेका चार्ल्स शोभराज
चार्ल्स शोभराज १९ वर्षपछि नेपालको जेलबाट छुटेको घटनाले पनि यस वर्ष सर्वाधिक चर्चा बटुल्यो। ‘कुख्यात अपराधी’का रूपमा चर्चित शोभराजको रिहाइसँगै उनको जीवन, प्रेम, विवाह, विगत र वर्तमानका विषय पुनः एकपटक समाचार माध्यममा हेडलाइन बने। उनको रिहाइको चर्चा नेपालमा मात्र नभई विदेशीका लागि पनि चासोको विषय बन्यो। ‘सिरियल किलर’ का नामले समेत चिनिने शोभराजले हत्यासहित विभिन्न अपराधको सजाय काटिरहेका थिए। उनी दुई जनाको हत्या र एक जनाको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर भई १९ वर्षदेखि केन्द्रीय कारागारमा सजाय भोगेर रिहा भएका हुन्।
७० वर्षीय शोभराजलाई सर्वोच्च अदालतले ज्येष्ठ नागरिकले पाउने कैद छुट दिएपछि शोभराज रिहा भएका थिए। बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा न्यायाधीशहरू सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले उनलाई तत्काल जेलमुक्त गरी १५ दिनभित्र सम्बन्धित देशमा पठाइदिन आदेश गरेको थियो। उनलाई पुनः नेपाल फर्कन नपाउने गरी डिपोर्ट गरी उनको देश फ्रान्स पठाएको छ।
बजेटका दर हेरफेर विवाद र दबाबमा अर्थतन्त्र
चालु आर्थिक वर्षको बजेट लेखनका क्रममा कर दर तोडमोड गराएको विषय निकै चर्चामा रह्यो। बजेटमा करका दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नताको विषयमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि संसदीय छानबिनसमेत भयो। समिति गठनपछि शर्माले पदबाट राजीनामा दिए। अध्ययन गर्न गठित संसदीय समितिले प्रमाण जुटाउन नसकेपछि अर्थमन्त्री शर्माको पुनर्बहाली भयो। त्यसपछि गभर्नर निलम्बन र पुनर्बहालीले चर्चा पायो। गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन समिति गठन भएपछि उनी निलम्बनमा परेका थिए। तर, सर्वोच्चको अल्पकालीन अन्तरिम आदेशले काममा फर्किए। यो वर्ष अर्थतन्त्र निकै दबाबमा देखियो। सेयर बजार उतारचढावपूर्ण अवस्थामा देखियो भने विदेशी मुद्रा घटेपछि सञ्चिती राष्ट्र बैंकले बिलासी सामानमा प्रतिबन्ध लगायो। पछिल्लो समयमा राजस्व असुलीमा आएको कमीले कर्मचारीलाई तलब खुवाइन नसक्ने अवस्था आएको सरकारी अधिकारीहरूले नै बताउने गरेका छन्।
मिटरब्याज पीडितको आन्दोलन
यस वर्षको अन्त्यतिर मिटरब्याज पीडितहरूको आन्दोलन यस वर्ष चर्चामा रह्यो। साहुबाट थोरै ऋण लिएर समयमै पैसा तिर्न नसक्दा ऋणदाताबाट चर्को ब्याज असुलीमा परेकाहरूको (मिटरब्याज पीडित) आन्दोलन र बहसले चर्चा पायो। देशैभरका पीडितहरू आन्दोलन गर्दै काठमाडौँ आएर सरकारलाई दबाब दिइरहेका छन्। महोत्तरीको बर्दिबासबाट १२ हिँडेर अनेक दुःख कष्ट सहेर मिटर ब्याजपीडित काठमाडौँ आएर धर्ना दिएका थिए। उनीहरूसँग सरकारले पाँच बुँदै सहमति गरेपछि अर्को समूह काठमाडौँ आएर धर्ना र विरोधका कार्यक्रम गरेका छन्। मिटरब्याज पीडितहरूको समस्या समाधान गर्न लागि सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा अधिकार सम्पन्न आयोगसमेत बनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
