सिस्नुपानीको 'देउसीभैलो'का लागि बन्ने हो सरकार?

वर्षभरि जनताको कर र पसिनामा मनमौजी भएर सिस्नुपानीलाई पाथीचुली खुराक पुर्‍याइदिने, तिहार आएपछि आफ्नै शर्मनाक काम, गति र मतिको तमासा मुसुमुसु हाँस्दै हेरेर मनोरन्जन लिएर लोक हँसाउने!

यो लेखको शुरूआत केही वर्षदेखि मलाई एकदमै खड्केको एउटा प्रश्नबाट गर्न चाहन्छु। प्रश्न हो, “कुनैपनि सार्वभौम देशको प्रजातन्त्र दिवस, संविधान दिवस, स्वतन्त्रता दिवस, प्रधानमन्त्रीको सपथग्रहण वा त्यस्तै कुनै ‘स्टेट फङ्क्सन’कै जस्तो महत्त्व र प्राथमिकतामा राखेर नेपालका बहालवाला र पूर्व उच्चपदस्त राजकाजी व्यक्तित्वहरु बर्सेनी किन सिस्नुपानीको ‘गाईजात्रा’ समारोहमा जान्छन्?”

जुनसुकै देशमा पनि हास्यव्यंग्य सामग्री वा सिनेमा सबैभन्दा लोकप्रिय मिडिया उत्पादन हो। डिज्नी सिनेमाले अमेरिकामा गरेको र क्यानडा फिल्म बोर्डले त्यहाँ गरेको राष्ट्रव्यापी सर्भे रिपोर्टहरूले सिनेमाको सबैभन्दा लोकप्रिय विधा ‘हास्य’ भएको देखाएका छन्। अर्थात्, ‘कमेडी’ सिनेमा सबैभन्दा बढी रुचाइने रहेछ। त्यसपछि मात्रै आयो ‘साइन्स फिक्सन’, ‘सोसल ड्रामा’ आदि विधा।

यी सर्भेक्षणले देखाएकि, आजको दुनियाँमा आममान्छे थकाइ, तनाव, पसिना, दु:ख सबै भोगिसकेर उब्रिएको समयमा हाँसेर मन बहलाउन चाहन्छ। हल्काफुल्का ठट्टामजाकका अघिल्तिर बसेर, त्यसको मजा लिएर, भोलिपल्ट पुन: जिन्दगीको रथमार्गमा फर्किने आफ्नो उर्जा नवीकरण गर्न चाहन्छ आजको मान्छे। यो आमजनताको आमप्रवृति हो, जुन सामान्य र जनसाधारणलाई सुहाउने विषय हो। 

नेपालमा मनोरन्जन उद्यमका ‘मल्टिमिडिया’ सामग्रीहरू, जस्तै गीत, भिडियो, टेलिशृंखला हेर्ने हो भने सबैभन्दा बढी हास्यव्यंग्य, उत्पट्याङ र जोकरपनकै बाढी देखिन्छ। जनताले रुचाएकै भएर होला यी चलेका पनि छन्। तर, यस्ता कार्यक्रमले हाम्रो हास्यचेतको गुणस्तरलाई बिगारे कि सपारे त्यो अलग बहसको विषय हुनसक्छ। यो लेखले मेरी बास्सै, सक्किगोनि, लास्टाँ त्यै भो, हर्के हल्दार आदि जनताले हेर्ने हास्य सामग्रीका बारेमा होइन राजकाजका ठूलाठालुले स-शरीर उपस्थित भएर अति नै महत्त्वका साथ रसास्वादन गर्ने ‘सिस्नुपानी देउसी’को केन्द्रमा रहेर केही चासो र जिज्ञासा राख्नेछ। 

सिस्नुपानी नेपाल एउटा विशुद्ध हास्यव्यंग्य क्लब हो। उसको विधानले के भन्छ त्यो जरुरत नभएर मैले बुझेको छैन। तर, यसका काम हेर्दा, यसले समसामयिक राजनीतिक खुराकलाई टिपेर हास्यव्यंग्य सिर्जना गर्छ। यो हास्यव्यंग्य क्लबले देखाउने कार्यक्रमका प्रत्यक्ष दर्शक भने असाधारण किसिमले राजकाज संचालनका उपल्लो तहका सबैजसो 'वरिष्ठ'हरु हुन्छन्।

