‘तरलता सुधार कागजमा सीमित हुँदा व्यवसायीले कर्जा पाउन सकेनन्’

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले वर्तमान आर्थिक समस्याको समाधान गरी सरकारले सकारात्मक सन्देश दिन सक्नुपर्ने बताएका छन्।

काठमाडौँ– नेपाल उद्योग परिसंघले बजारमा माग संकुचन उच्च रहेको जनाएको छ। परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले आफ्नो संस्थाले गरेको विभिन्न अध्ययन प्रतिवेदनअनुसार मुलुकभर उत्पादन वस्तुको मागमा ४० देखि ८० प्रतिशत संकुचन आएको देखाएको बताएका हुन्।

सोमबार काठमाडौँमा सातौँ चितवन अन्तर्राष्ट्रिय प्रदर्शनीबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा उनले पछिल्लो समय उद्योगी व्यवसायी कठिन अवस्थामा गुज्रिएको बताए।

“व्यवसायीहरूले बैंकको उच्च ब्याजदरको सामना गर्नु परेको छ। बैंकहरूमा तरलताको अवस्था सुधार भए पनि कागजमा सीमित हुँदा उद्योगी व्यवसायीहरूले अझै ऋण पाउन समस्या छ। व्यवसायीहरूले बजारबाट उधारो उठाउन नसक्ने कमजोर अवस्था देखा परेको छ,” उनले भने, “व्यवसायीले बैंकको किस्ता तिर्न सकिरहेका छैनन्।”

अध्यक्ष अग्रवालले वर्तमान आर्थिक समस्याको समाधान गरी सरकारले सकारात्मक सन्देश दिन सक्नुपर्ने बताए। सरकारले उद्योगी–व्यवसायीको मनोबल उच्च बनाउन केही कदमहरू चाल्न आवश्यक रहेको उनको भनाइ छ। “सरकारले समयमा नै पुँजीगत खर्च गर्नुपर्छ। यतिबेला सरकारले उद्योगी व्यवसायीको मनोबल उच्च बनाउने काम गर्न खाँचो छ,” उनले भने।