मिटरव्याज पीडितलाई बाहिर निस्कन नदिन शान्तिवाटिकामा प्रहरीको घेराबन्दी

मिटरव्याज पीडितहरूले धर्ना दिइरहेको शान्तिवाटिकालाई सोमबार १० बजेदेखि प्रहरीले घेराबन्दी गरेर गेटबाट बाहिर निस्कन दिएको छैन। पीडितहरूले प्रदर्शनको तयारी गरेपछि प्रहरीले घेराबन्दी गरेको हो।

काठमाडौँ– मिटरव्याज तथा ठगीविरुद्ध शान्तिवाटिकामा धर्ना बसेका पीडितलाई बाहिर निस्कन नदिन प्रहरीले गेट बन्द गरिदिएको छ। पीडितलाई प्रदर्शन गर्न नदिन प्रहरीले वाटिकालाई घेरा हालेको हो।

किसान मजदुर संघर्ष समितिको आह्वानमा काठमाडौँ आएका पीडितहरू गत १९ चैतदेखि शान्तिवाटिकामा धर्ना बसिरहेका छन्। पीडितहरूको धर्नास्थललाई सोमबार १० बजेतिर प्रहरीले घेराबन्दी गरेको संघर्ष समिति संयोजक अवधेश कुशवाहाले जानकारी दिए।

“हामी शान्तिपूर्ण जुलुस गर्ने तयारीमा गरेका थियौँ, तर प्रहरी आएर घेराबन्दी गरेका छन्। दमकल ल्याएर यहाँ राखिएको छ। धर्नामा सहभागीहरूको झोला खानतलासी गरिएको छ। हामीलाई त्रसित बनाउन खोजिएको छ,” कुशवाहाले भने।

यसअघि, गत चैत ३० गते गृह मन्त्रालयमा भएको वार्तापछि सरकारले आफ्ना मागहरू सम्बोधन गर्न नचाहेको आरोप लगाउँदै समितिले सरकारी वार्ता टोलीसँगको वार्ता भंग गरेको थियो। सहमति नजुटेपछि मिटरव्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको थियो। 

वार्ता भंग हुनुअघि सरकारी टोली र समितिका प्रतिनिधिबीच पाँच दिनसम्म विभिन्न चरणमा छलफल भएको थियो। सरकारी वार्ता टोलीले पुरानै कुराहरू दोहोर्याएकाले त्यसलाई स्वीकार गर्न नसकेर वार्ता भंग गर्नुपरेको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले जनाएको थियो।