सिस्नोपानी नेपाल मात्रै यस्तो शक्तिशाली हास्यव्यंग्य क्लब रहेछ जसले आफ्नो मन्चका अघिल्तिर एउटा सार्वभौम राष्ट्रका कार्यपालिका, न्यायपालिका र व्यस्थापिकाका सम्पूर्ण पूर्व र वर्तमान ठूला टाउकाहरुलाई खर्याक्खुरुक उतारेर आफ्ना उत्पादनमार्फत निम्तालुहरूकै उछितो काढ्नसक्ने हैसियत राख्दोरहेछ। राज्यका प्रहरीको कुकर्म देखाउन प्रहरीकै वस्त्रधारी हाकिमहरूलाई हाजिर गराउन सक्छ सिस्नोपानीले। न्यायालयको अकर्मन्यतामा व्यंग्य गर्न आफ्नोअगाडि प्रधानन्यायधीश नै झिकाउन सक्छ। देशको सर्वोच्च र सम्मानित प्रधानमन्त्रीलाई अघिल्तिर राखेर नक्कली प्रधानमन्त्रीले खिसिट्युरी र मानमर्दन गरिन्छ। सेना, प्रहरी, मन्त्री, कर्मचारी, बेपारी, पत्रकार, बुद्दिजीवी कसलाई सक्दैन उपस्थित गराउन सिस्नुपानीले?

सिस्नुपानी नेपालको यस्तो असाधारण र अद्भूत सामर्थ्यको स्रोत र आधार के हो? ‘प्रहसन देउसी-भैलो’ले किन यस्तो 'राजकीय मान्यता' पाएको? के छ सिस्नुपानी नेपालको देउसी प्रहसनले समाज र देशलाई हुने राष्ट्रिय महत्त्व, जसले गर्दा सरकार, राजनीतिक दल, सुरक्षा निकायलगायत निम्तो मान्न जान्छन्? 

वर्षभरि मनपरी गर्ने, जनताको कर र पसिनामा मनमौजी भएर सिस्नुपानीलाई पाथीचुली कुस्त खुराक पुर्‍याइदिने, अनि तिहार आएपछि जन्ती लर्केझैँ उर्लेर उनकै अघिल्तिर बसेर आफ्नै शर्मनाक काम, गति र मतिको तमासा मुसुमुसु हाँस्दै हेरेर मनोरन्जन लिएर लोक हँसाउने! साच्ची नेताज्यूहरु, तपाईंहरु मनोरन्जन लिन सिस्नुपानीको मन्च अघिल्तिर जानुभएको हो? हो भने, आफ्ना त्यस्ता अकर्मन्यता र नालायकीपनमाथि त्यति निर्मम र अशिष्टढंगले गरिएका व्यंग्य हेरेर तपाईंहरुलाई कसरी मनोरन्जन मिलेको? कि नेपाली समाजलाई थेत्तरो, नकच्चरो र लबस्तरोपन एक संस्कृतिकै रुपमा सिकाउन त्यहाँ हंसमुख लिएर उपस्थित हुनुभएको?

मेरो मनोदशालाई त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं अध्येता-विश्लेषक राम लोहनीको टिप्पणीले थप चित्रण गर्छ: “राजनीतिलाई बिगार्नेमा सिस्नोपानीको योगदान मानेँ मैले।‌ राजनीतिको नाममा नेताहरूले गरेका गतिविधि प्रहसन र‌ मनोरञ्जनको विषय मात्र बनाइएन, यसमा उनीहरूलाई पनि सहभागी गराइयो, सुनाइयो, त्यो पनि अग्रासनमा राखेर स-सम्मान! यस्तो दोहोरो चरित्र प्रदर्शन गर्नेले समाज सुधार्दैन। यस्ता कार्यक्रमले नेतालाई सुधार्दैन, थेत्तरो मात्र बनाउँछ। साथै तिहार भनेको प्रहसन र व्यङ्ग्य गर्ने गाईजात्रा होइन। गलत बाटोबाट सही गन्तव्यमा पुगिन्न।” 

