सरकारले राष्ट्रियसभालाई संघीय संसद्का रूपमा स्विकार्न सकेन : जितेन्द्र देव

सांसद जितेन्द्रनारायण देवले प्रतिनिधिसभा र राष्ट्रियसभाको महत्त्व बराबर भए पनि सरकारले त्यसलाई स्विकार्न नसकेको बताएका छन्।

काठमाडौँ– राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवले राष्ट्रियसभालाई सरकारले संघीय संसद्को रूपमा स्विकार्न नसकेको आरोप लगाएका छन्।

सोमबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले प्रतिनिधिसभा र राष्ट्रियसभाको महत्त्व बराबर भए पनि सरकारले त्यसलाई स्विकार्न नसकेको बताएका हुन्।

“संघीय संसद् भनेको राष्ट्रियसभा हुँदो रहेछ, राष्ट्रियसभा पनि संघीय संसद्को एउटा पार्ट हो, राष्ट्रियसभाबिना संघीय संसद् होइन, भन्ने कुरा अहिलेसम्म सरकार मात्रै होइन, सरकारहरूले त्यो कुरालाई बुझ्नै खोजिरहेका छैनन्,” उनले भने।

उनले प्रतिनिधिसभाभन्दा कुनै पनि हिसाबले राष्ट्रियसभाको अधिकार, गरिमा, संविधानले दिएको मान्यता कमजोर नरहेको जिकिर गरे। उनले सरकारले राष्ट्रियसभाका चार वटा समितिहरूले दिने निर्देशन र सुझाव सरकारले गम्भीरताका साथ नलिएको पनि बताए।

राष्ट्रियसभा सदस्य देवले आगामी दिनमा सरकारले संसदीय समितिहरूले दिने निर्देशन र सुझावलाई गम्भीरताका साथ लिनुपर्नेमा जोड दिए।