रारा म्याराथनले स्थानीय खेलाडी उत्पादनमा पनि विशेष जोड दिनेछ। यस वर्ष मुगुका खेलाडीहरूलाई म्याराथनमा भाग लिँदा शुल्क नलाग्ने व्यवस्था गरिएको छ।
काठमाडौँ– रारा म्याराथन वैशाख २२ गते हुने भएको छ। अन्तरालको आयोजना तथा व्यवस्थापन, मुगुका सबै स्थानीय तहहरू र विभिन्न संघसंस्थाले सहकार्यमा हुन लागेको म्याराथन रारा तालबाट शुरू भएर रारा ताल किनारमै पुगेर समापन हुनेछ।
म्याराथनको रुट रारा ताल किनारबाट शुरू भई मुर्मा टप, मुर्मा गाउँ हुँदै चुचेमारा हिमालको ४ हजार १ सय मिटरको उचाइमा पुगेर सल्लेरीतर्फ लाग्नुपर्ने कायम गरिएको छ। त्यस्तै, त्यहाँबाट मुगुको एक मात्र विमानस्थल ताल्चा भएर सदरमुकाम गमगढी पुगेपछि पुनः रारा तालकै किनारमा पुगेर समापन हुनेछ।
म्याराथनका अध्यक्ष, अन्तरालका टिम लिडर जयनारायण शाहका अनुसार म्याराथनको महत्त्वपूर्ण आकर्षणका रूपमा रारा ताल वरिपरि १ फन्को लगाउने १५ किलोमिटर दौड हुनेछ। फुल म्याराथनसँगै शुरू भएर धावकहरू ताल वरिपरि घुमेर पुनः स्टार्टिङ प्वाइन्टमै पुगेर यो दौड समापन हुनेछ।
यस दौडमा आन्तरिक पर्यटक र सर्वसाधारणको व्यापक सहभागिता हुने अपेक्षा लिएको उनले बताए। “रारा म्याराथनले पश्चिम नेपालमा खेलकुदको सम्भावनालाई त उजागर गर्ने नै छ,” शाहले भने, “बुद्ध पूर्णिमाको दिन सुन्दर रारा तालबाट भाइचारा र विश्वशान्तिको सन्देश पनि दिनेछ।”
म्याराथनका संरक्षक तथा मुगुबाट प्रतिनिधिसभा सदस्य ऐनबहादुर शाहीले रारा म्याराथनले खेलकुदसँगै मुगु र कर्णालीको समग्र विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरे। “रारा म्याराथनले विश्व समुदायलाई मुगुमा आकर्षित गर्नेछ,” सांसद शाहीले भने, “यो म्याराथन सफल पार्न सिंगो मुगु जिल्ला एकजुट भएर लागेको छ।”
रारा म्याराथनले स्थानीय खेलाडी उत्पादनमा पनि विशेष जोड दिनेछ। यस वर्ष मुगुका खेलाडीहरूलाई म्याराथनमा भाग लिँदा शुल्क नलाग्ने व्यवस्था गरिएको छ। युवा खेलाडीहरूलाई १ हप्ताको विशेष ओरियन्टेसनमा सहभागी गराएर दौडका लागि प्रोत्साहित गर्ने आयोजकको तयारी छ। यसका लागि रारा म्याराथनकी सद्भावना दूत विश्व कीर्तिमानी अल्ट्रा म्याराथन धाविका मीरा राईसहितको टिम १ साताअघि नै मुगु पुग्ने छ।
रारा म्याराथनमा धाविका राईको अगुवाइमा सञ्चालित 'मीरा राई इनिसियटिभ'ले पनि सहकार्य गरेको छ। इनिसियटिभले स्तुपा टु स्तुपा र भोजपुर ट्रेल रेसको आयोजना गर्दै आएको छ भने देशैभरबाट किशोरीहरूलाई काठमाडौँमा लगेर दौड, क्षमता अभिवृद्धि, अंग्रेजी लगायतका भाषा तालिम आवासीय रूपमा सञ्चालन गर्दै आएको छ।
“आगामी वर्षदेखि धाविका मीरा राई हरेक वर्ष कम्तिमा डेढ महिना मुगुमा भेटिनेछन्” शाहले भने, “निकट भविष्यमा मुगुका किशोरीहरूबाट अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने हाम्रो लक्ष्य छ।”
सुन्दर ताल राराको नाममा तयारी शुरू गरिएको म्याराथनको सद्भावना दूत भएर काम गरिरहँदा आफूले गौरवबोध भएको बताउँदै राई भनिन्, “म रारामा नेपाली मात्र होइन विश्वकै खेलाडीहरूलाई निमन्त्रणा गर्दछु।”
विकट कर्णालीका किशोरीहरूसँग काम गर्न पाउँदा आफू निकै उत्साहित भएको बताउँदै राईले भनिन्, ‘म मुगुका किशोरीहरूमा थुप्रै मीरा खोज्नेछु।’
कर्णाली खेलकुद परिषद्का सदस्य सचिव विश्वमित्र सञ्ज्यालले रारा म्याराथन कर्णालीको खेलकुद विकासमा एउटा कोशेढुंगा साबित हुने विश्वास व्यक्त गरे।
“हामी दशौँ राष्ट्रिय खेलकुदको तयारीमा जुटिरहेका बेला हुन लागेको रारा म्याराथनलाई परिषद्ले पूर्ण रूपमा सघाउनेछ,” सदस्य सचिव सञ्ज्यालले भने, “रारामा राष्ट्रिय, अन्तर्राष्ट्रिय धावक र पाहुनाहरूलाई स्वागत गर्न कर्णाली खेलकुद परिषद् आतुर छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