विकशित देशका राजनितिज्ञहरु विश्वविद्यालयका प्राध्यापकलाई सुन्छन्, सल्लाह लिन्छन् र तदनुरुप आफूलाई फेर्छन्, सुधार्छन्। तपाईँ नेताहरु पढेका मान्छे र आफ्नो चेतले बोल्नेलाई बैरी ठानेर 'दौराको फेर' समात्नेलाई आफ्नो र योग्य ठान्नुहुन्छ। त्यसो भएर प्राध्यापक राम लोहनीका मननीय कुरा सुन्नुभन्दा सिस्नुपानीको अर्को कुनै मध्यावधि ‘व्यंग्य प्रहसन’ आए सात काम पन्साएर त्यता जानु हुन्थ्यो होला।

प्रेम, उल्लास र एकताको पर्व तिहारमा सामान्यत: देउसी-भैलो खेलिन्छ। आशिष र शुभकामना दिइन्छ। प्रहसन गर्नलाई त प्रताप मल्लले चलाएको गाईजात्रा छँदैछ। आफ्नो प्रतिभा र पेशाले त्यता लागेकाले त्यो गरिहाल्छन्, गरेकै छन्।

सिस्नुपानीकै कलाकारले मिडियामा भनेको भनेर पढिएअनुसार अजरबैजान पुगेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नै भने रे शनिबार गर्ने भनिएको सिस्नोपानीको खेला आइतबारलाई सारियोस, म नआई त्यो गर्दै नगर्नू भनेर। नभन्दै अजरबैजानबाट फिरेका प्रधानमन्त्री हवाइयात्राले थाकेको त्यसमाथि बिरामी शरीरलाई राम्रोसँग आराम पनि नगराई संसद अधिवेशनको उद्घाटन सत्रमै पुग्न बिते जसरी हाँप र झाँप गर्दै पुगेको देखियो सिस्नुपानीको गाईजात्रामय देउसीको प्रमुख अतिथि बन्न। 

‘नेताहरुलाई अघि राखेर व्यंग्य गर्दा सन्तुष्टि मिल्छ’ सिस्नुपानिका अध्यक्ष कवि, व्यंग्यकार लक्ष्मण  गाम्नागेले पोहोरका साल भनेका थिए। कुरा सही हो। कुनै कलाकर्म, काव्यकर्म गर्ने व्यक्ति वा समूहलाई राज्यका गर्ल्यामगुर्लुम जम्मै ठूलाबडा कार्यकारीलाई अघिल्तिर थुपारेर आफ्नो सिर्जना, रचनाको प्रस्तुति दिनसक्ने पाइन् देखाउन पाउँदा सन्तुष्टि, हर्ष, गदगद, उल्लास, उत्सव नलागेर अल्छी, खल्लो, भाउन्न, वाकवाकी लाग्ने त कुरै भएन नि।

भोलि सिस्नुपानी जस्तै कुनै ‘लिसोपानी’ भन्ने संस्थाले नि तिहारमा हाँस्यव्यंग्य देउसीभैलो खेल्ने हो, राष्ट्रियसभा हलमा प्रमुख अतिथि बन्न आइदिनु पर्‍यो भनेर निम्ता गर्यो भने? प्रधानमन्त्री, मन्त्री, नेता, प्रहरी, सेना त सबै कलाकारको हो। एउटा सिस्नुपानीको चैं हो, अर्को लिसोपानीको चैं होइन भन्ने त हुन्न होला।

