सुडानमा सेना र अर्धसैनिक बलबीच भिडन्त, ५६ जना सर्वसाधारणको मृत्यु

अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)ले शनिबार राष्ट्रपतिको कार्यालय, विमानस्थल र अन्य महत्त्वपूर्ण संरचना कब्जा गरेपछि दोहोरो भिडन्त शुरू भएको हो। 

तस्वीर : एपी

अफ्रिकी मुलुक सुडानमा सेना र अर्धसैनिक बलबीच भएको भिडन्तमा कम्तीमा ५६ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा केही संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमका कार्यकर्ता रहेको बीबीसीले जनाएको छ। भिडन्तमा ६०० जना सर्वसाधारण घाइते छन्।

अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)ले राष्ट्रपतिको कार्यालय, विमानस्थल र अन्य महत्त्वपूर्ण संरचना कब्जा गरेपछि राजधानी खार्तुमका सडकमा विस्फोट र गोली प्रहारका आवाज सुनिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै द गार्डियनले जनाएको छ।

शनिबार सुडानी सेनाले ओमदरम्यान शहरस्थित आरएसएफको शिविरमा आक्रमण गरेपछि भिडन्त चर्किएको हो। सेनाले भने अर्धसैनिकका शिविरमा आक्रमण नगरेको दाबी गर्दै आएको छ।

भिडन्त आइतबार पनि जारी छ। गृहयुद्ध चलिरहेको सुडानमा स्थिति बिग्रिँदै गएको छ। भिडन्तपछि सबै अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएका छन् भने लडाइँ चर्किएको छ।

राजधानीसहित विभिन्न शहरमा विस्फोट, गोली हानाहान र आगलागीका घटना भइरहेको खबर बाहिरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। सन् २०२१ को ुकूु पछि सैन्य नेतृत्वले सुडानको सत्ता समालिरहेको थियो।

त्यसविरुद्ध शक्तिशाली अर्धसैनिक बलको विरोध र निरन्तरको सत्ता संघर्षले स्थिति हिंसात्मक बनिरहेको छ।