विज्ञको सुझाव: वायु प्रदूषणबाट बच्न मास्कको प्रयोग गरौँ, धुवाँ निकाल्ने सवारी नचलौँ

काठमाडौँ विश्वकै बढी प्रदूषित हुने शहरमा परेपछि विज्ञहरूले आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।

काठमाडौँ– काठमाडौँ विश्वकै बढी प्रदूषण हुने शहरमा पहिलो नम्बरमा पुगेपछि विज्ञहरूले आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।

हावाको प्रदूषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यू एयरले काठमाडौँलाई संसारकै प्रदूषित शहरको सूचीको पहिलो स्थानमा राखेको हो। शनिबार साँझबाट काठमाडौँ संसारमा नै बढी प्रदूषण भएको शहरमा पहिलो, दोस्रो र तेस्रो स्थानमा घटबढ भइरहेको छ।

पछिल्लो समय वनमा लागेको डढेलो, भारतको उत्तर प्रदेशमा बालिएको गहुँको भुसको धुवाँको असर काठमाडौँसहित देशका विभिन्न शहरहरूमा परेको विज्ञहरूले बताएका छन्। वायु प्रदूषण बढिरहेकाले घरबाहिर सकेसम्म ननिस्किन र निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्न विज्ञहरूको सुझाव छ।

जलवायु तथा विपद् विज्ञ डा. धर्म उप्रेतीले बागमती प्रदेश र वरपरको वनको आगलागीका कारण काठमाडौँ प्रदूषित शहरमा पहिलो नम्बरमा परेको बताउँछन्। प्रदूषण बढ्नुमा आगलागी र सडकको धुवाँ धुलो प्रमुख कारण रहेको उनको भनाइ छ।

डा. उप्रेतीले नेपालमा अहिले पश्चिमी वायुको प्रभाव कम रहेकाले पनि हावा वहन नपाएको र हावा नबहँदा उपत्यकामा प्रदूषण बढेको बताए। 

“नेपालमा अहिले पश्चिमी वायुको प्रभाव कम छ। वायु चलेन भने काठमाडौँमा प्रदूषण रहिरहन्छ। त्यसको असर अहिले काठमाडौँमा छ। आजैबाट पश्चिमी वायु नेपाल प्रवेश गर्दै छ र पनि अझै दुई दिनसम्म यस्तो अवस्था भई नै रहन्छ,” उनले भने, “पश्चिमी वायुको असर देखिएपछि केही राहत मिल्छ।”

जलवायु तथा विपद् विज्ञ उप्रेतीले अहिले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले तोकेको भन्दा २२ गुणा बढी प्रदूषण काठमाडौँमा रहेको उल्लेख गरे। उनले वायु प्रदूषणका कारण ब्लड प्रेसर बढ्ने, मुटुको समस्या, क्यान्सर लगायतका समस्याहरू बढ्ने बताए। प्रदूषणबाट बच्नका लागि सरकारले आम नागरिकलाई मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गर्नुपर्ने उनको सुझाव छ।

“केही दिनका लागि धुवाँ निकाल्ने सवारीसाधन र मापदण्ड बाहिरका सवारीसाधन सबैलाई केही दिन कम गर्नुपर्छ र वा बन्द नै गर्नुपर्छ,” उनले भने।