विमानस्थल, सेनाको मुख्यालय र राष्ट्रपति भवन नियन्त्रणमा लिएको सुडानको अर्धसैनिक बलको दाबी

सुडानको अर्धसैनिक समूहले राष्ट्रपति भवन, सेनाको मुख्यालय र खार्तूम अन्तर्राष्ट्रिय विमानस्थल नियन्त्रणमा लिएको दाबी गरेको छ।

सुडानको अर्धसैनिक समूहले राष्ट्रपति भवन, सेनाको मुख्यालय र खार्तूम अन्तर्राष्ट्रिय विमानस्थल नियन्त्रणमा लिएको दाबी गरेको छ। सरकारी सेनासँगको भिडन्तपछि अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ)ले यी स्थान नियन्त्रणमा लिएको जनाएको हो। त्यस्तै, आएएसएफले उत्तरी शहर मरोबे र पश्चिमको एल-ओबेदामा रहेको विमानस्थल कब्जामा लिएको जनाइएको छ।

सरकारी सेनाले भने आरएसएफको दाबीलाई खण्डन गरेको छ। सेनाले वायु सेनाले आरएसएफविरुद्धको अभियानअन्तर्गत अर्धसैनिकका अखडामा आक्रमण गरिरहेको बताएको छ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा राजधानी खार्तूम माथिको आकाशमा सैन्य विमानहरू उडिरहेको देखिन्छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले इन्टरनेटमा पोस्ट गरिएका भिडियोको स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिएको जनाएको छ।

बीबीसीका अनुसार मानिसहरू भिडन्तबाट बच्ने कोशिश गरिरहेको छन्। सडक बन्द गरिएको छ। विद्यालय लकडाउनमा छन्। धेरै मानिसहरू घरभित्रै फसेका छन्। 

"गोली हानाहान जारी छ। मानिसहरू घरभित्रै फसेका छन्। त्यहाँ एकदमै डरत्रास छ," केन्यामा रहेकी आफ्नी बहिनीमार्फत अजोक मोनिबिओकले बीबीसीलाई बताइन्।

रोयटर्सका अनुसार खार्तूमका विभिन्न भागमा गोलीको आवाज सुनिएको छ। प्रत्यक्षदर्शीहरूले आसपासका शहरहरूमा गोलीबारी जारी रहेको बताएका छन्। रोयटर्सले आफ्ना संवाददातालाई उद्धृत गर्दै जनाएअनुसार राजधानीमा तोप र बख्तरबन्द गाडीहरू देखिएका छन्। सेना र आरएसएफ दुवैका मुख्यालयनजिकै भारी मात्रामा गोलीबारीको आवाज सुनिएको छ। 

चिकित्सकहरूका अनुसार आवासीय क्षेत्रमा समेत झडप भएको छ। केही सर्वसाधारण घाइते भएका छन्। सरकारी टेलिभिजनको मुख्यालयमा पनि आक्रमण भएको समाचारमा जनाइएको छ।

शक्तिशाली अरब राष्ट्रमध्ये एक इजिप्टले सुडानमा भइरहेको झडपप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। उसले सबै पक्षलाई संयमित हुन आह्वान गरेको सुडानको विदेश मन्त्रालयले जनाएको छ।

सुडानका लागि अमेरिकी राजदूत जोन गोडफ्रेले शीर्ष नेतृत्वलाई भिडन्त रोक्न आग्रह गरेका छन्। उनले प्रत्यक्ष युद्धका लागि तनाव बढ्नु 'अत्यन्त खतरनाक' हुने बताएका छन्। उनले आफू र दूतावासका कर्मचारी सुरक्षित ठाउँमा आश्रय लिइरहेको पनि उल्लेख गरेका छन्। त्यस्तै, रुसी दूतावासले पनि हिंसा बढेको भन्दै चिन्ता व्यक्त गरेको छ। उसले पनि युद्धविराम गर्न आग्रह गरेको छ।