विक्रम संवत् २०८० शुरू, नयाँ वर्ष हर्षोल्लासका साथ मनाइँदै

आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता/असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं संकल्प गर्छन्।

फाइल तस्वीर : रासस

काठमाडौँ– आज विक्रम संवत् २०८० साल वैशाख १ गते। देशभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ नयाँ वर्ष मनाइँदै छ।

नयाँ वर्षका अवसरमा आज सार्वजनिक बिदा दिइएको छ। नेपालीहरूले सफलता र प्रगतिका शुभकामना एकापसका व्यक्तै गर्दै, मिस्ठान्न भोजन र भेटघाटसहित नयाँ वर्ष विशेष पर्वका रूपमा मनाउने गर्छन्। हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता/असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं संकल्प गर्छन्।

बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसंगाती तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ। विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मनाउँछन्।

नयाँ वर्षका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरेलगायतले शुभकामना दिँदै नेपालीको उन्नतिको कामना गरेका छन्।

आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरू गर्ने दिन, वैशाख संक्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो। सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको राष्ट्रिय धर्मसभाका अध्यक्ष प्रा डा माधव भट्टराई बताउँछन्।

“विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो,” उनले भने, “सूर्यको गति र स्थितिअनुसार विक्रम संवत् चल्दछ, शक संवत्‌का विशेषतादेखि इश्वी संवत्‌का व्यावहारिक गुण यसभित्र समावेश गरिएको छ।”

सूर्य मेष राशिमा प्रवेश गर्दा शुरू भएर मीन राशि छोड्दा यो संवत्‌को पुरानो वर्ष सकिएर नयाँ वर्ष शुरू हुने भएकाले वैज्ञानिक रहेको भट्टराईको भनाइ छ। कलियुग शुरू भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् शुरू भएको हो।