न्युयोर्कस्थित पोलिटिकल कमेडियन, लेखक र कलाकार जोन फुगेल्स्यांगको एउटा भनाइ यहाँ सम्झिन्छु, ‘जति नराम्रो समाचार आउँछन् बजारमा त्यति राम्रा कमेडी बन्छन् बजारमा।' सिस्नुपानीले नि बजारका नराम्रा समाचारलाई टिपेर आफूले दर्शकका ताली खाने र नेता, कर्मचारी, प्रहरीले दर्शकको गाली खाने कमेडी पस्किन्छन्। संसारभरका कमेडियनले गर्ने त्यही हो। 

सिस्नुपानीको देउसीजात्रा २४ घण्टा बित्न नपाउँदै इन्टरनेट र टीभीमा छ्यापछ्याप्ति हुन्छ। घरमै बसेर ककसलाई कस्तोकस्तो उछितो काढेछन्, आफ्नो छाला कति तरेछन् हेरे पुग्नेमा संविधान दिवस, प्रजातन्त्र दिवस, सेना दिवसजस्तो राष्ट्रिय महत्त्वको चाड बनाइन्छ। विशिष्ट व्यक्ति सिस्नुपानीको प्रहसनमा जानु राज्य स्रोत-साधनको दुरुपयोग पनि हो।

यसपालिको सिस्नुपानी देउसीभैलो प्रहसनबाट एउटा सामग्री कोट्याऊँ। नेपाली समाजका मान, सम्मान, प्रसंशा, ओहदा, पगरी, उपाधि, खातिरी, खादा, प्रमाण-प्रत्र, प्रशस्तीले थिचिनुसम्म थिचिएका जोडी ‘मह’का मदनकृष्ण श्रेष्ठले एउटा चर्चित गीतको लयमा प्यारोडी गाउँदै ‘… चुल्ठोमा समाई तीन फन्का घुमाई, भुइँमा ड्याम्म बजारी दिऊँ कि.…” भने। श्रेष्ठको कलाकारिता अलिक हिंसात्मकजस्तो लागे पनि दर्शक गलल हाँसे। राजनीतिज्ञका काम र व्यहोरा देखेर चरम आक्रोश र निराशाले छोपेका जनताले त्यो कलाकारितालाई सजिलै पारित गरेर हाँसो मनाए। नेताको मुखाकृति जुम गरेर क्यामराले देखायो। उनीहरू नि मुसुक्क मुस्कुराए। 

सिस्नुपानीसँग पनि केही जिज्ञासा छन्। हाम्रो समाजमा विसंगति कहाँकहाँ छन्? देउवा, प्रचण्ड, ओली र अन्य सानाठूला नेताको राजनीतिबाहेक अरु सबैथोक स्वच्छ सफा र हराभरा छ? बुद्धिजीवी र विश्वविद्यालयका प्राध्यापक आफ्नो दलको लोलीमा बोली मिलाउदै कालोलाई सेतो र सेतोलाई कालो भन्छन्। आफ्नो स्वत्व, विज्ञता र विवेकलाई दबाएर एउटा दलको नेताले उठ् भन्दा उठ्ने बस् भन्दा बस्ने गर्छन्। खोइ त्यता व्यंग्य? 

निष्पक्ष सूचना प्रेषणको काम गर्नुपर्ने पत्रकारहरु ‘काङ्ग्रेस पत्रकार’, ‘एमाले पत्रकार’, ‘माओवादी पत्रकार’ छन्। खोइ त्यतापट्टिको झटारो? जुनसुकै वस्तु र सेवाको क्षेत्रमा  विचौलियाको बिगबिगी भएका समाचार आउँछन्, खोइ तिनको खुइल्याइ? कलाकारहरु नै अनेक गुट र उपगुटका छन्, आ-आफूमा निषेध र खुट्टा तान्ने खेलाको जगजगी छ।  आफैंलाई व्यंग्य चाहिँ कहिले गर्ने?  राजनीति नसप्री अरु केही हुन्न भनेर तर्क गर्ने हो भने राजनीति नसप्रिउन्जेल सबैले गति छाडिरहने? राजनीतिमा लागेका बाहेकले चाहिँ मौका छोपिरहे हुन्छ? 

(क्यानाडा निवासी घिमिरे पत्रकार हुन्।)