आठौँ पटक मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा एनपी साउदले लिए शपथ

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आठौँ पटक मन्त्रिपरिषद् विस्तार गर्दै एनपी साउदलाई परराष्ट्रमन्त्री नियुक्त गरेका छन्।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' आठौँ पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। आइतबार आठौँ पटक मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री दाहालले परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता एनपी साउदलाई नियुक्त गरेका हुन्।

नवनियुक्त मन्त्री साउदले आइतबार अपराह्न राष्ट्रपतिको सरकारी निवास शीतल निवासमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका थिए। 

उक्त समारोहमा राष्ट्रपति पौडेलसहित, प्रधानमन्त्री दाहाल, सभामुख देवराज घिमिरे, उपराष्ट्रपति रामसहायप्रसाद यादव, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनालगायतका विशिष्ट अतिथिहरूको उपस्थित रहेको थियो।

सत्तागठबन्धनमा भएको भागबन्डा अनुसार कांग्रेसले आठ मन्त्रालय पाउने भएको छ। जसअनुसार यसअघि कांग्रेसबाट उपप्रधानमन्त्री तथा रक्षामन्त्रीमा पूर्णबहादुर खड्का, अर्थमन्त्रीमा प्रकाशशरण महत, उद्योगमन्त्रीमा रमेश रिजाल र शहरी विकासमन्त्रीमा सीता गुरुङ नियुक्त गरेका थिए।  

प्रधानमन्त्री दाहालले गत चैत ७ गते नेपाली कांग्रेस, जसपा, एकीकृत समाजवादीलगायत दललाई समेटेर सातौँ पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए। आइतबार आठौँ पटक विस्तार हुँदा पनि मन्त्रिपरिषद् अझै अपुरो छ। अझै चार वटा मन्त्रालय मन्त्रीविहीन रहेका छन्।