एसीसी प्रिमियर कप : रोहितको कप्तानीमा नेपालको टोली घोषणा

एसीसी प्रिमियर कपका लागि क्यानले आइतबार रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ।

काठमाडौँ– एसीसी प्रिमियर कपका लागि नेपालले टोलीको घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो।

क्यानले अघिल्लो महिना घरेलु मैदानमा सम्पन्न विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेलेका खेलाडीहरूलाई नै निरन्तरता दिएको छ।
टोलीमा रोहितसँगै ओपनर कुशल मल्ल, आशिफ शेख रहेका छन्। यस्तै, आउट अफ फर्ममा रहेका ज्ञानेन्द्र मल्ल पनि टोलीमा परेका छन्।

उनीहरूबाहेक कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतीश जिसी र ललित राजवंशी टोलीमा छन्।

अर्जुन साउद, सन्दीप जोरा, सूर्य तामाङ र किशोर महतो भने वैकल्पिकमा परेका छन्। प्रारम्भिक टोलीमा रहेका श्याम ढकाल, कमलसिंह ऐरी र देव खनाल टोलीमा परेनन्।

एशियन क्रिकेट काउन्सिल (एसीसी)ले घोषणा गरेको खेल तालिकाअनुसार नेपालले उद्घाटन खेलमा मलेसियासँग खेल्ने छ। खेल वैशाख ५ गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने छ। वैशाख ५ गतेबाट १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक नेपालसहित १० राष्ट्रको सहभागिता रहने छ। 

सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल समूह 'ए' मा रहेको छ। नेपाल रहेको समूहमा मलेसिया, साउदी अरब, कतार र ओमान रहेका छन्। समूह 'बी' मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र यूएई रहेका छन्। खेलहरू त्रिवि र मूलपानीमा क्रिकेट मैदानमा हुनेछ। 

नेपालले दोस्रो खेल वैशाख ८ गते ओमानसँग कीर्तिपुरमै खेल्ने छ। ११ गते साउदीसँग नेपालले तेस्रो खेल खेल्ने छ। उक्त खेल मूलपानीमा हुने छ। नेपालले समूह चरणको अन्तिम खेल कतारसँग खेल्ने छ। उक्त खेल १४ गते कीर्तिपुरमा हुने छ।

कूल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते कीर्तिपुरमा हुनेछ। हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल खेल्ने छन्। सेमिफाइनलका विजेताले फाइनल खेल्ने छ।

फाइनलको विजेता टोली एशिया कपमा छनोट हुनेछ। एशिया कप आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुनेछ। यस्तै, शीर्ष तीनमा रहने टोली एशिया इमर्जिङ कपका लागि छनोट हुनेछ। उक्त प्रतियोगिता जुलाईमा हुने छ।